विकसित नेपालको सपना

विकासका विचारधाराहरूलाई बिर्सेर राजनीतिक स्वार्थले मात्र ठाउँ पाइरहने हो भने राजनीतिक परिवर्तनहरू विकासका लागि सहायक हुँदैनन्

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

नेपाललाई एउटा विकसित राष्ट्रको रूपमा हेर्ने सपना हरेक नेपालीमा जीवित नै छ । तर, के हामी सबै तीन करोड नेपालीले देख्ने ‘विकसित नेपालको सपना’ एउटै छ ? बिहानीको घामको झुल्कोसँगै साँझसम्म खेतबारीमा अथक नंग्रा खियाउने किसान र बजारको भीडमा चिल्ला गाडी कुदाइरहेकाहरूले देख्ने ‘विकसित नेपाल’को सपनामा कति भिन्नता होला ? परिवार पाल्न बाध्यतावश वैदेशिक रोजगारमा होमिएर काठको बाकसमा फर्किएकाहरूले विकासको कस्तो सपना देखेका थिए होलान् ?

वैदेशिक रोजगारमा जानेहरूको अनुमतिपत्र जाँच्ने मन्त्रालयका अधिकारीहरूको विकासको सपना के होला ? अहिले ६ वर्षको कलिलो उमेरमा मोबाइल खेलाइरहेका हात र मस्तिष्कहरूले अब देख्ने सपना र बेरोजगारीका गाथा बुनेर हातमा राहदानी बोकेर बिदेसिँदै गरेकाहरूको विकसित नेपालको सपनामा कत्तिको समानता आउला ? महाकवि देवकोटाले भन्ने गर्थे– ‘नेपाल सानो छ, तर आँखाको नानी छ, यसमा संसार लुकेको छ ।’ साँच्चै नै यहाँ विकसित नेपालको सपनाको आकार विराट र विविधतापूर्ण छ । अब यी थरीथरीका सपनाको भीडमा साझा सपना निर्माण आफैँमा चुनौतीपूर्ण हुन आउँछ । तसर्थ, विकसित नेपालको सपनाको विविधता केलाउनु हरेक नीति निर्माणकर्ताको दायित्व हुन आउँछ ।

किनकि, विकासले सबै नेपालीको सपनाहरूको सम्बोधन गरेको हुनुपर्छ । त्यो मात्रै सही मानेमा विकास हुनेछ । 
सपनामा विविधता हुनु नौलो होइन । हरेक देशमा नागरिकका सपनाहरूको मिलन र द्वन्द्व दुवै हुने गर्छ । छिमेकी मुलुक चीनले आर्थिक विकासको गतिले दुनियाँलाई चकित गर्दैगर्दा चिनियाँ नागरिकले स्वतन्त्र भएर निर्बाध बोल्न पाउने सपना साँचिरहेका छन् ।

प्रविधिको विकासले धेरै माथि उकासे पनि भारतमा आज पनि रेलको पटरीमा जीवन बिताउनेको संख्यामा उल्लेख्य कमी छैन । अझै पनि भारतका गाउँहरूले घरमा एउटा राम्रो चर्पी र नजिकै विद्यालय होस् भन्ने सपना देखिरहेका छन् । अमेरिकी सहरमा जाडोमा कठ्यांग्रिएर बाटोमा सुतिरहेकाले घर र सुपथ मूल्यमा स्वास्थ्य उपचारको सपना बुनिरहँदा वालस्ट्रिटमा रातारात अर्बपति हुनेहरूको आफ्नै संसार छ । आखिर विकासको गतिले नागरिकका यी सपनाका विविधतालाई कसरी हेर्छ त ? विकासको सीमा के हो ? विकासले कसको र कस्तो सपना समेट्नुपर्छ ? के यस्ता विविध सपनाको मिलन जरुरी हुन्छ ?

