बेलायतमा कोभिडविरुद्ध ‘मास भ्याक्सिनेसन’ ९० वर्षीया मार्गरेट किनानले लगाइन् पहिलो भ्याक्सिन

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

बेलायतले आफ्ना नागरिकलाई मंगलबारबाट कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । बेलायतले यसलाई ‘मास भ्याक्सिनेसन’को सुरुवात भनेको छ । उसले यसका लागि सबै तयारी पूरा भएको जनाएको छ । बेलायतले अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले संयुक्त रूपमा निर्माण गरिरहेको भ्याक्सिन प्रयोग गर्न लागेको हो ।

पहिलो चरणमा बेलायतले ८० वर्षभन्दा माथिका व्यक्तिलाई भ्याक्सिन लगाउने तयारी गरेको छ । उनीहरूसँगै केही स्वास्थ्यकर्मी र स्याहारसुसार गर्ने व्यक्तिलाई पनि लगाइनेछ । बेलायतले गत साता मात्रै यो भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको थियो । बेलायतले यो प्रक्रियालाई कोरोना भाइरसबाट निकै जोखिममा रहेका व्यक्तिलाई सुरक्षित राख्ने अभियान भनेको छ । 

फाइजर–बायोन्टेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक वृद्धा महिलालाई लगाएर खोप अभियान सुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट किनानलाई खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरिएको हो । पहिलो चरणमै भ्याक्सिन लगाउन पाउने भाग्यमानीमध्ये ८७ वर्षीय डा. हरि शुक्ला पनि छन् ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन पाउँदा नौजना नातिनातिनाका हजुरबुबा शुक्लाले खुसी व्यक्त गरेका छन् । ‘यो भ्याक्सिन लगाउनु पनि कोरोना भाइरसविरुद्धको अभियानमा मैले पूरा गर्नुपर्ने कर्तव्य हो । यो अभियानका लागि मैले सकेको गर्नेछु’, शुक्ला भन्छन् । उनले मंगलबार न्यु क्यासनलस्थित रोयल भिक्टोरिया इन्फर्मरीमा भ्याक्सिन लगाएका छन् । उनीसँगै उनकी श्रीमती रञ्जनले पनि खोप लगाएकी छिन् । 

यो भ्याक्सिनले कसरी काम गर्छ ?
 पहिलो दिन पहिलो डोज
 १२औँ दिन, इम्युनिटी निर्माण गर्न थाल्छ
 २१औँ दिन दोस्रो डोज
 २८औँ दिन, पूर्ण इम्युनिटी

बेलायत कोरोना भाइरसविरुद्ध यो भ्याक्सिन प्रयोग गर्ने पहिले देश बनेको छ । सर्वसाधारणका लागि भ्याक्सिन लगाउन सुरु गरे पनि बेलायतले यसलाई स्वयंसेवी भनेको छ । इच्छुक व्यक्तिले मात्रै भ्याक्सिन लगाउन सक्नेछन् । सरकारी अधिकारीहरूले यसलाई महत्वपूर्ण अभियान मानेका छन् । ‘हामीले आजको दिनलाई साँच्चिकै महत्वपूर्ण दिनको रूपमा हेर्नेछौँ,’ बेलायतका स्वास्थ्यसचिव माट हान्कक भन्छन्, ‘विश्वलाई नै आक्रान्त बनाएको डरलाग्दो रोगविरुद्धको बलियो अभियान सुरु भएको दिनको रूपमा हेरिनेछ ।’

बेलायतले मंगलबार स्कट्ल्यान्डबाट भ्याक्सिन लगाउन सुरु गरेको हो । वेल्स र उत्तरी आयल्र्यान्डमा स्वास्थ्यकर्मीलाई पहिलो प्रथमिकतामा राखेर भ्याक्सिन लगाइनेछ । यो अभियानलाई बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि महत्वपूर्ण मानेका छन् । यद्यपि, उनले आफ्ना जनतालाई आवश्यक सतर्कता अपनाउन नछाड्न पनि अनुरोध गरेका छन् ।

‘आजको यो सुरुवात कोरोना भाइरस रोक्न बेलायतले गरिरहेको प्रयासमा महत्वपूर्ण साबित हुनेछ,’ उनी भन्छन्, ‘यद्यपि, भ्याक्सिन सबैका लागि पुग्न अझै केही हप्ता वा महिला लाग्न सक्छ । त्यसवेलासम्म तपाईंले आवश्यक सतर्कता अपनाउन छाड्नुहुन्न ।’

बेलायतमा सरकारी तथ्थांकअनुसार कोरोना भाइरस संक्रमणबाट ६० हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतले पहिलो चरणमा देशभरका झन्डै ७० अस्पतालबाट भ्याक्सिन सेवा दिन सुरु गरेको छ । भ्याक्सिन लगाउने पहिलो चरणको अभियान सुरु गर्दा बेलायतसँग अहिले आठ लाख डोज भ्याक्सिन छ । बेलायतले थप चार करोड डोज अर्डर गरेको छ ।

दुई चरणमा लगाउनुपर्ने यो भ्याक्सिन आफ्नो सबै नागरिकका लागि पर्याप्त हुने बेलायतको अनुमान छ । बेलायतमा अहिले दुई करोड जनसंख्या रहेको जनाइएको छ ।बेलायती सरकारले अर्डर गरिएका सबै भ्याक्सिन यसै वर्षभित्र आइपुग्ने जनाएको छ । यद्यपि, कम्पनीका अनुसार कम्तीमा यो वर्ष बेलायतले भनेकोजत्तिको सबै भ्याक्सिन पाउने छैन ।

फाइजर र बायोन्टेकको यो भ्याक्सिन बेल्जियममा बनिरहेको छ । बेल्जियमदेखि भ्याक्सिन राखिएको ‘रेफ्रिजेरेटर’सहितका कन्टेनरहरू बेलायत आइपुगेका छन् । तिनलाई सम्बन्धित अस्पतालमा पुर्याइएका छन् । बेलायत सरकारले अस्पतालमा रहेका ८० वर्षभन्दा माथिका बिरामीलाई पनि आवश्यकताअनुसार भ्याक्सिन लगाइदिने जनाएको छ । यो भ्याक्सिन दुई चरणमा दिइनेछ ।

पहिलोपटक लगाइएको २१ दिनपछि दोस्रो डोज लगाइने छ । दोस्रो डोज लगाएको सात दिनपछि भ्याक्सिनले सम्बन्धित मान्छेको शरीरमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता निर्माण गर्ने जनाइएको छ । भ्याक्सिनको साइड इफेक्ट भए पनि निक्कै सामान्यखालका छन् । भ्याक्सिनलाई ९५ प्रतिशत प्रभावकारी भनिएको छ । यद्यपि, यो भ्याक्सिनले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमता सम्बन्धित व्यक्तिको शरीरमा कति समयसम्म रहन्छ भन्नेबारे भने अझै निश्चित भएको छैन । 
 एजेन्सीको सहयोगमा

सुझावित समाचार