चिनियाँ अटोमोबिल्स कम्पनी टेल्जीको नयाँ इलेक्ट्रिक स्कुटर लियोपार्ड नेपाली बजारमा भित्रिएको छ । टेल्जीको नेपालका लागि आधिकारिक विक्रेता योम मा ई. मोटर्स प्रालिले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ मोडल सार्वजनिक गरेको हो ।
इलेक्ट्रिक लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटर र ३.२ किलोवाटको ब्याट्री प्याक रहेको छ । यो स्कुटर एकपटक फुल चार्ज गरेपछि १ सय ३० किलोमिटरसम्म कुद्न सक्ने कम्पनीका सञ्चालक सञ्जीव शिल्पकारले जानकारी दिए । स्कुटरको ब्याट्री फुल चार्ज हुनका लागि ५ घन्टा लाग्छ । ब्याट्री फुल चार्ज हुँदा दुई युनिट विद्युत् खपत हुने उनको भनाइ छ ।
स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट आलर्म, ५ स्टेप एडजस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस (डिक्की) लगायत फिचर रहेको कम्पनीको दाबी छ । कम्पनीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर स्कुटरमा २५ हजार रुपैयाँबराबरको छुट प्रदान गर्ने जानकारी गराएको छ ।
कम्पनीका अनुसार स्कुटर खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजार रुपैयाँबराबरको एसोसरिज निःशुल्क पाउनेछन् । यसको मूल्य २ लाख १० हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार टेल्जी लियोपार्ड गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल स्कुटर हो ।