देश आर्थिक विकासको तृष्णाले छटपटिरहँदा अनेक प्रश्नहरू उठ्नु पनि नौलो होइन । यसैले हरेक राष्ट्रमा नीति निर्माणका वेला वैचारिक डिस्कोर्स भएको पाइन्छ । विश्वको अर्थ–इतिहासलाई नियाल्दा नागरिकका विविध सपनाको उचित व्यवस्थापन गर्न थरीथरीका आर्थिक नीतिका डिस्कोर्स भएको पाइन्छ । समाजवादको धार भएर पुँजीवादको बाटोमा हिँडिरहेको विश्व अर्थतन्त्रले मानिसका यी विविध सपनालाई कत्तिको न्याय ग¥यो, गर्दै छ र गर्नेछ भन्नेमा पनि मतभिन्नता छ ।

नेपालमा एकातिर बजार अझै खुकुलो भएन भन्नेहरूको भीड छ, अर्कातिर समाजवादको सपना बाँड्ने काम पनि भइरहेको छ । यी दुइटा दृष्टिकोणमा नेपाली समाजले स्पष्ट धारणा निर्माण गर्न नसक्दा नेपाली अर्थतन्त्र अल्मलिन पुगेको छ ।

आजभन्दा करिब ८० वर्ष पहिलेका दुई अर्थशास्त्रीहरूको विवादले विश्व अर्थनीतिमा निकै ठूलो हलचल ल्याएकोे थियो । दोस्रो विश्वयुद्धले सिर्जना गरेको बेरोजगारीलाई हटाई देशलाई समृद्धिको बाटोमा लैजाने सन्दर्भमा अर्थशास्त्री किन्स र एफए हायकको फरक–फरक दृष्टिकोण आए । सरकारले सार्वजनिक खर्च बढाएर मात्रै तत्कालीन परिस्थितिको समस्या हल हुने किन्सको अवधारण थियो भने हायकले त्यसलाई दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिएका थिए ।

सरकारले सार्वजनिक खर्च बढाउँदा त्यसले निजी लगानीमा कमी आई देश झन् जटिल आर्थिक संकटमा फस्ने आकलन हायकको थियो । अमेरिकामा फ्र्यांकलिन रुजवेल्टदेखि जिमी कार्टरसम्मको आर्थिक नीतिमा किन्सको प्रभाव पाइन्छ । त्यसलगत्तै हायकका विद्यार्थी मिल्टन फ्रिडम्यान अमेरिकी अर्थव्यवस्थामा किन्सको प्रभावलाई कम गर्न सफल देखिन्छन् । पछिल्लो समयमा बाराक ओबामा हुँदै नवनिर्वाचित राष्ट्रपति बाइडेनले शिक्षा र स्वास्थ्यमा आममानिसको पहुँच सुनिश्चित गर्न सार्वजनिक लगानी बढाउने नीति लिएसँगै किन्सको धारणा पुनस्र्थापित हुँदै गएको छ ।

अमेरिकी समाजमा विद्यमान रंगविभेदलगायतका समस्याले अमेरिकी जनमानसमा असन्तुष्टि बढ्दो रूपले पैदा भएको देख्न सकिन्छ । स्वास्थ्य बिमा नहुने हो भने यहाँको स्वास्थ्य सुविधा आमअमेरिकी नागरिकका लागि निकै महँगो छ । अमेरिकी अर्थतन्त्रमा पनि सपनाहरूमा दूरी बढ्दो छ । अमेरिकामा विकासको लहर आएको धेरै वर्ष भए पनि यहाँ विकासका सपनाको दूरीमा भने खासै कमी नआएकाले जोसेफ स्टिग्लिज विकासको मापनमा कुल गार्हस्थ्य उत्पादन अपर्याप्त सूचक भएको गुनासो गर्ने गर्छन् ।

