तेत्तीस दिनको तनाव

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

बैंकको जागिर प्रत्येक दिन नयाँ–नयाँ मान्छे, त्यो पनि धेरैजनालाई फेस गर्नुपर्ने भएकाले सुरक्षा सावधानीका हरसम्भव प्रयास गर्दागर्दै पनि संक्रमणबाट जोगिन मुस्किल छ भन्ने लागेको थियो । अफिसकै सहकर्मीहरू संक्रमित हुँदै थिए । बैकिङ क्षेत्रका कर्मचारीहरूमा कोरोनाको संक्रमण बढी नै छ । सुरक्षा सतर्कता पर्याप्त अपनाइए पनि ग्राहकको ओहोरदोहोर बाक्लो हुने भएकाले होला, बैंकका कर्मचारी धेरै संक्रमित भइरहेका छन् । साथै, हावा खेल्नेभन्दा पनि गुम्म परेको वातानुकूलित हुने भएकाले पनि बैंकमा कोरोनाको कहर बढी भएको हुन सक्छ ।

तिहार नजिक थियो, आफूलाई अलि बिसन्चो । रुघा, जिउ दुख्ने हुँदा मौसमी परिवर्तनको बिसन्चो ठानियो, मनमा कोभिड त भएन भन्ने शंका पनि थियो । छोरी पिसिआर गर्न भन्दै थिइन् । आफूलाई सबैभन्दा मन पर्ने चाड लक्ष्मीपूजा सकिओरी गरौँला भन्ने लाग्यो । तर, लक्ष्मीपूजाकै अघिल्लो दिन बास्ना–गन्ध गए जस्तो लाग्यो । ‘बडी स्प्रे’ हातमा छर्केर सुँघ्दा पनि बास्ना नआएपछि ‘हेल्थ एट होम’मा फोन गरियो, तुरुन्तै आएर स्वाब लिएर गए । राति पोजिटिभ रिपोर्ट मोबाइलमा आयो । 

संक्रमणबाट मुक्त भएकाहरूले सामान्य रुघा–खोकी न हो भनेको पनि पढिएको थियो । तर, भोगाइपछि नै गहिराइको ज्ञान हुने रहेछ । कोरोनाले मलाई शारीरिक कष्ट कम दिए पनि मानसिक कष्ट धेरै दिएर बिदा भयो । । ज्वरो, सुक्खा खोकी आदि कोभिड–१९ का ‘सिग्नेचर’ लक्षण थिएनन् । गुमेको घ्राणशक्ति पनि एकाध दिनमा फिर्ता पाइएको थियो, तर मानसिक कष्टले थलायो । पोजिटिभ रिपोर्ट देख्नासाथ मन यसरी विचलित भयो, जसलाई बयान गर्ने शब्द मसँग भएनन् । परिवारलाई के होला ? सबैलाई भयो भने के गर्ने ? सबैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आए के होला ? अनेकन् प्रश्न मनमा खेल्न थाले । यसअघि पढेका, सुनेका खबरहरू मानसपटलमा सल्बलाउन थाले । मनलाई खल्बल्याउन थाले । वीरगन्जको चर्चित र मेरो चिरपरिचत हिमाञ्चल केबिनका राजकर्णिकार परिवारका तीनजनालाई कोभिडले चुँडालेको थियो । यस्तै खबर सम्झियो, सजिलै कोरानाबाट छुटकारा पाएका कमै याद आए । 

यस्तो अवस्थामा स–साना कुराले ढाडस पनि दिने रहेछ । सिटी भ्यालु २७ थियो । हुन त, सिटी भ्यालुबारे फरक–फरक कुरा मिडियामा आएका थिए । कोरोनाकालका सेलेब्रिटी चिकित्सकद्वय शेरबहादुर पुन र अनुप सुवेदीका फरक विचार मिडियामा पढेको थिएँ । पहिलोचोटि धेरै देखिएको सिटी भ्यालु दोस्रो परीक्षणमा घटेको पनि सुनिएको थियो । तैपनि, सिटी भ्यालुले राहत नै दियो । निराशाका बीच मेरो स्वास्थ्य अवस्था बिग्रिँदैन, परिवारका अरू सदस्यमा संक्रमण छैन होला भन्ने आशा जगाउन काम लाग्यो । 

राहतको कुरा, परिवारका अरू सदस्य (श्रीमान्, छोरी) बिल्कुल तनावमा थिएनन् । छोरी तनावमुक्त हुँदाचाहिँ छक्क परेँ । उनी उल्टै दुई–चार कुरा फलो गर्नुपर्छ, टेन्सन लिनुहुँदैन भनेर मलाई ढोकाबाहिरैबाट सम्झाइरहेकी थिइन् । उनी परिवारमा कोरोना भित्रिन सक्छ भनेर मानसिक रूपले तयार भइसकेकी रहिछन् र इन्टरनेटबाट यसबारे अपडेट पनि रहिछन् । यसैले मामुलाई धेरै गाह्रो हुँदैन भनेर विश्वस्त भएकी रहिछन् । च्वाट्ट पार्ने औषधि नबनिसकेको कोरानासँग लड्न परिवारको साथ, सहयोग नै शस्त्रअस्त्र रहेछ । 

विज्ञहरू नै पोजिटिभ देखिएको १० दिन बितेको छ र लक्षण छैन भने संक्रमितले अरूलाई सार्ने सम्भावना छैन भनिरहेका छन् भने दोस्रो परीक्षण किन गराइरहने ? पिसिआर किट विदेशबाटै आयात गर्ने हो, गर्न नपर्ने परीक्षण गरेर देशको पैसा बाहिर पठाउने किन ?

