बुधबार दिनभरका मुख्य खबर

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

राजनीतिको प्रभाव : जहाँ जन्ती र मलामीसमेत जाँदैनन् छिमेकी

भनिन्छ छिमेकी र गाउँले भनेका जिउँदाको जन्ती र मर्दाका मलामी हुन् । तर, बझाङको जयपृथ्वी नगरपालिका– ११ पिठालेकमा भने त्यसको ठीक उल्टो भएको छ । यहाँका छिमेकी न विवाहमा जन्ती जान्छन् न त मर्दा मलामी नै । स्थानीय निर्वाचनपछि यहाँका गाउँलेमा राजनीतिक द्वन्द्व सिर्जना भएको छ । निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार लडे थापा र तत्कालीन एमालेका उम्मेदवार केशव रोकायाबीच प्रतिस्पर्धा भएको थियो । कडा प्रतिस्पर्धाबीच कांग्रेसका उम्मेदवार लडे थापालाई पराजित गर्दै थोरै मतले तत्कालीन एमालेका उम्मेदवार केशव रोकाया विजयी भए । स्थानीय निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि  पिठालेक गाउँका गाउँलेमा अझै निर्वाचनको प्रतिशोध मेटिएको छैन ।

शिक्षकबाटै छात्रामाथि यौन दुर्व्यवहार, दुई घन्टा कोठाभित्र  थुनेर हल्ला नगर्न निर्देशन

शिक्षकले वर्षाैँदेखि गरेको दुर्व्यवहारविरुद्ध बालिकाले बोल्ने आँट गरे, तर विद्यालयमा दुई घन्टा थुनिए, पीडितलाई बोल्न आँट दिनेलाई निष्कासन गर्ने धम्की

विद्यालयमा हाम्रा बालबालिका किन पढ्न पठाउँछौँ ? यसको सहज उत्तर हुन्छ शिक्षा आर्जन गर्न । बालिबालिका शिक्षित भएपछि आत्मनिर्भर बन्छन् । समाजमा हुने सबै खाले विभेदविरुद्ध बोल्ने आँट गर्न सक्छन् । तर, झापाको एक सामुदायिक विद्यालयका पढ्न गएका विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ । हिंसा चिन्ने र प्रतिकार गर्न सिकाउने शिक्षकबाटै विद्यार्थीहरू वर्षौँदेखि पीडित भइरहेका छन् ।

अख्तियार प्रमुखसहित  ३२ जनाको  शीतलनिवासमा  शपथग्रहण 

संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरूले सम्बन्धित आयोगको प्रमुखबाट शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार कुल ३२ जनाले शपथ लिएका छन् । गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो । ढिलो सूचना पाएका कारण थारू आयोग, मधेसी आयोगका केही सदस्य शीतलनिवास पुग्न भ्याएनन् । मंगलबार बेलुका मात्र शपथको जानकारी गराइएको थियो । केहीले भने नियुक्ति अस्वीकार गरेको बताइएको छ । संसदीय सुनुवाइविना नै नियुक्ति भएकाले विवाद भएको थियो । प्रधानमन्त्री केपी शर्मा अोलीले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरी ११ आयोगमा नियुक्ति सिफारिस गरेका हुन् ।

अख्तियारका कार्यवाहक प्रमुख आयुक्तले राजीनामा दिने 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले  राजीनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई  राजीनामा बुझाउने उनको तयारी छ । आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राईको मातहतमा बसेर आफूले काम गर्न नसक्ने कारण देखाउँदै उनले  राजीनामा दिन लागेका हुन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रूपमा काम गरेका थिए । जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले  राजीनामा दिन लागेका हुन् । 

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको शपथग्रहण कार्यक्रममा गएनन् सभामुख

संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीको शपथग्रहण कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । राष्ट्रपतिनिवास शीतलनिवासमा बुधबार बिहान ३२ जना पदाधिकारीहरूलाई शपथग्रहण गराइएको थियो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राईसहित  आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरूलाई  सम्बन्धित आयोगको प्रमुखबाट शपथ गराइएको हो । संविधान मिचेर पदाधिकारी नियुक्त गरेको भन्दै सभामुख कार्यक्रममा नगएको उनी निकटहरूको भनाइ छ।

संविधानविपरीत अध्यादेश ल्याएर गरेका संवैधानिक नियुक्तिहरू आपत्तिजनक : वरिष्ठ नेता पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संविधानविपरीत अध्यादेश ल्याएर गरेको संवैधानिक नियुक्तिप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै संवैधानिक नियुक्तिको विरोध गरेका हुन् । ‘ओली सरकारले संविधानविपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरू घोर आपत्तिजनक मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छन्,’ पौडेलले ट्विट गर्दै भनेका छन्, ‘यस्ता असंवैधानिक नियुक्तिका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टीपंक्ति, बुद्धिजीवी र आमनागरिकमा अपिल गर्दछु ।’

धनराज गुरुङले भने– सभापतिज्यू, कांग्रेसका साथीहरूलाई संवैधानिक निकायबाट फिर्ता बोलाइयोस् 

