दसैँ मनाउन विभिन्न ठाउँबाट आफ्नो घर आएकाहरू दसैँ समापनसँगै आ–आफ्नो गन्तव्यतिर फर्कंदै थिए । त्यही वेला यता हाम्रो घरमा चाहिँ विश्वव्यापी महामारी कोरोनाको कहर महादशा बनेर बिस्तारै भित्रिँदै थियो । एक दिनको अघिपछि गरेर मेरा दुई दाइहरू बिरामी पर्न थाल्नुभयो ।
मौसम परिवर्तन र टोलछिमेकमा देखिएको रुघाखोकीजस्तै सम्झेर हामीले यसलाई सामान्य मान्यौँ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि पिसिआर गराउने हिम्मत बटुल्न सकिएन । परिवार सचेतै थियो । तर, सचेततासँगै अस्पताल गयो भने उल्टो कोरोना सर्ला भन्ने भय थियो ।
घरकै निकट दूरीमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कतिपय चिकित्सकमा कोरोनाको संक्रमण फैलँदै गरेका समाचारले पनि हामीलाई प्रभावित बनाएको थियो । चिनेजानेका कतिपयमा कोरोना संक्रमण भइसकेको थियो । डरको अर्को पक्ष सरकारी अस्पतालप्रतिको अविश्वास पनि थियो ।
त्यसैले कतिपयले सरकारी अस्पतालमा पिसिआर परीक्षण गर्नुभन्दा घरकै एकान्तवासमा रहेर घरेलु उपचार गराइरहेका थिए । गम्भीर अवस्थामा पुगेपछि मात्र विराटनगरतिरका निजी अस्पतालमा परीक्षण तथा उपचारका लागि जाने क्रम देखिएको थियो ।
हामीले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउन जानेजतिका र भेटेजतिका घरेलु उपचार सबै गरायौँ । बेसार, अदुवा, गुर्जो, लसुन, टिमुर, मह, कागती, तुलसी, हर्बल चियाहरूको साथमा तातो पानीको बाफ, मल्टी भिटामिनलगायत सबै खान भ्यायौँ ।
रोग लाग्नुअघि नै प्रतिरोध क्षमता बढाउने उपाय अपनाउनुपर्ने रहेछ । रोगैले च्यापेपछि यी प्रतिरोधी औषधिहरूको प्रभाव खासै नहुँदोरहेछ । हुँदाहुँदै कान्छा दाजुको अक्सिजन लेभल एक्कासि कम भएर ७८ मा झ¥यो, अक्सिजनको यो लेभल ९५ भन्दा कम भयो भने जटिल अवस्थाको मानिदो रहेछ ।
घरमा भएको अक्सिजनले नधान्ने अवस्था आउनासाथ अस्पतालमा भर्ना गरियो, यो प्रक्रिया सजिलो पक्कै थिएन । उहाँलाई कोभिड सस्पेक्टेड वार्डमा राखियो । बिरामीको बढ्दो चाप, स्वास्थ्यकर्मीको अभाव आदिका कारण उपचारमा ढिलाइ हुनु स्वाभाविक थियो । उपचार गर्न ढिलो ल्याएका कारण बिहानसम्ममा मेरा दाजुसँगै अस्पताल भर्ना भएका तीनजना बिरामीको मृत्यु भयो ।
दुवै दाजुहरूको पिसिआर नगरी भएन, रिपोर्ट पोजिटिभ आयो । कान्छा दाजुलाई त रेमडिसिभर औषधि चलाउनुपर्ने अवस्था आयो । यो औषधि सजिलै पाइने र सस्तो होइन रहेछ । बल्लतल्ल झापामा भेटिएको औषधि एक डोजको सात हजार रुपैयाँका दरले ६ डोज लगाउनुपर्ने भयो । बाँकी उपचार घरमै गर्ने भनेर दाजुलाई डिस्चार्ज गरियो । तर विडम्बना ! यो महामारीको वेलामा घरमा आएर उपचार गरिदिन कोही तयार भएनन् । यही निराशाको बीच सहृदयी सूर्यबहादुर कार्की दाजुलाई घरमा नै उपचार गर्न तयार हुनुभयो ।
मलेसियामा स्वास्थ्यकर्म गर्ने यी दाइको गुन हाम्रो परिवारले कहिल्यै बिर्सने छैन । यसैबीच कान्छी बहिनीको पनि रिपोर्ट पोजिटिभ आयो । दाजुलाई घर ल्याएको दोस्रो दिनदेखि मलाई पनि टाउको दुख्न सुरु भयो । आमालाई चिन्ता बढ्छ भनेर मैले पिसिआर गरिनँ । तर, म र बहिनी आइसोलेसनमा बस्न थाल्यौँ ।
चारजना छोराछोरी, कोठापिच्छे बिरामी भएर आइसोलेसनमा बस्न थालेका थियौँ, कान्छा दाजु त झन् २४ घन्टा अक्सिजनमा हुनुहुन्थ्यो । घरमा फैलिएको यस्तो संक्रमणले ८१ वर्ष पुग्नुभएको वृद्धा आमालाई मानसिक तनावमा पा¥यो । उता, आमालाई तनावको कारणले एन्जाइटी हुँदै थियो, आमा ढोकाबाहिरबाट घरिघरि तँलाई कस्तो छ भनेर सोधिरहनुहुन्थ्यो । यता, हामीलाई बिरामीको कारणले भन्दा पनि आमालाई सर्छ कि भन्ने मानसिक तनाव बढ्दै थियो ।
