नेपालमा कुल संक्रमितमध्ये १.७ प्रतिशत गम्भीर : औसत ६० संक्रमितमध्ये एकजना आइसियू वा भेन्टिलेटरमा

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण
नेपालमा कुल संक्रमितमध्ये १.७ प्रतिशत गम्भीर : औसत ६० संक्रमितमध्ये एकजना आइसियू वा भेन्टिलेटरमा

चितवन भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत बिरामी । तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका

आइसियू र भेन्टिलेटरमा पुगेका औसत २० प्रतिशत बिरामीको मृत्यु

डब्लुएचओका अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । १५ प्रतिशत लक्षणसहितका बिरामी हुन्छन् भने पाँच प्रतिशत गम्भीर अवस्थामा पुग्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को भनाइमा पाँच प्रतिशत कोरोना संक्रमितलाई ‘क्रिटिकल केयर’ आवश्यक हुन्छ । अन्य मुलुकको तुलनामा नेपालमा यो दर कम पाइएको छ । देशभरका ३४ वटा कोभिड अस्पतालको २१ मंसिरसम्मको तथ्यांकअनुसार कुल संक्रमितको एक दशमलव सात प्रतिशत बिरामीलाई सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटरमा उपचार गर्नुपरिरहेको छ । औसतमा ६० जनामा कोभिड–१९ पजिटिभ देखिँदा एकजनालाई आइसियू या भेन्टिलेटरमा राखेर उपचार गर्नुपरिरहेको यो तथ्यांकबाट देखिन्छ । आइसियू र भेन्टिलेटरमा पुगेका पनि औसत २० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ ।

२१ मंसिरमा देशभर कोरोना संक्रमित संख्या दुई लाख ४० हजार नौ सय ८१ थियो । त्यतिन्जेलसम्ममा चार हजार एक सय सातजनालाई आइसियू र भेन्टिलेटरमा उपचार गरिएको थियो । तीमध्ये नौ सय ८९ जनाको भेन्टिलेटरमा उपचार भएको थियो । डब्लुएचओका अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । १५ प्रतिशत लक्षणसहितका बिरामी हुन्छन् भने पाँच प्रतिशत गम्भीर अवस्थामा पुग्छन् । आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बिरामी पनि तिनै पाँच प्रतिशत हुन् ।

ठूला अस्पतालमै मृत्युदर बढी
यसबीचमा आइसियू र भेन्टिलेटरमा पुगेका बिरामीको मृत्युदर ललितपुर पुल्चोकस्थित निदान अस्पतालमा सबैभन्दा बढी ६१ प्रतिशत देखिएको छ । त्यसपछि पाटन अस्पतालमा ५८, भेरी अस्पतालमा ५४, त्रिवि शिक्षण अस्पतालमा ४३, चिरायु अस्पतालमा ४२, वीरेन्द्र सैनिक अस्पतालमा ३४, नोबेल मेडिकल कलेजमा ३२ र सशस्त्र प्रहरी अस्पतालमा ३० प्रतिशत बिरामीको आइसियू र भेन्टिलेटरमा उपचारक्रममा मृत्यु भएको छ ।

आइसियू र भेन्टिलेटरमा राखिएका बिरामीको मृत्युदर १० प्रतिशतभन्दा कम भएकामा बेलझुन्डी कोरोना विशेष अस्पताल चार, कर्णाली प्रादेशिक अस्पताल पाँच, सेती प्रादेशिक अस्पताल आठ, सुमेरु अस्पताल नौ, टेकु अस्पताल नौ, बयोधा अस्पताल आठ र लुम्बिनी प्रादेशिक अस्पताल नौ प्रतिशत छन् । यो आँकडाबाट आइसियूमा पुगेका बिरामीको मृत्युदर कतिपय अस्पतालमा धेरै देखिएको छ । पाटन अस्पताल र अन्य शिक्षण अस्पतालमा आइसियूमा पुगेका कोरोना संक्रमितको मृत्युदर बढी देखिन्छ । ‘मिर्गौला र क्यान्सरजस्ता गम्भीर रोग लागेका संक्रमितको समेत उपचार हुने भएकाले ती अस्पतालमा मृत्युको प्रतिशत बढी देखिनु स्वाभाविकै हो,’ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन् ।

