संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माणलगायतका कामहरू ओझेलमा परेको भन्दै सरकारको बचाउ गरेका छन् ।
बिहीबार नेपाल पर्यटन बोर्डको २२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री ढकालले कोभिडबाट मानवजीवन जोगाउन सरकारको ध्यान केन्द्रित हुँदा विकास निर्माण, पर्यटनलगायतका क्षेत्रका कार्यक्रम कार्यान्वयन गर्न नसकिएको भन्दै सरकारको बचाउ गरेका हुन् ।
कोभिडको कारण पर्यटन वर्ष २०२० स्थगित गर्नुपरेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको पनि बताए ।
कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने कामहरू गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।
सरकारले पर्यटन जीवनलाई पनि माथि उकास्न आगामी दिनमा गर्न सक्ने कार्यहरूलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने पनि मन्त्री ढकालले व्यवसायीहरूलाई आश्वासन दिए ।
पछिल्लो समय बेलायतबाट फैलिएको कोरोना संक्रमणको नयाँ स्वरूपका कारण केही देशबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरिएको र यसले छिट्टै पर्यटन क्षेत्रमा सुधार आउनेमा आशंका उत्पन्न गराएको उनको विश्लेषण थियो ।