दाहाल र राकेशलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले होमनाथ दाहाल र डा. रामदयाल राकेशलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गर्ने भएको छ । प्रतिष्ठानले ०७६ को पुरस्कारबाट लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा विगत ६ दशकदेखि निरन्तर सक्रिय होमनाथ दाहाललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

यस्तै, ०७७ को पुरस्कारबाट पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा. रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक पुरुषोत्तम दाहालले जानकारी दिए । 

यस्तै, प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार ज्ञानु प्रसाईं र काशीदेवी झालाई प्रदान गरिने भएको छ । 

०७६ सालको पुरस्कारबाट प्रसाईं र ०७७ को पुरस्कारबाट झालाई पुरस्कृत गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालले बताए । दुवै पुरस्कारको राशि एक–एक लाख रुपैयाँ रहेको छ । प्रतिष्ठानले पुरस्कार चयनका लागि  डा. विमल कोइरालाको संयोजकत्वमा डा. दिनेश भट्टराई, डा. कुमार कोइराला, श्री दुर्गा घिमिरे र प्रा. नवेन्द्र निधि रहेको समिति गठन गरेको थियो । 

समितिको २४ माघमा बसेको बैठकले पुरस्कार सिफारिस गरेको थियो । त्यही सिफारिसको आधारमा प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ती पुरस्कार आगामी फागुन १४ गते निधिको १००औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले १२ फागुनमा विचार गोष्ठी, १३ फागुनमा निधिको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन र स्मारकको अनावरण गर्ने कार्यक्रम रहेको छ । 

०६८ सालदेखि सञ्चालित अस्पतालको सय बेड क्षमताको आफ्नै नवनिर्मित भवन बसुन्धारामा रहेको छ । वि.सं. १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मिएका निधिको ०५६ सालमा निधन भएको थियो । ०५८ सालमा श्री भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले चेतनामूलक, सेवामूलक र विकासमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि प्रतिष्ठानको संरक्षक छन् । 

सुझावित समाचार