जब रुसमा नसोचिएको प्रदर्शन भयो

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

जनवरी २३ को दिन रुसभर दशौँ हजार मानिस विपक्षी नेता एलेक्सी नभाल्नीलाई जेलमुक्त गर्न माग राख्दै प्रदर्शनमा उत्रिए । प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्यो । कैयौँ पत्रकारले समेत प्रहरीको लाठी खाए । प्रदर्शनकारीमाथि प्रहरीको बल प्रयोग रुसमा नौलो घटना होइन । तर, यसपटकको प्रदर्शन अन्य कारणले विशेष देखियो । जनवरी २३ मा भएको प्रदर्शनको महत्वलाई दर्साउने एउटा घटना मस्कोमा देखिएको थियो । त्यहाँ प्रदर्शनकारीको एक जत्थाले सुरक्षाकर्मीमाथि हिउँका डल्ला फ्याँक्दा प्रहरी रनभुल्लको अवस्थामा परेका थिए । सामाजिक सञ्जालमा धेरै सेयर भएको अर्को भिडियोमा युवाहरू प्रहरीमाथि यसरी जाइलागेको देखिन्छ । प्रदर्शनकारीबाट प्रतिरोधको आशा नगरेका प्रहरी पछाडि हट्न बाध्य भएका थिए । 

विगतमा प्रहरी अधिकारीहरूमाथि प्लास्टिक कप वा बोतल फालेकै आधारमा मुद्दा लाग्ने देशमा मानिस सीधै प्रहरीमाथि जाइलाग्ने स्थिति कसरी आइपुग्यो ? यी विरोधमा राष्ट्रपति भ्लादिमिर पुटिनको शासनप्रतिको गहिरो असन्तुष्टि प्रमुख कारण देखिन्छ । कारागारमा रहेका एक नेताको आह्वानमा भएका यी प्रदर्शन सरकारले रोक्न खोज्दाखोज्दै पनि सम्पन्न भयो । यस अर्थमा यो निकै महत्वपूर्ण विकासक्रम हो । वर्षौंको सापेक्षिक स्थिरतापछि रुस पुनः एकपटक अशान्त बनेको छ । 

सरकारको प्रतिक्रियालाई हेर्दा उसलाई ठूलो चुनौतीले घेरेको महसुस भएकोजस्तो देखिन्छ । प्रशासनले ऐतिहासिक स्तरमा पक्राउ गरिरहेको छ । यसअघि सन् २०१९ जुलाई २७ मा दशकौँपछि भएको ठूलो विरोध प्रदर्शनमा १३ सय ७३ पक्राउ परेका थिए । शनिबार त्योभन्दा पनि धेरै ३१ सय पक्राउ परेका छन् । पक्राउका क्रममा केही यान्त्रिक विधि पनि देखियो । 

एक दशकअघिको स्ट्रेटेजी ३१’ आन्दोलनको समयमा प्रदर्शनकारी प्रत्येक ३१ दिन परेका महिनामा मस्कोमा भेला हुन्थे । सन् २००९ देखि सन् २०११ बीच चलेको यो विरोधको नाम रुसी संविधानले सार्वजनिक रूपमा भेला हुन दिएको अधिकारको धाराको नाममा राखिएको थियो । यी प्रदर्शनहरूलाई प्रशासनले कहिल्यै पनि अनुमति दिएको थिएन, तर ती निकै व्यवस्थित र कानुनको परिधिमा रहेर हुन्थे । बानी चाँडै बदलिँदैन । विगत दशकभरि जति पनि प्रदर्शन भए, प्रदर्शनकारी पहिले प्रशासनबाट त्यसका लागि अनुमति खोज्थे । सन् २०११ को अन्तिम र सन् २०१२ मा स्वच्छ निर्वाचनको माग गर्दै भएका प्रदर्शनलाई मस्को नगर सरकारले स्वीकृति दिएको थियो । त्यस्तै, सन् २०१८ अप्रिलमा चर्चित म्यासेजिङ एप टेलिग्राम बन्द गर्ने सरकारको प्रयासविरुद्धको आन्दोलन पनि समर्थन लिएर गरिएको थियो । 

पछिल्लो प्रदर्शन एक्लैले ठूलो परिवर्तन ल्याउनेछ वा सरकारलाई सुधारका लागि दबाब हाल्नेछ भनेर सोच्नु ठूलो भूल हुनेछ, यसका बाबजुद रुसमा जनवरी २३ को प्रदर्शनले ठूलो अर्थ राख्छ

तर, यसपटक त्यस्तो भएन । जब अनुमति लिनु वा नलिनुले तपाईं पिटिने, थुनिने वा अनौठो मुद्दा लाग्ने सम्भावना कायम रहन्छ भने कागजी प्रक्रियाको पछि किन लाग्ने ? शनिबारको प्रदर्शनमा प्रदर्शनकारीले कुनै निश्चित चोक वा सडकमा नखुम्चिई सहरभर फैलिने रणनीति अवलम्बन गरे । यसले प्रदर्शनकारीको गन्तीमा समेत कठिनाइ थपिदियो । मस्कोको प्रदर्शनकारीको संख्या चार हजारदेखि ४० हजार भएको तथ्यांक यही भएर आएको हो । 

