आफूले बेचेको उखुको पैसा पाउनुपर्ने आन्दोलनमा सहभागी सर्लाहीका किसान नारायणभगत यादवको ऋण तिर्न नसक्ने तनावका कारण हृदयाघातबाट मृत्यु भयो ।
उनले पाउनुपर्ने कुल २४ लाख ६३ हजारमध्ये उनलाई चिनी मिलले जम्मा एक लाख ६० हजार मात्र दिएको देखिएको छ ।
त्यो पनि उनले उखु बेचेको सर्लाहीका अन्नपूर्ण चिनी मिलले काठमाडौंमा आन्दोलन चर्केपछि मात्र केही दिनअघि उनलाई दिएको थियो ।
उद्योगबाट लिनुपर्ने २४ लाख रुपैयाँ हुँदाहुँदै उनी १८ लाख रुपैयाँ ऋणमा डुबेका थिए । उनी कति इमान्दार थिए भने आफूले पाएको एक लाख ६० हजारबाट उनले ४९ जार ऋण तिरेका थिए ।
एकातिर पाउनुपर्ने पैसा नपाएको र तिर्नुपर्ने ऋणको बोझका बीच काठमाडौंमा चलेको आन्दोलन पैसा पाउनुअघि नै सम्झौतामा टुंगिएपछि उनी चिन्तामा डुबेका थिए ।
उनले हिजो सोमबार बेलुका आफ्नो निर्वाचन क्षेत्रका सांसद केदारनन्दन चौधरीलाई फोन गरेर उनले गहिरो निराशा व्यक्त गरेका थिए ।
उनले चौधरीलाई पैसा पनि नपाइने भयो आन्दोलन पनि बीचैमा टुंग्याइयो, अब बिजोग हुने भयो भनी चिन्ता व्यक्त गरेको चौधरीले जानकारी दिए ।
मृतक किसान ६४ वर्षका थिए । उनका दुईजना छोरा छन् ।
हृदयाघात भएपछि उनको आज मंगलबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा निधन भएको थियो ।
नवलपरासी उखु किसान संघको महासचिव गोपाल यादवका अनुसार मृतक किसान यादवको निधन भइसकेपछि भने चिनी मिलका सञ्चालक उनको पैसा दिन तयार भएको छ ।
उद्योग व्यवस्थापनले मृतक किसानको पैसा दिने जनाएको उनले बताए ।