सोमबार दिनभर : १० बजेसम्मका १० खबर

सोमबार, २२ मंसिर, २०७७
डिजिटल संस्करण

डेढ दशकसम्म प्रधानन्यायाधीशको रोलक्रममा रहेका ६ न्यायाधीशमध्ये एकजना मात्र न्यायसेवाका क्याडर

न्यायसेवाको उपल्लो पद प्रधानन्यायाधीश बन्ने बाटो कम्तीमा डेढ दशकसम्म छेकिएकामा न्याय सेवाका कर्मचारी असन्तुष्ट छन् । प्रधानन्यायाधीश बन्ने लाइनमा रहेका न्यायाधीशहरू न्याय सेवा ‘क्याडर’बाट आएका नभएकाले आफूहरूको बाटो छेकिएको कर्मचारीहरूको भनाइ छ । ‘अबको नियुक्तिमा उच्च अदालतका न्यायाधीशहरू पनि आउनुहुन्छ, जो न्याय सेवाका क्याडरबाहिरबाट हुनुहुन्छ,’ सर्वोच्चका एक अधिकारी भन्छन् । उनको भनाइमा अबको १५ वर्षजति प्रधानन्यायाधीश बन्नेमा न्याय सेवा क्याडरबाहिरका बढी हुनेछन् ।

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

कोरोना संक्रमितलाई पाँच हजार पोषणभत्ता 

तारकेश्वर नगरपालिकाले कोराेना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु. पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरूप रकम दिइने भएको हो । हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा आठ सय ६६ महिला र एक हजार दुई सय २० पुरुष  छन् ।

जनशक्ति अभावमा प्रयोगविहीन भए भेन्टिलेटर

जिल्ला अस्पताल उदयपुरमा ६ महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर प्रयोगविहीन भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो । जिल्ला अस्पतालका प्रमुख डा. जीवनारायण मण्डलका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीका लागि पहिलोपटक गत असारमा जिल्ला अस्पतालमा ती भेन्टिलेटर जडान गरिएको हो । 

विद्यार्थीको पहिलाे रोजाइ बन्यो दरबार हाइस्कुल

नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । ०७२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको सो स्कुल भवनलाई आकर्षक ढंगले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ ।

नेपाल सरकारले काठमाडौं उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको सो ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । नयाँ भवनमा प्रयोशालासमेतको सुविधा रहेको  र अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ । अहिले भानु माविका कक्षा ६, ७ र ८ मा विद्यार्थी संख्या निर्धारित संख्यामा पुगेको छ । 

तत्कालीन राणा सरकारले वि.सं. १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलेकाले यसको नाम दरबार हाइस्कुल राखिएको थियो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि वि.सं. १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए । राजामहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको सो हाइस्कुलमा अंग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।

सिन्डिकेटविरुद्ध सारथि बनेका यातायात कम्पनी बन्द हुने अवस्थामा, फेरि यातायात सिन्डिकेटको चंगुलमा फर्कने अवस्था

कुनै वेला नेपालको यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउनका लागि प्रमुख भूमिका खेलेका मयुर यातयात र मेट्रो सिटी यातायात निरन्तर घाटामा गएर लगभग बन्द हुनेसम्मको अवस्थामा पुगेका छन् । 

त्यतिवेला काठमाडाैं उपत्यकाभित्रका विभिन्न रुटमा यातायात व्यवसायीले खडा गरेको सिन्डिकेट खारेज गर्नका लागि अहिलेका गोकर्णेश्वर, मयुर महानगर, महासागरलगायत बसहरूको भूमिका प्रमुख थियो ।

विशेषगरी कम्पनीको र लगानीकर्ताको लगानी नै नउठ्ने भएपछि अहिले मेट्रोसिटी यातायात एउटा पनि चल्न सकेका छैनन् । मयुर यातायात भने केही बस बेचेर अहिले केही सीमित बस मात्र चक्रपथ हुँदै बनेपासम्मको रुटमा सञ्चालन गर्दैै आइरहेका छन् । 

प्राकृतिक प्रतिरक्षाभन्दा कोरोनाको भ्याक्सिन सुरक्षित होला ? 

कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउन, संक्रमणको त्रास र आर्थिक अभावका कारण एक वर्षदेखि विश्व आक्रान्त छ । यद्यपि, महामारी खेपिरहेको विश्वलाई पछिल्लो केही दिनदेखि भ्याक्सिन छिट्टै बजारमा आउने खबरले उत्साहित बनाएको छ । गत महिना फाइजर र मोर्डनाले मानव शरीरको कोभिडविरुद्ध खोप प्रभावकारी देखिएको जनाएपछि महामारी नियन्त्रणमा आउने आशा थपिएको हो । तर, बजारमा भ्याक्सिन सर्वसुलभ हुन अझै समय लाग्ने विज्ञहरूले बताउँदै आएका छन् । पछिल्लो समय अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्टे«सन (एफडिए)को इमर्जेन्सी प्रयोगका लागि अनुमति दिइसकेका भ्याक्सिन फाइजर र मोर्डना स्वास्थ्यकर्मी, नर्सिङ होम र आपतकालीन सेवाका कर्मचारीमा मात्रै दिइने भएको छ । साथै, कोभ्याक्स योजनाअन्तर्गत अन्य देशले पनि इमर्जेन्सीका लागि भ्याक्सिन पाउनेछन् । 

म्याराडोनाको उत्तराधिकारी को ? सम्पत्ति कति ?

विश्व फुटबलका चर्चित एवं विवादास्पद खेलाडी डिएगो म्याराडोनासँग सम्बन्धित धेरै विषय अझै रहस्यमयी नै छन् । शताब्दीकै सर्वोत्कृष्ट खेलाडी म्याराडोनाका जीवन र परिवारसँग सम्बन्धित धेरै विषयमा आमनागरिकको चासो भए पनि अनुमान मात्रै लगाउने गरिएको पाइन्छ । 

आखिर को–को हुन् सन्तान ? कति सम्पत्ति होला ? कसरी बाँडिनेछ सम्पत्ति ? 

सन् २०३२ को ओलम्पिक आयोजनाका लागि क्विन्सल्यान्डले दाबी गर्ने 

अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारीका कारण ओलम्पिक खेल आयोजना गर्नेसम्बन्धी यसअघि गरिएका तयारी स्थगन गरिए पनि अब चाँडै यसबारेमा प्रयत्न थालिने सो राज्यका अधिकारीहरूले बताएका छन् ।

रसियामा सर्वसाधारणलाई भ्याक्सिन लगाउन सुरु

रसियाले आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । सुरुमा राजधानी मस्कोका सार्वसाधारणलाई यो सेवा उपलब्ध गराएको हो ।

पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूलाई प्राथमिकता दिएको सरकारले जनाएको छ । रसियाले आफैँले बनाएको स्पुतनिक– ५ भ्याक्सिन प्रयोग गरेको हो । रसिया कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण गर्ने र आपतकालीन प्रयोगका लागि अनुमति दिने पहिलोमध्येको देश हो ।

रसियाले मस्को सहरको विभिन्न ७० स्थानबाट यो सेवा दिन सुरु गरेको छ । भ्यासिन लगाउन इच्छुक व्यक्तिलाई अनलाइनबाटै आवेदन दिन मिल्ने सुविधा छ । विद्यालय, स्वास्थ्य केन्द्र र सामाजिक कार्यमा खटिएकाहरूमध्ये १८ देखि ६० वर्षका मानिसले भ्यासिन लगाउन निवेदन दिन सक्नेछन् । पहिलो डोज लगाएको २१ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ ।

सुझावित समाचार