चीन र रुसले विगतमा आफ्ना खोपबारे प्रोपोगान्डा अभियान चलाएका थिए । यस्तो प्रचारले मानिसमा खोपप्रति आशंका बढ्यो
विश्वका धनी राष्ट्रले कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको अभाव झेलिरहेका छन् । विपन्न मुलुक त खोप नै नपाउने हो कि भनेर चिन्तित छन् । दुवै समस्याको समाधान हो, थप खोप । जुन चीन र रुसले निर्माण गरेका खोपबाट पूर्ति हुन सक्छ (यसमा केही पछि भारतको खोप पनि मिसिन सक्छ) । चीन र रुसका खोपलाई लिएर सुरुमा पश्चिमी राष्ट्र र तिनका मिडियाले अविश्वास व्यक्त गरेका थिए । यसले मोडेर्ना, पिफाइज तथा अक्सफोर्ड–एस्ट्राजेनेका जस्ता ठूला ब्रान्डले उत्पादन गर्ने खोपभन्दा ती खोप कम गुणस्तरको हुने मान्यता विकास गराउन सघायो । रुस र चीनमा सर्वसत्तावादी सरकार भएकाले तिनले खोपका सम्पूर्ण तथ्य बाहिर आउन दिँदैनन् भन्ने बुझाइले पनि यो मानसिकता विकास गराउन सघाएको हो ।
तर, चीन र रुसका खोपले राम्रो काम गरेका तथ्यांकहरू बाहिरिन थालेका छन् । विश्वको प्रमुख चिकित्सकीय जर्नल ‘द ल्यान्सेट’ले यो साता रुसी खोप स्पुतनिक पाँचौँको अन्तिम चरणको जाँचको अन्तरिक परिणाम प्रकाशित गरेको छ । जसअनुसार खोपको प्रभावकारिता दर ९१.६ प्रतिशत छ । डिसेम्बरको बीचमा खोपनिर्माता गमालेया सेन्टरले सार्वजनिक गरेको तथ्यांक र अहिलेको तथ्यांकमा लगभग मिलेको छ ।
संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्ट, जोर्डन, इराक, सर्बिया, मोरक्को, हंगेरी र पाकिस्तानले पनि चीनमा बनेको सिनोफार्म खोपलाई स्वीकृति दिएका छन् । जनवरीको आधाआधी समयमा युएईका झन्डै १८ लाख बासिन्दाले सिनोफार्म खोप लगाइसके । बोलिभिया, इन्डोनेसिया, टर्की, ब्राजिल र चिलीले चीनको अर्को खोपलाई (सिनोभ्याकले बनाएको) स्वीकृति दिएर प्रयोग सुरु गरेको छ । रुसी खोप स्पुतनिक पाँचौँ भने युरोप, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकाका एक दर्जनभन्दा बढी मुलुकमा वितरण गरिनेछ ।
उल्लेखित मुलुकले चीन र रुसका खोपलाई तिनको मुलुकमा प्रयोग गर्न दिनेबारेमा विचार गर्दा तिनले सुरक्षा तथा प्रभावकारिताका तथ्यांकमाथि निगरानी राखेका थिए । त्यसका लागि उनीहरूले चिनियाँ तथा रुसी निमांताले दिएका तथ्यांकमा गहिरो अध्ययन गराए । केही तथ्यांक द ल्यान्सेन्ट र जामाजस्ता वैज्ञानिक जर्नलमा पनि प्रकाशित भइसकेका छन् । केहीमा स्वतन्त्र परीक्षण सम्पन्न भएको थियो । अहिले आएर अन्यथा सोच्नु खोपलाई स्वीकृति दिने सबै सरकारको क्षमता तथा नियतमाथि शंका गर्नु हो । स्वीकृति दिने केही मुलुकका स्वास्थ्य नियामक संस्था अमेरिका र युरोपकै हाराहारीका छन् ।
परीक्षणहरूमा चीन र रुसमा बनेका खोपले उच्च प्रभावकारिता देखाएका छन्, तर धेरै देशमा ती खोपप्रति अझै उच्च आशंका कायम छ ।
