कोरोना महामारीका कारण बन्द गरिएको नेपाल–भारत सीमानाका खुलाउन माग गर्दै विभिन्न नाकामा धर्नासहितको आन्दोलन सुरु भएको छ ।
पर्साको नाका खुला गर्न माग राख्दै वीरगन्ज नाकामा नेपाल–भारत खुला सीमा संवाद समूहले शनिबार एक घन्टा धर्ना दिएका छन् । विगत आठ दिनदेखि नाकामा उनीहरूको धर्नाका कार्यक्रम भइरहेका छन् । विगत नौ महिनादेखि नेपाल–भारत सीमानाका बन्द छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि बन्द गरिएको नाका मंसिर मसान्तसम्म नखुल्ने भएको छ । भारतका तर्फबाट नाका खुला गरिए पनि नेपालतर्फ बन्द नै छ । आन्तरिक रूपमा लकडाउन खुले पनि सरकारले अन्तर्राष्ट्रिय सीमानाका मंसिर मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि नाका बन्द हुँदा सीमाक्षेत्रमा रहेका दुवै देशका नागरिकलाई समस्या भइरहेको भन्दै ठाउँ–ठाउँमा धर्नासहितका आन्दोलन हुन थालेको छ । सीमा बन्द रहेका कारण सामाजिक, आर्थिक, साँस्कृतिक सम्बन्धमा सीधै असर परिरहेको धर्नामा सहभागी जसपा कि नेतृ मुन्नी श्रीवास्तवको भनाइ छ ।
दुई देशबीच यातायात पूर्णरूपमा ठप्प छ भने अत्यावश्यक कामका लागि मानिसहरू पैदल एकअर्का मुलुकमा ओहोर–दोहोर गरिरहेका छन् ।
भारतसँग जोडिएका विभिन्न नाकामध्ये अहिले १० वटा नाका मात्र खुला छन् । नाका बन्दले गर्दा विवाह, व्रतबन्ध, मृत्यु संस्कार, उपचार तथा व्यापार व्यवसायमा सीधै असर परिरहेको धर्नामा सहभागी जसपाका अर्को नेता ओमप्रकाश सर्राफले बताए ।
केही दिन धर्ना तथा अनशनका कार्यक्रममार्फत सरकारलाई सीमा खुला गर्न ध्यानाकर्षण गराउने, तर त्यसबाट पनि माग पूरा नभए सशक्त आन्दोलन गर्ने उनीहरूको भनाइ छ ।
तर, हालसम्म कुनै पनि नयाँ सूचना नआएकाले केही भन्न नसकिने गृह मन्त्रालयका प्रवक्ता च्रकबहादुर बुढाले बताए । उनले नाका खोल्न बिषयमा औपचारिक निर्णय भए जानकारी दिने बताए ।