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संवैधानिक निकायमा कांग्रेसका तर्फबाट नियुक्ति भएकाहरूलाई फिर्ता बोलाउन माग गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, नियुक्ति सिफारिस र शपथमा समेत पार्टीले विमति राखिसकेकाले पार्टीका तर्फबाट नियुक्ति भएकाहरूलाई फिर्ता बोलाउनुपर्ने माग उनको छ । उनले सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, ‘सभापतिज्यू, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आयोगहरूमा नियुक्ति र आजको शपथसम्बन्धी कांग्रेसको विमति रहिआएको प्रवक्ताले प्रस्ट पारिसक्नुभएको छ, अब आयोगहरूमा नियुक्ति भएका कांग्रेसका साथीहरूलाई फिर्ता बोलाइयोस् ।’ 

संवैधानिक निकायका पदाधिकारीको शपथग्रहण अर्को असंवैधानिक कदम : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले अध्यादेश ल्याएर सिफारिस भएका संवैधानिक निकायका पदाधिकारीलाई शपथग्रहण गराइनु अर्को असंवैधानिक कदम भएको बताएका छन् । उनले यो कदमले प्रधानमन्त्री ओलीले ‘म नै संविधान हुँ’ भन्ने अन्तरनिहित दम्भ देखाएको उनको टिप्पणी छ । ‘संवैधानिक परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कोरम नै नपुगेको बैठकबाट गरेको सिफारिस पनि असंवैधानिक थियो, त्यसैले आज गराइएको शपथ पनि असंवैधानिक हो, संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ,’ सिंहले भनेका छन् । उनले सात दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहेकाहरूको असंवैधानिक कार्य र मनपरीतन्त्रका कारण संकटमा परेको बताए । ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ,’ उनले भनेका छन् । नेता सिंहले सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, बिचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको बताए । ‘अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरुपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभा–सम्मेलनले देशलाई अस्थिरतातर्फ धकेल्न उद्यत् देखिन्छ,’ उनले अघि भने, ‘संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नका लागि सबैलाई सचेत र जागरुक रहन अपिल गर्न चाहन्छु ।’

ललितानिवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसँग दुई करोड धरौटी माग 

ललितानिवास जग्गा हिनामिना मुद्दामा विशेष अदालतले व्यवसायी मीनबहादुर गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको छ । मुद्दा दायर भएको एक वर्षपछि अदालतमा उपस्थित भएका उनलाई प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजलालले दुई करोड रुपैयाँ धरौटी माग गरेको हो । ३९ करोड २७ लाख ६८ हजार बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतमा उपस्थित भएकामध्ये सबैभन्दा धेरै धरौटी उनीसँग मागिएको हो ।

१२ तले काठमाडौं भ्युटावर : चार वर्षमा दुई तला पनि बनेन

विवादै विवादबीच सुरु भएको काठमाडौं भ्युटावर समयमै निर्माण सम्पन्न नहुने भएको छ । १२ तले टावरको निर्माण सम्पन्न समयसीमा सकिन पाँच महिना मात्र बाँकी रहँदा दुई तला पनि बन्न सकेको छैन । काठमाडौं महानगरपालिकाले २०७३ असारमा दिएको कार्यादेशअनुसार २०७८ असारमा टावर निर्माण सम्पन्न गर्नुपर्नेछ । चार वर्षमा दुई तला निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले पाँच महिनामा १० तला निर्माणको काम सक्नेमा महानगर भने ढुक्क देखिन्छ । 

भारतीय किसान आन्दोलनमा हलिउड गायिका रिहानाको चासो, बलिउड अभिनेत्री कंगना रनौत भन्छिन्– उनीहरू किसान होइनन् आतंककारी हुन्

नोभेम्बर २०२० देखि नै नयाँदिल्लीको विभिन्न सीमामा भारतीय किसानहरू आन्दोलनरत छन् । सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा कानुनले किसानको रोजीरोटी खोस्ने र व्यापारीहरूलाई पोस्ने आरोप लगाउँदै ती कानुन खारेजको मागसहित किसान नयाँदिल्लीको सिमाक्षेत्र सिंघु, गाजीपुर र टिकरीमा धर्ना दिइरहेका छन् । दुई महिनाभन्दा बढी समयदेखि जारी किसानको यो आन्दोलन देशभित्रै मात्र होइन, विदेशबाहिरसमेत चर्चा पाउन थालेको छ । केही समयअघि बेलायतका सांसद तनमनजित धेसीलगायतले आन्दोलनप्रति प्रतिक्रिया दिएका थिए । अब यो सूचीमा हलिउड पपस्टार रिहानाको नाम पनि थपिएको छ । रिहानाले २ फेब्रुअरीमा किसान आन्दोलनसम्बन्धी एउटा ट्विट गरेकी थिइन् । उनले सिएनएनमा प्रकाशित समाचार लिंकलाई सेयर गर्दै आखिर यो विषयमा किन कुराकानी भइरहेको छैन ? भनेकी थिइन् । यो ट्विटका साथै उनले फारमरप्रोटेस्ट ह्यासट्याग पनि लगाएकी थिइन् । 

सरकारी पक्षका वकिलको प्रश्न– संसद्को स्थायित्व रोज्ने कि सरकारको ?

