सरकारले लोकतन्त्रमाथि प्रहार गर्‍याे : जोशी

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले ओली सरकारले संविधान कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् । 

‘यो संविधान र लोकतन्त्र यसै प्राप्त भएको होइन, कांग्रेसले ७० वर्षसम्म लडेर ल्याएको लोकतन्त्रलाई क्षणभरमै तहस–नहस पार्ने दुष्प्रयास भएको छ,’ उनले भने, ‘यो असंवैधानिक छ, अलोकतान्त्रिक र प्रतिगमनकारी छ ।’ 

काठमाडौं क्षेत्र नं. ८ (क)ले गरेको विरोधसभामा बोल्दै नेता जोशीले फेरि एकपटक लोकतन्त्रवादीहरू उठ्ने वेला भएको बताएका छन् । 

‘फेरि एकपटक लोकतन्त्रवादीहरू उठ्ने वेला भएको छ, संविधानको रक्षाका निमित्त काठमाडौंका जनता फेरि एकपटक सडकमा निस्किने वेला भएको छ,’ जोशीले भने । 

नेता जोशीले कम्युनिस्टरू सत्तामा बसेर जनताको अधिकार कुण्ठित गर्न उद्यत देखिएकाे आरोप पनि लगाए । 

‘कम्युनिस्टहरू कसरी अवसर लिएर जनताको अधिकार कुण्ठित गर्ने भन्नेमै केन्द्रित छन्, कांग्रेस कसरी जनतालाई अधिकारसम्पन्न बनाऔँ ? भनेर लड्दै आएको छ,’ उनले भने ।  

‘घरघरमा ग्यासको पाइप राख्छु, रेल ल्याउँछु, पानीजहाज ल्याउँछु । हामीले जे भने पनि पत्याइ दिनुपर्ने ?                         ए बाबा, पानीजहाज ल्याएर हाम्रो जीवनस्तर कहाँबाट माथि उठ्छ ?,’ प्रधानमन्त्री ओलीलाई उनले प्रश्न गरे । 

सुझावित समाचार