महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट १२ किलो सुन घोटाला प्रकरणका मुख्य अभियुक्त काठमाडौंको चन्द्रागिरिका ६७ वर्षीय पदमचन्द्र ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । उनलाई सोमबार बिहान बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
उनी बैंकको कुमारीपाटीस्थित शाखा कार्यालयको सुन जाँचकीको जिम्मेवारीमा थिए । उनैको योजनामा बैंकको १२ किलो सुन घोटाला भएको सिआइबीले जनाएको छ । यसअघि अनुसन्धानका क्रममा पक्राउ परेका केही व्यक्तिहरूको बयानका आधारमा ज्ञवाली नै मुख्य योजनाकार रहेको खुलेको सिआइबी प्रमुख डिआइजी सहकुल थापाले बताए । उनले भने, ‘अनुसन्धानका क्रममा उनले बैंकको १२ किलो सुन घोटाला गरेको देखिएको छ । अनुसन्धान जारी छ, थप तथ्य खुल्दै जानेछन् ।’
प्रहरीका अनुसार ज्ञवाली ०६९ देखि शाखा कार्यालयमा सुन जाँचकीका रूपमा करारमा काम गर्दै आएका थिए । उनैको मिलेमतो कम परिणामको सुन राखी धेरै कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट उनको मिलेमतोमा सात करोड ४२ लाख ६१ हजार सात सय ४३ रुपैयाँ बैंकलाई हानि भएको पाइएको छ । ‘बैंकमा १७ किलो सुन हुनुपर्ने थियो । जाँच गर्दा पाँच किलो सुन मात्रै भेटियो । १२ किलो सुन बैंकमा नभेटिएपछि उनी अनुसन्धानको घेरामा परे,’ सिआइबी प्रमुख डिआइजी थापाले भने, ‘बैंकलाई क्षति पुगेको भनिएको झन्डै साढे सात करोड रुपैयाँ त्यही सुनबापतको हो ।’
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनकै मिलेमतोमा बैंकले खोटाङको साकेला गाउँपालिका–२ का ४० वर्षीय देवानन्द राई, ३२ वर्षीय पूर्ण राई र धनकुटाको साँगुरीगढी गाउँपालिका–४ का २५ वर्षीय सन्दीप लिम्बूलाई ऋण प्रवाह गरेको थियो । उनीहरूलाई दुई साताअघि नै सिआइबीले पक्राउ गरेको छ ।
घटनामा संलग्नता रहेको आंशकामा प्रहरीले महालक्ष्मी बैंकका शाखा प्रबन्धक गौशलाकी ४२ वर्षीय स्मृति राणा, अर्को शाखा प्रबन्धक सतुंगलकी ३९ वर्षीय पिंकु पालिखे र विराटनगर–१५ का अर्का शाखा प्रबन्धक ३७ वर्षीय अनिससिंह सिजापती पनि पक्राउ गरेको छ । प्रहरीले ऋणीलाई २६ मंसिर र शाखा प्रबन्धकहरूलाई ५ पुसमा पक्राउ गरेको हो । उनीहरूकै बयानबाट थप व्यक्तिहरूको पहिचान हुने प्रहरी अधिकारीहरू बताउँछन् । उनीहरू पक्राउ परेलगत्तै जाँचकी ज्ञवाली भने फरार भएका थिए ।
नयाँ शाखा प्रमुखसँगको खटपटले खुल्यो पोल
घोटालाका मुख्य अभियुक्त ज्ञवाली झन्डै ३२ वर्ष नेपाल बैंकमा जागिर खाएर अवकाश पाएका कर्मचारी हुन् । उनले ०६९ देखि महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा सुन जाँचकीका रूपमा नियुक्ति पाए ।
त्यहीवेलादेखि उनको चिनजान ऋणीद्वय देवानन्द राई र पूर्ण राईसँग थियो । सुन व्यापारी देवानन्द र पूर्णलाई कारोबार गर्न प्रशस्त रकमको आवश्यकता थियो । सुन धितो राख्ने, तर कर्जाचाहिँ धितोबापतको सुनले ओगट्नेभन्दा धेरै लिने जुक्ति लगाए । यसका लागि चिनजानमा रहेका ज्ञवालीलाई प्रयोग गर्ने योजनामा उनीहरू जुटे । प्रस्ताव ज्ञवालीलाई सुनाए । प्रशस्त कमिसन मिल्ने भएपछि ज्ञवालीले धितो राखिएको सुनको परिणामलाई बढाइदिए ।
कमिसन पाउने भएपछि बैंकका कर्मचारीले ज्ञवालीको सिफारिसलाई जाँचविना सदर गराए । त्यही विधिबाट देवानन्द र पूर्णले ०६९ देखि नै बैंकबाट कर्जा लिन थाले । कारोबार चल्दै गयो । सुन जाँचकी ज्ञवाली र बैंकका कर्मचारीले कमिसन बुझ्दै गए । यहीबीच शाखा प्रमुखको अदलीबदली चल्यो । नयाँ शाखा प्रमुखबाट ज्ञवालीको शंकास्पद गतिविधिमा निगरानी बढ्यो । जुन ज्ञवालीलाई चित्त बुझेन ।
विवाद बढ्दै गएपछि ज्ञवालीको करार अवधि नवीकरण रोकियो । उनको ठाउँमा नयाँ सुन जाँचकी नियुक्त भए । जिन्सी बरबुझारथ गर्ने क्रममा नयाँ जाँचकीले सबै कगजात परीक्षण गरे । कगजातबाट धितो सुनको परिणाम १७ किलो प्रमाणित भयो । तर, ढुकुटीमा सुनको परिणाम पाँच किलोभन्दा धेरै भेटिएन ।
नयाँ जाँचकीले सम्पूर्ण प्रतिवेदन शाखा प्रमुखलाई बुझाए । पुनः परीक्षण गर्दा १२ किलो सुन हराएको प्रमाणित भयो । त्यसपछि मात्रै बैंक अनुसन्धानका लागि सिआइबीमा जाहेरी लिएर पुग्यो । प्रहरीको अनुसन्धानले पनि ढुकुटीबाट १२ किलो सुन हिमामिना भएको देखिएको सिआइबी प्रमुख डिआइजी थापाले बताए । शाखा कार्यालयमा नयाँ सुन जाँचकी नियुक्त भएपछि यो घोटला खुलेको बताउँदै डिआइजी थापाले भने, ‘धितो दुरुपयोग गरी भएको यो ठूलो घोटाला हो । घटनामा अन्य पनि संलग्न रहेको अनुसन्धानबाट देखिएको छ । केही फरार छन् । खोजी जारी छ ।’ खासगरी कर्जा लिने अन्य व्यक्ति भागेका छन् । साथै बैैंकको कर्जा शाखाका कर्मचारीको समेत यसमा संलग्नता रहेको प्रहरीको भनाइ छ ।