मनाङको नासो गाउँपालिका– ६ तिल्चेको रुकुघासे भिरमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रण हुन सकेको छैन । आगो नियन्त्रणमा लिन स्थानीय र सुरक्षाकर्मी लागिपरेका छन् ।
बुधबार बिहानैदेखि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली आगो नियन्त्रणका लागि खटिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
आगो मानव बस्तीबाट एक सय मिटरनजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ लामिछानेको भनाइ छ । उनले भने, ‘सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले अग्निरेखा तयार पारी बस्ती जोगाउने प्रयास गरेका छन् ।’
भिरालो भौगोलिक बनावटका कारण आगो नियन्त्रणमा लिन कठिन भएको प्रजिअ लामिछानेले बताए । थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि आफूहरू त्रसित भएको तिल्चेकी स्थानीय श्रीमाया घलेले बताइन् ।
मंसिर ११ गतेदेखि लागेको आगो नियन्त्रणमा आए पनि फेरि आगो लागेपछि स्थानीय जंगल जलेर सकिने हो कि भन्ने चिन्तामा छन् । आगलागी के–कति कारणले भयो भन्ने यकिन हुन सकेको छैन ।