अद्यावधिक छैन तथ्यांक
आइसियू र भेन्टिलेटरमा पुग्ने बिरामी र उनीहरूको मृत्युसम्बन्धी यो तथ्यांक नयाँ पत्रिकाले हरेक अस्पतालसँग समन्वय गरी संकलन गरेको हो । तर, अझै केही अस्पतालले तथ्यांक दिन मानेका छैनन् । यसको एकीकृत तथ्यांक स्वास्थ्य मन्त्रालयले पनि संकलन गरेको छैन । चिकित्सकहरूका अनुसार आइसियू नभएका कतिपय अस्पतालले रकम असुल्नका लागि अक्सिजनको मात्रै सहारामा पनि बिरामीलाई राख्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले हालसम्म आइसियू तथा भेन्टिलेटरमा पुग्नेहरूको तथ्यांक अद्यावधिक गरेको छैन । ‘यो संख्या यकिन गर्नु अत्यावश्यक छ, हामीले पनि गृहकार्य गरिरहेका छौँ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारी भन्छन् । चिकित्सकहरूका अनुसार आइसियूमा राख्नुपर्नेलाई नराखिएको र राख्नुनपर्नेलाई राखिएका घटना पनि भएकाले गम्भीर अवस्थाका बिरामी संख्या अझै केही घटबढ हुन सक्छ । होम आइसोलेसनमा बसेका र मृत्यु भएका बिरामीले आइसियू र भेन्टिलेटरमा उपचार पाएको भए बाँच्ने सम्भावना उत्तिकै थियो । तर, त्यो सुविधा नपाएका कारण कति बिरामीको मृत्यु भन्ने तथ्यांक पनि कुनै सरकारी निकायसँग छैन ।

युरोप र अमेरिकाको तुलनामा नेपालमा सघन उपचार आवश्यक भएका संक्रमितको संख्या कम भएको सरुवा रोग विशेषज्ञ डा. बाँस्तोला बताउँछन् । तर, नेपालका अस्पतालअनुसार आइसियूमा राख्ने मापदण्ड फरक भएकाले यकिन संख्या भन्न नसकिने चिकित्सकहरूको भनाइ छ ।

‘युरोपको तुलनामा नेपालमा आइसियू र भेन्टिलेटरमा पुगेका संक्रमित संख्या कम हो । घरमा बसेका र अस्पतालमा पनि आइसियू चाहिने कतिपय छुटेका हुन सक्छन्,’ डा. बाँस्तोला भन्छन्, ‘त्यसैले नेपालमा यति संख्यामा आइसियू र भेन्टिलेटरमा पुगे भनेर दाबी गर्न सक्ने अवस्था छैन ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पनि अन्य मुलुकको तुलनामा आइसियू र भेन्टिलेटरमा पुग्ने कोरोना संक्रमित कम रहेको बताउँछन् । ‘मृत्युदर पनि अन्य दक्षिण एसियाली मुलुकको तुलनामा नेपालमा कम छ,’ डा. गौतम भन्छन् ।

