प्रधानमन्त्री केपी ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जाँदैमा आत्तिनु नपर्ने बताए । आगामी निर्वाचनमा बहुमत ल्याउँछौँ भन्ने मनोबल साथ अघि बढ्न उनले निर्देशन दिए ।
उनले भने, ‘सानदार बहुमत ल्याउनुपर्छ । कसैले ठान्ला पार्टी फुटेको छ कसरी बहुमत ल्याउँछ ? तीन करोड मान्छेमा दुई–चारजना जाँदैमा पार्टी फुट्यो ? आत्तिनुपर्दैन । मनोबल गिराउनुपर्दैन । हामी जित्न सक्छौँ । हामीले जित्नुपर्छ र हामीले जित्छौँ । यो मनोबलका साथ अगाडि जान अनुरोध गर्दछु ।’
उनले विवाद गर्ने र झगडा गर्नेहरूले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धीकरणसहित सुदृढ हँुदै अघि बढ्ने दाबी गरे । उनले भने, ‘विवाद गर्नेहरू, झगडा गर्नेहरू, झगडा गर्न बानी परेकाहरू, मुद्दा लड्ने बानी परेका, सिँगौरी खेल्ने बानी परेका, भुइँ खोस्रिने बानी परेका, गालीगलौज गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगे पनि निहुँ खोज्ने बानी परेका हटे । अब आन्दोलनलाई एकजुट बनाएर लाने हो । मै हुँ भन्ने केहीले पार्टी छोड्दैमा यो आन्दोलन समाप्त हुँदैन । अझ बलियो भएर जान्छ । अझै शुद्धीकरण र सुदृढीकरण भएर जान्छ ।’
प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूलो विरोधी प्रचण्ड–माधव समूह भएको जिकिर गरे । कम्युनिस्टकै खोल ओढेर कम्युनिस्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई पटक–पटक बदनाम गर्ने काम गरेको उनको दाबी छ । उनले भने, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिस्टकै बर्को ओढेर उहाँ बाटामा बसेको छ । कम्युनिस्टकै बर्को ओढेर बाटामा बस्ने र कम्युनिस्ट आन्दोलनकै सबभन्दा बढी विरोधी । लोकतन्त्र, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरि कम्युनिस्टकै खोल ओढेकाहरू । विगतमा पनि दुःख दिए । विगतका आन्दोलनहरूलाई पटक–पटक बदनाम गराए वा ध्वस्त पारे । जनताले सुन्न नसक्ने गरी कम्युनिस्ट आन्दोलनलाई बदनाम गराए । कम्युनिस्ट आन्दोलन भनेको निर्दयी, हृदयहीन, मानवता नभएको स्वार्थका लागि जे पनि गर्न हुन्छ भन्ने खालको भन्ने प्रभाव दिने गरी उपद्रो मच्चाए ।’ कार्यक्रममा ओली माधव नेपालप्रति बढी आक्रामक भएका थिए ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण नै मुलुकको प्रमुख आवश्यकता रहेको बताएका छन् । तर, विगतमा कृषि आधुनिकीकरणको नाममा दिइने अनुदान वास्तविक किसानको हातमा नपुगेको उनले बताए ।