अब तनाव मात्र लिएर मनोबल झन् खस्किन्छ भनेर मोबाइलको सहारा लिएँ । सुरुमा वेब सिरिज ‘स्क्याम ९२’ हेर्न सुरु गरेँ । वेब सिरिजले यसरी तान्यो, खाने वेलामा ब्रेक लिनेबाहेक अनवरत हेरेर सिध्याएँ । एउटा खलपात्र हर्षद मेहताप्रति सहानुभूति जगाउने खालको रहेछ । हुन त वेब सिरिजका निर्देशक पनि मेहता भएकै कारण उनले सहानुभूति जगाउने गरी प्रस्तुत गरेका हुन पनि सक्छन् । तर, हर्षदको बदमासीमा त बैंकदेखि राजनीतिक नेतृत्वले साथ दिएकै हुन् । तर, जब घोटाला सार्वजनिक भयो, सबैले साथ छोडे, एकपछि अर्को मुद्दा थप्दै उनलाई सिध्याउन लागे । आखिर हुने यही रहेछ, घोटाला सार्वजनिक नहुन्जेल घोटालाको फाइदा उठाउने सबै हुन्छन्, फँसेपछि कोही न कोही । तनाव भगाउन बिहानै भजन सुनेर दिन सुरु गर्थें, त्यसपछि नेटफ्लिक्स, अमेजन प्राइम, युट्युबमा सिनेमा, वेब सिरिज । 

मानसिक तनाव त छँदै छ, समाज, कतिपय आफन्त र साथीसंगीकै व्यवहारले पनि चित्त दुखाउने रहेछ । कोभिड–१९ को बिरामी भनेपछि छि–छि, दुर–दुर गरेको पढेकै हो । चितवनमा चिकित्सक दम्पतीलाई कोभिड भएपछि कोरोना संक्रमितको घर लेखिएको ब्यानर टाँग्न वडाध्यक्ष दलबलसहित आएको समाचार पढिएको थियो । मेरो घरमा बहालमा बस्ने दाइलाई टोलमा ‘म्याडम अफिस गएको देखिँदैन, कोरोना लागे जस्तो छ,’ भन्दै पर–पर हुने रहेछन् । दाइले चाहिँ ‘हैन ब्याक पेनले दुःख दिएको छ’ भन्नुहुँदो रहेछ । अहिले त यस्तो छ, ५० वर्षअघि कुष्ठरोगीलाई घरपरिवारले बहिष्कार गथ्र्यो भनेर के अचम्म मान्नु । फोनमा हालखबर सोध्ने कतिपयका कुराले पनि पीडा थपियो । एकजनाले अक्सिजनको अवस्था कस्तो छ, ३०–३५ वर्षकै मान्छे पनि अक्सिजन घटेर मरेका छन्, होस पु¥याउनु भन्नुहुन्छ । तनावको अवस्थामा यस्तो भनाइले बिरामीलाई कस्तो होला भन्ने विचार पु¥याएको देखिएन । 

निको भएपछि डाक्टरको परामर्शबमोजिम आइसोलेसनबाट त निस्किएँ, तर पटक–पटकको पोजिटिभ नतिजा आएर तनावको दिन ३३औँ दिनसम्म लम्बियो । डाक्टरले लक्षण हराइसकेको भए पोजिटिभ देखिएको १० दिनपछि ‘आइसोलेसन’मा बस्न पर्दैन, आफ्नो काममा फर्किए हुन्छ भन्छन् । तर, धेरैतिर नेगेटिभ आएपछि मात्र काममा फर्किने प्रोटोकल छ । बिमा दाबीका लागि पोजिटिभ र नेगेटिभ दुवै रिपोर्ट चाहिन्छ । १० दिनपछि मत्थर हुँदै गएको मानसिक तनाव १४औँ दिनमा गरेको पिसिआर रिपोर्ट पनि पोजिटिभ आएपछि फेरि दन्कियो । मध्यरातमा रिपोर्ट आएको थियो, त्यसपछि रातभर निद्रा लागेन । २८औँ दिनमा गरेको पिसिआरमा पनि रिपोर्ट पोजिटिभ आएपछि डिप्रेसनकै अवस्थामा पुग्छु कि जस्तो लाग्यो । आमाको कल पनि रिसिभ गर्न मन लागेन ।

आमाले नातिनीको मोबाइलमा फोन गरेर ‘१० दिनसम्म केही नभएपछि कोरोनाले केही बिगार्दैन भनेर रेडियोले फुकिराछ, तिमी पढालिखा चिन्ता लिने,’ भनेर सम्झाएपछि अलि राहत पाएँ । नाबालिग छोरी ढुक्क, पाको आमा ढुक्क, मचाहिँ किन तनावमा भन्ने लाग्यो । तेत्तीसौँ दिनमा नेगेटिभ रिपोर्ट आएपछि अफिस जान थालेकी छु । कोभिडले शारीरिक स्वास्थ्य नबिगारेकालाई पनि मानसिक स्वास्थ्यमा प्रभाव पारेका रिपोर्टहरू आइरहेका छन् । यसले त मानसिक तनावबाटै संक्रमितलाई गलाउने रहेछ । सोच्दै छु, कोरोनाको त्रासदीपूर्ण वातावरणले कतिको मानसिक स्थितिलाई डामाडोल बनाएको होला ? विज्ञहरू नै पोजिटिभ देखिएको १० दिन बितेको छ र लक्षण छैन भने संक्रमितले अरूलाई सार्ने सम्भावना छैन भनिरहेका छन् भने दोस्रो परीक्षण किन गराइरहने ? पिसिआर किट विदेशबाटै आयात गर्ने हो, गर्न नपर्ने परीक्षण गरेर देशको पैसा बाहिर पठाउने किन ? 

सुझावित समाचार