प्रधानमन्त्री केपी ओलीले आगामी आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार संवैधानिक निकायहरूमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल गर्न प्रधानमन्त्री ओलीले परिषद् बैठक बोलाएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, मधेसी आयोग, लोकसेवा आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतका संवैधानिक निकायमा अहिले प्रमुखसहित ४५ पद रिक्त छन्।
रिक्त पदहरूमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपाभित्रै पनि सहमति जुटिसकेको छैन। यस विषयमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचसमेत छलफल नभएको प्रचण्ड निकट स्रोतले जनाएको छ।
संवैधानिक निकायमा नियुक्तिको विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेससँग पनि सहमति जुटेको छैन। कांग्रेसका नेता रमेश लेखकले रिक्त संवैधानिक पदमा नियुक्तिको विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताए। ‘यस विषयमा हाम्रो पार्टी सभापतिसँग प्रधानमन्त्रीको छफलफल भएको छैन,’ उनले भने।
नेपालको संविधानको धारा २८४ मा प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था गरिएको छ। हाल प्रतिनिधिसभामा उपसभामुखको पद रिक्त छ।
यी हुन् संवैधानिक निकायका रिक्त पद
राष्ट्रिय मानव अधिकार आयोग : अध्यक्ष र चार आयुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोग : प्रमुख र दुई आयुक्त
निर्वाचन आयोग : दुई आयुक्त
राष्ट्रिय महिला आयोग : अध्यक्ष र चार आयुक्त
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : चार आयुक्त
राष्ट्रिय दलित आयोग : अध्यक्ष र चार आयुक्त
समावेशी आयोग : अध्यक्ष र तीन आयुक्त
आदिवासी तथा जनजाति आयोग : अध्यक्ष र चार आयुक्त
मधेसी आयोग : चार आयुक्त
मुस्लिम आयोग : चार आयुक्त
थारू आयोग : चार आयुक्त