सन् २००८ को स्टिग्लिज–सेन–फितुसी कमिसनको रिपोर्ट (युरो कमिसन रिपोर्ट)ले पनि विकासको मूल सिद्धान्तमा कुल गार्हस्थ्य उत्पादनभन्दा समग्र मानसिक खुसी र सन्तुष्टिको कुरालाई जोड दिएको छ । कुल गार्हस्थ्य उत्पादनको सिद्धान्तले सबै नागरिकको विकासको सपनालाई नसमेट्ने रहेछ भन्दै ग्रस ह्याप्पिनेसलाई सूचक बनाउनुपर्ने अवधारणा अघि आएको छ । भुटानको ग्रस नेसनल ह्याप्पिनेस सूचकले स्टिग्लिजको बहसलाई यथार्थ स्वरूप दिन खोजेको देखिन्छ ।


१९९० मा छिमेकी मुलुक भारतले आफूलाई खुला अर्थतन्त्रको व्यवस्थामा लगेर त्यहाँका जनतामा नयाँ सपना र आशा जगाएको थियो । त्यसपछि भारतले कुल गार्हस्थ्य उत्पादनमा निकै सुधार गरेको पनि छ । तर, बढ्दो आर्थिक असमानताले गर्दा खुला अर्थतन्त्रको दुई दशकपछि पनि विकासको सपना देख्नेहरूको दूरी बढ्दै गएको छ । यस सवालमा दुई विख्यात अर्थशास्त्री अमत्र्य सेन र जगदीश भगवतीको विवाद बुझ्न लायकको छ ।

सेनका विचारमा भारतको विकासका लागि सरकारी क्षेत्रबाट शिक्षा, स्वास्थ्य र पोषणमा प्रशस्त खर्च गर्नुपर्नेछ । तर, भगवती सरकारको खर्चले निजी लगानी कम हुन गई देशको आर्थिक वृद्धिदरमा असर पर्ने विचार व्यक्त गर्छिन् । अमत्र्य सेन ‘ट्रिकल डाउन इफेक्ट’ले आममानिसको जीवनस्तर स्वतः उकासिने कुरामा विश्वस्त देखिन्छन् । अमेरिका, भारत मात्र नभई युरोपियन र इस्ट एसिएन टाइगर नेसन्सहरूले पनि विकासवादका आफ्ना मौलिक सिद्धान्त अघि सारेका छन् । 

नेपालको सन्दर्भमा विकासका सपना पूरा गर्नमा विभिन्न आर्थिक अवधारणाहरूले ठाउँ पाए तापनि कुनै पनि विचारधाराले अर्थतन्त्रलाई डोर्याउन सकेको छैन । राणाशासनकालमा विकासको अवधारणामा आममानिसको सपनाले कुनै ठाउँ नै पाएन । प्रजातन्त्रपश्चात् बिस्तारै आममानिसको विकासका सपनाले मौलाउने अवसर पाए । बिस्तारै राज्यको विकास नीतिमा ती सपनाहरू आंशिक रूपमा समेटिन पनि थाले । हर्क गुरुङले क्षेत्रीय विकासको अवधारणालाई अघि सार्दै नेपाली इच्छा र भावनाहरू स्थानीय तहबाट बुझ्ने प्रयासको थालनी भएको मान्न सकिन्छ ।

बहुदलीय प्रजातन्त्रमा आउँदा बिपीको समाजवादको कल्पनामा देशले रमाउन पाए पनि धेरै सपना पूरा हुन सकेनन् । मनमोहन अधिकारीको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराले चर्चा त कमायो, तर यसको कार्यान्वयनमा शून्य हात लाग्दा देशको आर्थिक उन्नति भएन । देश विकासका लागि चाहिने स्रोत साधनमा बाह्य सहयोगमा निर्भर भइरहँदा आफ्नो माटोसुहाउँदो विकासका विचारहरू फस्टाउन पाएनन् । शिक्षा क्षेत्रमा आममानिसको पहुँच बिस्तारै बढ्दै गर्दा नेपाली जनताले बल्ल आफ्नो समाज र पहिचानलाई बुझ्न पाएका छन् । हरेक चियापसलमा मानिसहरूले विकासका आफ्ना धारणा र सपनाहरू अभिव्यक्त गरिरहँदा विकासको डिस्कोर्स सुरु हुन थालेको आभास गर्न सकिन्छ । 