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । रिट निवेदकको तर्फबाट बहस सकिएपछि सरकारी पक्षका वकिलहरूले बहस गरिरहेका छन् । बुधबार सरकारी पक्षको तर्फबाट बहस गर्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद्को नभई सरकारको स्थायित्व खोजिएको जिकिर गरे । ‘स्थायित्व दुई किसिमको हुन्छ । सरकारको र संसद्को । हामीले के रोज्ने ?’ उनले भने, ‘हामीले सरकारको स्थायित्व खोजेको हो, संसद्को होइन ।’ 

पाकिस्तानमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने

पाकिस्तानमा कोभिड– १९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु भएको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिने घोषणा गरेको छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो । चीनले सिनोफार्म फर्मास्युटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो । यसै महिनाको अन्त्यसम्ममा अरू लाखौँ डोज खोप पाकिस्तान ल्याउने र आमजनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ । 

प्रधानमन्त्रीको कदमको समर्थनमा राजधानीमा मोटरसाइकल ऱ्याली (भिडियो र फोटोफिचर)

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा ओलीपक्षीय नेकपाका जनसंगठनहरूले राजधानीमा मोटरसाइकल ऱ्याली गरेका छन् । ताजा  जनादेशको पक्षमा भन्दै आयोजना गरिएको ऱ्यालीको उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य  ईश्वर  पोखरेलले रिबन काटेर र सिटी फुकेर उदघाटन गरे । उनीहरूले २३ माघमा काठमाडौंमा हुने आमसभामा सहभागी हुनसमेत मोटरसाइकल ऱ्यालीमार्फत आह्वान गरेका छन् ।

संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आयो : डा. कोइराला

कांग्रेस नेता डा. शेखर कोइरालाले संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आएको बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा कांग्रेसले गरेको कार्यकर्ता भेटभाटमा कोइरालाले यतिवेला कांग्रेस एकजुट भएर संविधानको रक्षाका निम्ति लागिपर्नुपर्ने आवश्यकता रहेको बताए । ‘पार्टीको आन्तरिक गुटबन्दी र भागबन्डा छाडेर लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न म सबै कार्यकर्तालाई आग्रह गर्दछु,’ उनले भने । जनताको मतबाट लेखिएको संविधान कम्युनिस्टहरूबाट च्यातिन सक्ने खतरा रहेको उनको भनाइ छ । कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म कांग्रेसले सडक–संघर्ष जारी राख्ने बताएका छन् ।

निर्वाचनका लागि आयोगले माग्यो सात अर्ब आठ करोड

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ निकासाको माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्राचार गर्दै आयोगको आर्थिक कार्यविधिअनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासाका लागि माग गरेको हो । निर्वाचन आयोग ऐन, ०७३ को दफा २७ र २८ अनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ निकासा गरिदिन मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको आरोप– माधव नेपालले सुकुमबासी समस्या समाधान गर्न दिएनन्

प्रधानमन्त्री केपी ओलीले सुकुमबासी समस्या समाधान गर्ने सरकारको प्रयासमा अवरोध सिर्जना गर्ने काम भएको बताएका छन् । भूमिहीन सुकुमबासी संगठन केन्द्रीय कमिटीले काठमाडौंमा बुधबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले सुकुमबासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पु¥याएको बताएका हुन् । 

आमहडतालमा पेसा, व्यवसाय निर्धक्क सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले उद्योगधन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार विज्ञप्ति निकालेर दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेसले भन्यो– सरकार संविधान विखण्डित गर्ने यात्रामा, घनीभुत संघर्ष थाल्छौँ (भिडियोसहित)

कांग्रेसले संसदीय सुनुवाइविनै संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्नुलाई सरकारको ‘सर्वसत्तावादउन्मुख प्रवृत्तिको शृंखला’को संज्ञा दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सरकारको सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध घनीभुत रूपमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताए । 

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिनको प्रभाव ९६ प्रतिशत, दोस्रो डोज भ्याक्सिन तत्कालन नलगाउन आग्रह 

कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध विश्वका विभिन्न देशमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन प्रयोग भइरहेको छ । यो भ्याक्सिनको नतिजा निकै राम्रो भएको प्रतिक्रिया भ्याक्सिन लगाएका देशहरूबाट आइरहेका छन् । यसैबीच बेलायतको स्वास्थ्य विभागका सचिव म्याट हान्कोकले पनि भ्याक्सिनले उत्कृष्ट नतिजा निकालेको बताएका छन् । ‘यो अहिलेसम्मकै उत्कृष्ट नतिजा र काम भन्नुपर्छ,’ म्याटले भनेका छन् । कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न यो भ्याक्सिन प्रभावशाली रूपमा अघि बढिरहेको कम्पनीले पनि दाबी गरेको छ । बेलायतले पहिलो चरणमा नौ लाख ६० हजार नागरिकलाई यो भ्याक्सिन लगाएको थियो । 

सुझावित समाचार