साताको पहिलो दिन नै सेयर बजार परिसूचक ५४ अंकले घटेर २ हजार ३ सय ७० बिन्दुमा आइपुगेको छ । कारोबारका क्रममा अग्रिम रूपमा लिनुपर्ने २५ प्रतिशत रकम कडाइका साथ लिन धितोपत्रले भनेको कारणले समेत बजारमा प्रभाव परेको केही लगानीकर्ताको बुझाइ छ ।
‘कारोबार रकम अग्रिम रूपमा लिनुपर्ने व्यवस्थामा भएको कडाइले पनि बजारलाई मनोवैज्ञानिक प्रभाव पारेको हो,’ एक लगानीकर्ताले भने । धितोपत्र बोर्डले आइतबार निकट भविष्यमै लगानीकर्ताको बैंक खाता र सेयर कारोबार खाताबीच इन्टिग्रेसन गर्ने काम भइरहेको भन्दै लगानीकर्तालाई सान्त्वना दिने प्रयास गरेको छ ।
बोर्डले नगदै अग्रिम लिनुपर्ने व्यवस्था नगरिएको र मार्जिन रकम वा चेक दुवै लिन सकिने व्यवस्था गरेको भन्दै स्पष्ट पार्ने प्रयास गरेको छ । केही लगानीकर्ता भने राजनीतिक विवाद बढ्दै गएपछि पनि धेरैमा मनोवैज्ञानिक त्रास देखिएकाले बजार घटेको आकलन गर्छन् ।
यद्यपि, आइतबार पनि कारोबार रकम उच्च नै छ । यस दिन ८ अर्ब ९७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचक घटेको छ । नेप्से एकाधपटक बढ्ने प्रयासमा देखिए पनि वृद्धि सफल हुन सकेन । नेप्सेको रेखाचित्रले हालै डबल टप अर्थात् अंग्रेजी अक्षरको एम बनाएको छ । यसले पनि बजार घट्ने संकेत गर्छ ।
आइतबार कारोबारमा आएका २ सय ६ धितोपत्र र ऋणपत्रमा १५ वटाको मात्र मूल्य बढेको छ भने १ सय ७८ वटाको मूल्य घटेर कारोबार भएको छ । मूल्य घट्नेमा १ सय १ कम्पनीको मूल्य भने ३ प्रतिशतभन्दा कमले घटेको छ ।
समयमा वित्तीय विवरण प्रकाशित नगर्ने, तर मूल्य उच्चदरमा बढिरहेका कम्पनीलाई पछिल्लो वित्तीय विवरण पेस गर्न भन्दै नेप्सेले कारोबार रोक्का गरेको छ । यसरी कारोबार रोक्का हुनेमा विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनी छन् । त्यस्तै, यसै दिन १० दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि लाभांश प्रस्ताव सार्वजनिक गरेको सबैको लघुवित्त वित्तीय संस्थाको मूल्य भने २८ रुपैयाँले घटेको छ । कम्पनीको सेयर १ हजार ४ सय २३ मा कारोबार भइरहेको छ ।