विडम्बना के छ भने विकासको सपनाको निहुँमा देशमा थुप्रै उल्लेखनीय राजनीतिक परिवर्तनहरू भए । छोटो अवधिमा धेरै शासन प्रणाली देख्नेमा सायद नेपाल अगाडि आउँछ । दशवर्षे जनयुद्धसँगै देशमा सपनाका विविधता र संख्या दुवै थपिँदै गए । यहाँ सपना देख्नेहरू र ती सपना देखाउनेहरूका कति सपना साकार भए भन्ने ठूलो प्रश्न खडा छ । यस्तो लाग्छ, हामीले छिटो परिवर्तन खोज्दा धेरै गुमाएका पो छाैँ कि ! भनिन्छ नि हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ । हामीले कछुवा र खरायोको दन्त्यकथा अवश्य सुनेका छौँ ।

उक्त कथामा पहिलो दौडमा कछुवाले जित्छ । दोस्रो दौडमा खरायोले बाजी मार्छ । र, अन्तिम दौडमा बाटोमा पोखरी पर्ने हुँदा कछुवामाथि खरायो बसेर दुवैले दौडको सुखद अन्त्य गर्छन् । हाम्रा लागि राजनीतिका परिवर्तनहरू खरायो साबित हुँदै गएका छन् र विकास भने कछुवा साबित भएको छ । दुर्भाग्य ! यहाँ कछुवाले जितको स्वाद चाख्न पाएकै छैन । यसरी विकासको विचारधाराहरूलाई बिर्सेर राजनीतिक स्वार्थले मात्र ठाउँ पाइरहने हो भने राजनीतिक परिवर्तनहरू विकासका लागि सहायक हुँदैनन् । तसर्थ, अब विकासको धरातलमा टेकेर राजनीतिक परिवर्तन अघि बढ्नुपर्छ । 

हामीले हाम्रो समाजलाई चाहिने विकासको भाष्य आफैँले बनाउन जरुरी छ । विकासको मौलिक भाष्यले सबै नागरिकको अपेक्षा र सपनाको विविधतालाई बुझेर ती सपनाहरूबीचको दूरी कम गराउन जोड दिनुपर्छ ।

अहिले पनि नेपालमा एकातिर बजार अझै खुकुलो भएन भन्नेहरूको भीड छ, अर्कातिर समाजवादको सपना बाँड्ने काम पनि भइरहेको छ । यी दुइटा दृष्टिकोणमा नेपाली समाजले स्पष्ट धारणा निर्माण गर्न नसक्दा नेपाली अर्थतन्त्र अल्मलिन पुगेको छ । खुला अर्थतन्त्रको कुरा गरिरहँदा हामीले कुन क्षेत्रलाई खुला छाड्ने, कतिको खुकुलो बनाउने र कहाँ विदेशी लगानी बढाउने कुरामा आफ्नो परिवेशअनुसारले सोच्नुपर्ने हुन्छ ।

अर्थतन्त्रलाई खुकुलो बनाउँदै गर्दा हामीले ‘सामाजिक सुरक्षालाई स्थापित गरिसकेका छौँ कि छैनौँ भन्ने कुरालाई पनि गम्भीर हिसाबले सोच्नुपर्ने हुन्छ । जस्तो कि न्यूनतम ज्याला, काम गर्ने उचित वातावरण, खाद्यसुरक्षा, पोषणजस्ता कुरा प्रत्याभूत गराउन आवश्यक हुन्छ । विकासका लागि चाहिने न्यूनतम पूर्वाधार पूर्ण रूपमा विकसित नभएकाले खुला बजारतन्त्रलाई चलायमान गराउन पनि कहीँ कतै सरकारी नियन्त्रण हुन जरुरी देखिन्छ । तब मात्र तल्लो वर्गको सपना र उपल्लो वर्गको सपनालाई सँगसँगै लान सकिन्छ ।

काठमाडौं, पोखराजस्ता ठूला सहरमा बढ्दो महलको संख्याले हाम्रो विकासलाई प्रतिबिम्बित गर्दैन । आजका युवाले खाजामा कोदो र मकैको सट्टा बर्गर र पिज्जा रोज्नुलाई विकास मान्न सकिँदैन । विद्युत्को आपूर्तिका लागि घरमा जेनेरेटर राख्ने क्षमतालाई कुन विकासको संज्ञा दिने ? प्रविधिले विकासको बाटोलाई निकै फराकिलो बनाएको छ । हामीले थुप्रै प्रविधि सिक्दै र बुझ्दै गएका पनि छौँ । तर, यसरी प्रविधिहरू भित्रिँदा कुन वर्ग लाभान्वित हुन पुगे ?

नयाँ प्रविधिबाट साधनस्रोतमा पकड हुनेले मात्र लाभ लिन सकेको देखिन्छ । आममानिसले प्रविधिबाट खासै लाभ लिन सकेका छैनन् । जसले गर्दा जनअपेक्षाको दूरी झन् बढ्दै गएको छ । त्यसैले नयाँ प्रविधि भित्र्याइरहँदा  त्यस प्रविधिले माग गर्ने सीपमूलक तालिम र शिक्षामा सबैको समान पहुँच स्थापित हुन पनि जरुरी छ । अर्को कुरा, यी प्रविधिलाई हामीले स्थानीयकरण पनि गर्नु आवश्यक हुन्छ । जस्तै– डिजेल गाडीभन्दा विद्युतीय गाडी भित्र्याउनु हाम्रा लागि बढी श्रेयष्कर हुन्छ ।

शिक्षामा पनि त्यस्तै छ । विकासका नाममा आज बालबालिकालाई अंग्रेजी मात्र रटान गर्न लगाइएको छ । आफ्नो मौलिक संस्कृति र भाषामा छुट्टै प्रतिभा र तागत लुकेको हुन्छ । अर्थशास्त्रीहरू समाजमा हुने यस्ता सामाजिक तागतलाई ‘सामाजिक पुँजी’को संज्ञा दिन्छन् । सांस्कृतिक परम्पराले स्थानीय स्रोतहरूको उपयोग र वितरणमा सामूहिक सक्रियता सुनिश्चित गर्छ । मौलिक संस्कृति र भाषामा मौलिक ज्ञान र सीप हुन्छ । जसले हरेक विकासका परियोजनालाई स्थानीयकरण गर्न मद्दत पुर्याउँछ । सांस्कृतिक परम्पराले आममानिसको समग्र मानसिक खुसी र सन्तुष्टि बढाइरहेको हुन्छ । यसमा हामी डरलाग्दो गरी चुकिरहेका छौँ । 

आज आएर हामीले पाँच वर्षे बालबालिकालाई हातमा मोबाइल थमाएर विकासको सपनाको थालनी भएको सोच्नु अपूर्ण हुन्छ । विकासका सन्दर्भमा हामी चर्पीसम्म त पुग्यौँ, तर चर्पीमा सधैँ आवश्यक पर्ने पानी र साबुन विदेशी दाताबाट लिइरहँदा विकासका डिस्कोर्सलाई कता डोर्याउँदै छौँ ? हामीले हाम्रो समाजलाई चाहिने विकासको भाष्य आफैँले बनाउन जरुरी छ । विकासको मौलिक भाष्यले सबै नागरिकको अपेक्षा र सपनाको विविधतालाई बुझेर ती सपनाबीचको दूरीलाई कम गराउन जोड दिनुपर्छ ।

(शर्मा अमेरिकास्थित क्लेमसन युनिभर्सिटीमा विद्यावारिधिका शोधार्थी हुन्) 

सुझावित समाचार