एनसेलले ल्यायो रोजगारी दिने एप ‘एनसेल जबसप’

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले  ‘एनसेल जबसप’ नामक नयाँ सेवा सुरु गरेको छ । कम्पनीले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने व्यवस्थासहितको एप सञ्चालनमा ल्याएको हो । 

कम्पनीले हाल सञ्चालनमा रहेको अभियान ‘अनपज’अन्तर्गत यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । यस अभियानले हालको विषम परिस्थितिमा भविष्यको पुनर्विचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको कम्पनीको भनाइ छ ।

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको अवस्थामा भर्चुअल रूपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक–अर्कासँग सम्पर्क स्थापित गर्न सकिने व्यवस्था गरिएको बताए ।

उनका अनुसार कम्पनीले कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसर खोज्ने प्रवृत्ति बढिरहेका वेलामा कामको खोजीमा रहेका व्यक्तिलाई सीधै रोजगारदातासँग जोड्ने प्रविधि ल्याएको हो । अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेका वेला एनसेल जबसपले विषम परिस्थितिका वेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने मौका प्रदान गर्ने उनको भनाइ छ ।  

कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येकपटक मेल खाएपछि दुवै पक्षलाई एसएमएसमार्फत सन्देश प्राप्त हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जोकोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रूपमा यो सेवा सुचारु गर्न सक्ने जनाइएको छ । 

सुझावित समाचार