खोपको ठूलो अभावमाझ फ्रान्स, स्पेन र जर्मनीले अहिले चीन र रुसी खोप मगाउने सम्भावनाको अध्ययन थालेका छन् । अभावले यी मुलुकलाई गैर–पश्चिमी खोपमाथिको ‘पूर्वाग्रह’ तोडेर अघि बढ्न बाध्य बनाएको छ । तर, चीन र रुसका खोपमाथि उल्लेख्य आशंका पश्चिमी मुलुकभन्दा बाहिर पनि देखिएको छ । इरानमा रुसी खोपप्रति, पाकिस्तानमा चिनियाँ खोपप्रति, दुवै खोपबारेमा केन्या र दक्षिण अफ्रिकामा ठूलो आशंका देखिएको छ । युगभले १७ देशका १९ हजार मानिसमा गरेको पछिल्लो सर्वेक्षणमा रुस, चीन र भारतमा बनेका खोपप्रतिको आमधारणा सबैभन्दा न्यून स्तरको देखियो ।
केही हदसम्म यो आशंका स्वाभाविक हो । चीन र रुसले विगतमा आफ्ना खोपबारे प्रोपोगान्डा अभियान चलाएका थिए । यस्तो प्रचारले मानिसमा खोपप्रति आशंका बढ्यो । चीन र रुसले अन्तिम चरण (फेज ३)को परीक्षणको नतिजा सार्वजनिक नहुँदै अघिल्लो वर्ष आफ्ना केही नागरिकलाई खोप दिन सुरु गरेका थिए । (पिफाइजर–बायोएनटेक र मोडेर्नाका खोपको तेस्रो चरणको अन्तरिम परिणाम सार्वजनिक भएपछि मात्र अमेरिकाले तिनलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।) त्यस्तै, भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिनलाई भारत सरकारले तेस्रो चरणको निष्कर्ष नआउँदै अनुमति दिँदा देशभित्र विरोध भएको छ । तीनवटै देशले आपत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै पहिले नै स्वीकृति दिएको भनेर आफ्नो कदमको बचाउ गर्छन् ।
निश्चित रूपमा चिनियाँ तथा रुसी खोपसम्बन्धी थप सूचना सार्वजनिक गर्नुपर्छ । तर, प्रमुख पश्चिमी खोपले पनि त्यही गर्नुपर्नेछ । पीफाइजर–बायोएनटेक तथा मोडेर्नाको खोपका सबै तथ्यांक अनुसन्धानदातालाई समेत उपलब्ध गराइएको छैन । रुस र चीनले तिनको खोपबारे पश्चिमी निर्माताले भन्दा कम पारदर्शिता देखाएका होलान्, तर त्यसको मतलब तिनको खोप कामै नलाग्ने छ भन्ने होइन । नयाँ तथ्यांकहरूले चिनियाँ तथा रुसी खोप विश्वसनीय रहेको देखाएको छ ।
पश्चिमी देशमा विकास भएका अधिकांश खोप धनी राष्ट्रले किनिसकेका छन् । पुपिल्स भ्याक्सिन एलाइन्सका अनुसार डिसेम्बरको सुरुमै मोडेर्नाका सबै खोप र पिफाइजर–बायोएनटेकका ९६ प्रतिशत खोप पश्चिमी देशले किनिसकेका थिए । ठूला औषधि कम्पनीले गैर–पश्चिमी निर्मातालाई खोप निर्माण गर्ने लाइसेन्स दिन मानिरहेका छैनन् । भारत र दक्षिण अफ्रिकाले कोभिड–१९ को खोप र उपचारमाथिको बौद्धिक अधिकार केही समय खारेज गर्न माग गरेका थिए । पश्चिमी राष्ट्रले यसलाई पनि सफल हुन दिएनन् ।
(प्रभाला औषधिमाथिको पहुँचका लागि अभियान चलाउने अभियन्ता हुन् भने ची थर्ड वल्र्ड नेटवर्कका कार्यकारी निर्देशक हुन्)
न्युयोर्क टाइम्सबाट