राप्रपाले हिन्दूराष्ट्रका लागि देशभर प्रदर्शन गर्ने

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण
राप्रपाले हिन्दूराष्ट्रका लागि देशभर प्रदर्शन गर्ने

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  १२ पुसमा  ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दूराष्ट्र र राजसंस्थाका लागि नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाउने भएको छ । अध्यक्ष कमल थापाले बोलाएको पार्टी केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यो निर्णय गरेको हो । 

राप्रपा नेता मोहन श्रेष्ठले नयाँ पत्रिकासॅग भने, ‘भ्रष्टाचार, धर्मपरिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासीनताको विरुद्धमा तथा सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको निमित्त पहिलो चरणमा देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ ।’ बैठकमा अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी थिए । 

नेता श्रेष्ठका अनुसार बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधनसहित पारित गरेको छ । राप्रपाले पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला सहरहरूमा मोटरसाइकल र्याली गर्नेछ भने  १५ देखि २५ पुसभित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने भएको छ । 

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक ६ र ७ पुसमा काठमाडौंमा बस्ने पनि श्रेष्ठले जानकारी दिए ।

सुझावित समाचार