ओरियन्सको राजस्व छली : तीन करोडको अवैध सामान, ८७ लाखको बिल

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

भारतबाट अवैध रूपमा ल्याएर दमकमा लुकाइराखेको ओरियन्स कम्पनीको सप्लिमेन्ट फुड प्रहरीले बरामद गरेको छ । काठमाडौं महानगरपालिका–१६ मा दर्ता भएको ग्लोबल ओरियन्सको भ्याट बिलमा विभिन्न व्यक्तिका नाममा ८७ लाख २६ हजार ५ सय २० को बिल काटिएको छ । तर, भण्डारण गरिएको खाद्य पूरक भने ३ करोड २९ लाख ६० हजारको रहेको जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

‘ओरियन्स कम्पनीको भ्याट बिलमा विभिन्न मान्छेका नाममा बिल काटेर बेच्न लागेको पाइएको छ । यो बिल पनि नक्कली हो कि भन्ने शंका छ,’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले भने, ‘त्यही कारण पक्राउ गरिएका व्यक्ति तथा सामानलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारीमा छौँ ।’ ग्लोबल ओरियन्स पुस अन्तिममा मात्र दर्ता भएको थियो । तर, यी खाद्य पूरक भने ६ महिनादेखि बजारमा बिक्री हुँदै आएको उनले बताए । 

उक्त सामानसँगै कम्पनीका सञ्चालकमध्येका दमक–६ का जितेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए । अनुसन्धानका क्रममा यी खाद्य पूरक भन्सार छली गरेर भारतबाट ल्याइएको खुलेको उनले बताए ।  

सुझावित समाचार