गुल्मी प्रहरीका दुःख : कतै भाडाको घरमा, कतै टिनको टहरामा कार्यालय

जनताको जनधनको सुरक्षा गर्ने दायित्व बोकेका यहाँका प्रहरी वर्षौंदेखि भौतिक संरचनाको असुविधा खेप्दै छन्

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

चौकीकै डिल चर्किएकाले पानी परे बगाउने डर । सानो बतासे पानी आए भित्रसम्म जलमग्न हुने अवस्था । हुरी आए थेग्ने कुरै छैन । सडकछेउको चौकीमा राम्रो घेराबार छैन । धुलो उडेर भित्रसम्म पुग्छ । सडकनजिकै र राम्रो संरचना नभएकाले अज्ञात पक्षसँगै सानो हुलहुज्जत भए पनि चौकी असुरिक्षत छ । 

हस्तिचौर प्रहरी चौकीले ०७२ सालबाट इस्मा गाउँपालिका–१ हस्तिचौर स्वावलम्बन बचत तथा क्रृण सहकारी संस्थाको जीर्ण भवनबाट कार्यसम्पादन गरिरहेको छ । नजिकै चौकीको नाममा जग्गा प्राप्त भएको छ । तर, भवन निर्माणको अत्तोपत्तो छैन । अहिलेसम्म आफूहरूले भाडा भने तिर्नुनपरेको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहाले जानकारी दिए । 

कालिगण्डकी गाउँपालिका–७ को भुर्तुङ प्रहरी चौकी हिराध्वज शाहको कच्ची घरमा भाडा तिरेर बसेको वर्षौं भयो । भूकम्पले चर्किएको भवन छ । पुरानो टिनको छानाले थेग्न छोड्यो । पानी परे चुहिएर बस्न र सुत्न मिल्दैन । पहिले तीनतले घर हो । भूकम्पपछि दुई तलाको बनाइएको छ । चौकीलाई गाविस हुँदै प्राप्त भएको जग्गा छ । तर, त्यहाँ पनि भवन निर्माणको कुनै पहल नभएको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक दुहुना थारूले बताए । 

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा ‘ख’ श्रेणीको इलाका प्रहरी कार्यालय छ । जुन द्वन्द्वपछि स्थानीय टेकबहादुर पौडेलको पुरानो घरमा बस्दै आएको छ । पुरानो घर भएकाले आफैँमा जीर्ण छ । पुरानो घरमा जोखिम नहुने कुरै भएन । लामो समय अहिलेकै अवस्थामा कार्यसम्पादन गरेको तर अहिले भवन निर्माणका लागि ठेक्का भएकाले नयाँ आशा थपिएको चन्द्रकोट इलाका प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक पदम शाहीले बताए । 

अर्खाबाङ प्रहरी चौकी मालिका गाउँपालिका–४ का हिमाल केसीको कच्ची घरमा ०७५ सालदेखि बस्दै आएको छ । सुरक्षा निकायअन्तर्गत इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको मात्र भवन नभएको होइन । जिल्लाकै ट्राफिक प्रहरी कार्र्यालयको पनि आफ्नै भवन छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै जग्गा र भवन केही पनि छैन । अहिलेसम्म चार स्थानमा कार्यालय सारेर अस्थायी रूपमा बसिरहेको ट्राफिक प्रहरी कार्यलय गुल्मीका निमित्त इन्चार्ज प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए ।

सातवटा प्रहरी चौकीको आफ्नै भवन छैन
शान्ति सुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित छ । जिल्लाको गाउँगाउँका प्रहरी चौकीको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा असर परेको छ । गुल्मीमा अहिले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाहेक चार इलाका र १४ स्थायी र एक अस्थायी प्रहरी चौकी रहेका छन् । जसमध्ये सातवटा प्रहरी चौकीको आफ्नै भवन छैन । पौदी अमराई, मजुवा र खज्र्याङलगायतका चार प्रहरी चौकी अरू सरकारी कार्यालयका भवनमा बस्दै आएका छन् । 

इलाका प्रहरी कार्यालय चन्द्रकोटको भवन निर्माणाधीन छ । जिल्ला प्रहरी कार्यालयमा पनि केही नयाँ संरचान थप गर्ने क्रम चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले मानवीय स्वभावअनुसार संरचनाले स्वाभाविक रूपमा कार्यसम्पादनमा असर गर्ने बताए ।

उनले जनताको शान्ति सुरक्षाको काम प्रहरीले पालमुनि बसेर पनि गर्नुपर्ने बाध्यता भएका कारण जीर्ण वा असुरक्षित संरचनामै बसेर पनि कर्तव्य पूरा गरिरहेको बताए । उनले बिस्तारै संरचनाहरू विस्तार भएकाले केही समयमै सबै प्रहरी चौकीका आफ्नै भवन  हुने बताए । 

सुझावित समाचार