अहिलेको अवस्था आउन धेरै तत्वले भूमिका खेलेको छ । देखिने कारण एलेक्सी नभाल्नी आफैँ नै हुन् । एक दशक लामो भ्रष्टाचारविरोधी अभियानले उनको उचाइ चुल्याइदिएको थियो । अगस्टमा उनीविरुद्ध भएको विष प्रयोग स्वयं पुटिनको आदेशमा भएको उनले आरोप लगाएका छन् । र, त्यसपछि उनी पुटिनका विरोधी खेमाको नेतृत्वकारी भूमिकामा पुगे । यो महिना उनी रुस फर्किए । विषको उपचारका लागि जर्मनी गएका नभाल्नी देश फर्किनासाथ पक्राउ पर्छु भन्ने थाहा हुँदाहुँदै पनि फर्किने कदमलाई साहसिक कदम माने । सरकारले घरमै बस्न आदेश दिँदासमेत हजारौँ मानिस सडकमा आउनुलाई उनको आकर्षणको बल मानिएको छ । नभाल्नी जेलमै हुँदा उनको भ्रष्टाचारविरोधी फाउन्डेसनले पुटिनको पोल खोल्ने भनिएको झन्डै दुई घन्टा लामो भिडियो सार्वजनिक ग¥यो । भिडियोमा कृष्ण सागरको किनारमा रहेको एक भव्य दरबार पुटिनले आफ्ना बिचौलियामार्फत हात पारेको दाबी छ । 

पुटिनसम्बन्धी पछिल्लो खुलासाले प्रदर्शनमा के प्रभाव पार्यो भनेर अहिले नै थाहा हुन सक्ने अवस्था छैन । तर, करोडौँपटक हेरिएको यो भिडियोले मानिसलाई आक्रोशित बनाएको छ । यही आक्रोशका कारण विगतमा प्रदर्शन नहुने क्षेत्रमा समेत प्रदर्शन भएको विश्लेषकले बताएका छन् । प्रदर्शनमा सरकारको अकर्मण्यताको पनि भूमिका छ । आफ्ना असन्तुष्ट नागरिकलाई उसले धरपकड र षड्यन्त्र सिद्धान्तबाहेक केही दिन सकेको छैन (सरकारले नभाल्नीलाई विदेशी एजेन्ट र प्रदर्शनलाई पश्चिमद्वारा परिचालित शक्तिको रूपमा प्रस्तुत गर्ने गरेको छ ।) सरकारले न त भावी परिदृश्य देखाउन सकेको छ, न महामारीका कारण खराब बनेको जनताको जीवनस्तर सुधार गर्न प्रयास नै गरेको छ । 

राज्य प्रोपोगान्डा स्वतन्त्र आवाजलाई निस्तेज गर्न पूर्ण असफल देखिएको छ । शनिबार सरकारी नियन्त्रणमा रहेको आरटी च्यानलमा देखाइएको सो हेर्नेभन्दा दश गुणा बढी दर्शकले सानो स्वतन्त्र च्यानल टिभी रेनले गरेको प्रदर्शनको कभरेज हेरे । भावी दिनमा थप प्रदर्शन हुन सक्छ । तर, यो प्रदर्शनले नै ठूलो परिवर्तन ल्याउनेछ वा सरकारलाई सुधारका लागि दबाब हाल्नेछ भनेर सोच्नु ठूलो भूल हुनेछ । एक दशक पहिले जस्तै पुनः धेरैलाई आपराधिक मुद्दा लाग्न सक्छ । अन्य निषेधात्मक कठोर कानुन आउन सक्छ । 

यसका बाबजुद शनिबारको प्रदर्शनले ठूलो अर्थ राख्छ । पक्राउ र दमनले रुसीलाई प्रदर्शन गर्नबाट नरोक्ने देखिएको छ । समाजशास्त्रीका अनुसार शनिबारको प्रदर्शनमा सहभागी प्रदर्शनकारीमध्ये ४२ प्रतिशत पहिलोपटक प्रदर्शनमा सहभागी भएका थिए । नभाल्नीले अहिले उनका नियमित समर्थकभन्दा बाहिरका मानिसलाई पनि प्रभावित पार्न सफल भएका छन् । क्रेमलिनले भावी दिनमा थप दमनको नीति अख्तियार गर्न सक्छ । त्यसले के निम्त्याउनेछ भन्ने कसैले भन्न सक्ने अवस्था छैन । तर, एउटा कुरा निश्चित छ, सबै रुसी नागरिक क्रेमलिनसँग सन्तुष्ट छैनन् । 

एलेक्सी कोभ्याले मेडुजा नामक स्वतन्त्र रुसी समाचार संस्थाका खोज सम्पादक हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार