नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरिसकेकाले अब चाहेर पनि पुनर्स्थापना नहुने बताएका छन् । वीरगन्जमा नेकपा ओली पक्षको प्रदेश २ स्तरीय भेलामा उनले करिब दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीको हैसियतले प्रतिनिधिसभा विघटन गरेपछि अब चाहेर पनि पुनर्स्थापना गर्न नसक्ने बताएका हुन् ।
प्रतिनिधिसभा विघटन गरिसकेपछि चुनावबाट अबको सरकार बनाउने उनको दाबी छ । पौडेलले आगामी चुनावको मिति पनि तय भइसकेकाले चुनावको तयारीमा लाग्न सबै नेपालीलाई आग्रहसमेत गरे ।
संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने उनले बताए ।
आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको दाबी छ । सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलको जिकिर छ ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेस गरेका आरोपपत्र नै पार्टी विभाजनको मुख्य कारण रहेको उनको भनाइ छ । प्रचण्डले पुष्टि गर्न नसक्ने आरोपपत्र फिर्ता लिए अहिले पनि चुनावमा जाने गरी सहमति हुन सक्ने उनको तर्क छ ।
लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल चुनावबाट भाग्न नमिल्ने उनले बताए । प्रचण्ड प्रधानमन्त्री बन्नकै लागि ओलीलाई हटाउन खोजेको उनको आरोप छ ।
कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले पार्टीलाई विभाजनको अवस्थामा प्रचण्डले पुऱ्याएको आरोप लगाए ।
कानुनमन्त्री लीलानाथ श्रेष्ठले सरकारले संविधानअनुसार गरेको प्रतिनिधिसभा विघटन अब कसैले उल्टाउन नसक्ने बताए ।
महिला तथा बालबालिकामन्त्री जुली महतोले लोकतन्त्रमा चुनाव र जनादेश मुख्य भएकाले वैशाखमा हुने चुनावमा सहभागी हुन सबैलाई आग्रह गरिन् ।