पोल्ट्री फार्ममा २ करोड लगानी, अन्डा बेचेर मासिक पाँच लाख आम्दानी

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

बाग्लुङ नगरपालिका–१३, पैयुँपाटा, डाँडाथरका दाजुभाइ कृष्ण सुवेदी र प्रकाश सुवेदीले सदरमुकाममा गर्दै आएको भिडियो र फोटोग्राफीको व्यवसाय त्यागेर पोल्ट्री फार्ममा लागेका छन् । बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योगको नाममा सञ्चालित पोल्ट्री फार्मबाट मासिक ४ लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

अहिले उनीहरूको फार्ममा ४५ सय ‘लेयर्स’ कुखुराले दैनिक ३५ सय अन्डा दिन्छन् । जसबाट मासिक १३ लाखको कारोबार हुने उनीहरू बताउँछन् । दानापानी र कर्मचारीको खर्च ८ लाख कटाउँदा ५ लाखजति नाफा हुने उनीहरू बताउँछन् ।  

१ हजार कुखुराबाट व्यवसाय सुरु भएको फार्ममा दोस्रो वर्ष २ हजार २ सय कुखुरा थप भयो । व्यवसाय सुरु भएको चार वर्षमा लगानी बढेर झन्डै २ करोड पुगेको छ । १२ रोपनी क्षेत्रफल रहेको फार्ममा अहिले पाँचजनाले रोजगार पाएका छन् । 
सरकारको युवा स्वरोजगार कार्यक्रमअन्तर्गत एभरेस्ट बैंकमार्फत ६० लाख ऋण लिएर सुरु गरेको व्यवसायमा अहिले ८८ लाख कर्जा पुगेको छ । उनले बैंकबाट सस्तो ब्याजमा कर्जा लिएर भैँसीपालन गर्ने सोच बनाएका छन् ।

त्यस्तै, अदुवा र बेसारका लागि उद्योगसमेत सञ्चालनको तयारी गरेका छन् । जसका लागि गण्डकी प्रदेश सरकारबाट २० लाख अनुदान आउने प्रक्रियामा रहेको प्रकाशले बताए । ‘हामी कृषिमा नै तल्लीन भएर व्यवसायलाई थप नयाँ कुरा दिनेछौँ,’ उनले भने, ‘कृषिमा लगानी गर्नका निम्ति आफ्ना पैसाले मात्र नहुने, बैंकले दिएको सहुलियत दरको कृषि कर्जाले हामीमा थप उत्साह थपेको छ ।’ 

गण्डकी प्रदेशबाट ९ लाख  ३० हजार अनुदान 
गत आर्थिक वर्ष गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ९ लाख ३० हजार अनुदान प्राप्त भएको थियो । त्यसबाट १५ सय कुखुरा थपेको उनको भनाइ छ । फार्मबाट उत्पादित अन्डा पोखरा, स्याङ्जा र गुल्मीलगायतका जिल्लामा पुग्छ । पछिल्लो समय ‘पोल्ट्री’ व्यवसाय बढ्दै गएपछि बाग्लुङ अन्डामा आत्मनिर्भर छ । जिल्लामा दैनिक करिब १ लाख अन्डा उत्पादन भइरहेको भेटेरीनरी तथा पशु अस्पताल विज्ञकेन्द्र बाग्लुङले जनाएको छ । 

फार्मको वार्षिक ९ लाख अन्डा उत्पादन गर्ने लक्ष्य छ । पोल्ट्री फार्मले चर्चेको पाँच रोपनीबाहेकको जग्गामा व्यावसायिक तरकारी खेती सुरु गरिएको छ । तरकारी खेतीका लागि सिँचाइको अभाव झेल्नुपरेको रखालका दाजु कृष्णप्रसादले बताए ।  
 

सुझावित समाचार