नागरिक अगुवा भन्छन्– खोप छनोट, आयात र वितरणको गृहकार्य थालौँ

नागरिक समाजका १० जना अगुवाले कोभिड–१९ विरुद्ध खोप छनोट, आयात र वितरणको गृहकार्य तत्काल थाल्न आग्रह गरेका छन् । उनीहरूले मंगलबार विज्ञप्तिमार्फत अहिलेदेखि नै तयारी थाल्दा महामारी नियन्त्रण बल पुग्ने र सरकारको विश्वसनीयता बढ्ने बताएका हुन् । ‘खोप छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न सरकारलाई अपिल गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ । अन्य मुलुकमा खोप विकास, परीक्षणका समाचारले महामारीबाट मुक्ति पाउने आशा पलाएको उनीहरूको भनाइ छ । ‘नेपाल आफैंले खोप विकास नगरेकाले हामीकहाँ खोप खरिद, आयात र वितरणको विषय महत्वपूर्ण बनेको छ । राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्ने छौँ,’ उनीहरूले भनेका छन्, ‘महामारी नियन्त्रणको प्रारम्भिक चरणमाझैँ अब पनि अव्यवस्था र अनियमितता भए भने त्यसले यो संकटलाई झनै लामो बनाउन सक्नेछ ।’ विज्ञप्तिमा सुशीला कार्की, महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, विद्याधर मल्लिक, अनुराधा कोइराला, विमल कोइराला, नोवेलकिशोर राई, मोहना अनसारी, रमेश खरेल र केदारभक्त माथेमाको हस्ताक्षर छ ।

४१२ संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर चार सय १२ जना कोरोना संक्रमित सघन उपचारमा छन् । तीमध्ये तीन सय ५४ जना आइसियू र ५८ जना भेन्टिलेटरमा उपचाररत छन् । आइसियू र भेन्टिलेटरमा उपचार हुने संख्या बागमती प्रदेशमा बढी छ । उक्त प्रदेशमा एक सय ३८ आइसियू र ३८ जना भेन्टिलेटरमा छन् । यस्तै, गण्डकी प्रदेशमा आइसियूमा ९७ र भेन्टिलेटरमा आठजना छन् । लुम्बिनीमा ५६ आइसियू र दुईजना भेन्टिलेटरमा छन् । प्रदेश–१ मा ३८ जना आइसियू र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश–२ मा नौजना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । कर्णाली प्रदेशमा नौजना आइसियूमा छन् । र, सुदूरपश्चिम प्रदेशमा सातजना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आठ हजार ४७ जना सक्रिय संक्रमित घरमै उपचाररत छन् । मंगलबार देशभर आठ हजार नौ सय ४७ वटा नमूना परीक्षण गर्दा एक हजार तीन सय ८२ जना संक्रमित थपिएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या एक हजार ६ सय ३७ पुगेको छ । मंगलबारसम्ममा कुल संक्रमित दुई लाख ४३ हजार तीन सय ७७ जना पुगेका छन् ।

समयमा अस्पताल नजाँदा मृत्यु बढ्यो : डा. सन्तकुमार दास, त्रिवि शिक्षण अस्पताल

हाल कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गए पनि मृत्यु संख्या कम भएको छैन । पछिल्लो समय संक्रमित घटे पनि दैनिक मृत्यु केही सातायता बढ्दो क्रममा देखिन्छ । अन्य प्रदेशभन्दा उपत्यकामा मृत्यु संख्या बढ्दो छ । यस्तै, आइसियूमा पुग्नेहरू पनि बढी छन् ।

अन्य देशको अनुपातमा नेपालमा आइसियू/भेन्टिलेटरमा पुग्ने र मृत्यु हुने संख्या न्यून छ । अहिले अस्पतालहरूमा कोरोनाका लक्षणविहीनभन्दा पनि लक्षणसहितका संक्रमित देखिएका छन् । अस्पतालहरूमा आउने कोरोना संक्रमित विगतमा सुरुमै आएका कारण मृत्युदर रोक्न सकिएको थियो ।

तर, हाल अन्तिम अवस्थामा मात्रै अस्पताल आउने क्रम बढ्दो छ । यसले पनि मृत्यु संख्या बढाएको छ । आइसियू चाहिने अवस्थामा मात्र अस्पताल पुग्दा बचाउन नसकिएका घटना छन् । आइसियू र भेन्टिलेटरमा पुगेका संक्रमितको मृत्युदर निकै बढी छ । नेपालमा फैलिएको कोरोनाको प्रजातिबारे अझै यकिन भएको छैन । 

See More On

सुझावित समाचार