यो एउटा यस्तो दयनीय अवस्था थियो, लाग्थ्यो समय घरको चार पर्खालभित्र अड्किएको छ, अनि यसबाट हाम्रो जीवन कहिल्यै निस्कने छैन । नजिकै आइरहेको तिहारप्रति हामीमा कुनै उत्साह थिएन, दिनहरू निरस र निराशाले भरिएका थिए ।
तिहार समान्य बित्यो । मलाई लक्षण देखिएको पाँचौँ दिनदेखि शरीरमा अत्यधिक पीडा हुन सुरु भएको थियो । आफ्नै लुगाले पनि छाला दुख्न थाल्यो, बान्ता हुन सुरु भयो । स्वाद र गन्ध दुवै हराए । त्यसपछि खाना देख्ने, सम्झनेबित्तिकै बान्ता होला जस्तो अवस्था भयो । यो अवस्था यति साह्रो भयो कि भाइटीकामा अरूले फेसबुकको भित्तामा राखेको खानेकुराका फोटो देख्दासमेत बान्ता आउला जस्तो लागेको थियो ।
आठौँ दिनदेखि ज्वरो अत्यधिक आउन थाल्यो । सिटामोलले मुस्किलले तीन घन्टा थाम्थ्यो, फेरि ज्वरो १०३–१०४ पुगिहाल्थ्यो । बिस्तारै दाजुहरू र बहिनीको स्वास्थ्यमा सुधार आउन थाल्यो, तर मेरो भने निरन्तरको ज्वरो र बान्ताको कारणले शरीर शिथिल हुन थाल्यो । दशौँ दिनदेखि अक्सिजनको लेभल एकैचोटि घटेर ८९–९० पुग्न थाल्यो । त्यसदेखि यता पाँच दिनसम्म मैले पनि अक्सिजन लगाएर बिताएँ ।
रात परेपछि बिरामीले धेरै चाप्थ्यो । उच्च ज्वरो, खोकी अनि शरीरको पीडा यस्तो हुन्थ्यो कि मानौँ शरीरको प्रत्येक कोष कसैले चुँडाएर लाँदै छ अनि मेरो शरीरमा टाउको मात्रै बाँकी छ । अत्यधिक पीडाले मुख, घाँटी सुकेर आउँथ्यो, तर जुरुक्कै उठेर पानी खान सक्नेसम्मको तागत थिएन ।
संक्रमण भइहाले अस्पतालमा नै उपचार गराऔँ । हुन त हामीले घरमा नै उपचार गरायाैँ, तर यो प्रक्रिया सजिलो थिएन र प्रत्येक क्षण हामीमाझ एउटा अनिश्चितता मौजुद हुन्थ्यो ।
सबैभन्दा गाह्रो त त्यो वेला हुन्थ्यो, जुन वेला शौचालय जानुपथ्र्यो । घरमा एउटा फ्लोरमा एउटा मात्रै शौचालय छ, त्यसैले शौचालय प्रयोग गरिसकेपछि यसलाई ब्लिच गर्नुपर्ने अनि आफूले छोएका भित्ता सबैमा स्यानिटाइज्ड गर्नुपथ्र्यो । रोग र भोक दुवैले कृश बनाएको काया, सास फेर्न पनि गाह्रो भएको अवस्था, मध्यराति उठेर ट्वाइलेट ब्लिच गर्ने काम साह्रै पीडादायी थियो । यति गर्दा पनि भूलवश कतै भाइरस छोडियो कि, अनि आमालाई पो स¥यो कि भन्ने मानसिक तनावले अझै पनि सताउन छोडेको छैन ।
बिस्तारै स्वाद र गन्ध आउन थाल्यो । १४ दिनपछि मात्र ज्वरो आउन छोड्यो । १७ दिनमा पिसिआर टेस्ट गरेँ, फेरि पनि पोजिटिभ नै देखियो । खोकी त सामान्य चलिरहेकै छ, तर पहिलेभन्दा धेरै सन्चो भएको छ । कोरोनासँगको लडाइँमा मेरो अनुभव अरूको भन्दा केही फरक र कतिपय मिल्दोजुल्दो होलान् । यस्तो अनुभव आदान–प्रदान गर्न चाहन्छु :
१. कोरोना लाग्दा जति शारीरिक र मानसिक पीडा हुन्छ, त्यति नै आर्थिक बोझ पनि हुन्छ । केही गरी संक्रमण भइहालेमा यसको उपचार सस्तो छैन । नेपाल सरकारले कोरोनाको उपचार निःशुल्क गराउने भनेको भए पनि एकपटकको पिसिआर गराउन मात्र धरानको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा २२ सय रुपैयाँ लाग्छ । परिवारका धेरै सदस्यको पिसिआर र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाको त म कुरै गर्न चाहन्नँ । त्यसैले सकेसम्म सामाजिक, शारीरिक दूरीलाई पालना गरौँ र रोग लाग्नबाट जोगिऔँ ।
२. यदि संक्रमण भइहालेमा अस्पतालमा नै उपचार गराऔँ । हुन त हामीले घरमा नै उपचार गरायाँै, तर यो प्रक्रिया सजिलो थिएन र प्रत्येक क्षण हामीमाझ एउटा अनिश्चितता मौजुद हुन्थ्यो । अब के हुन्छ भन्ने त्रासले छोपेको हुन्थ्यो ।
३. जसले जे भने पनि यो रोग लाग्नु र यसको प्रभाव व्यक्तिको शारीरिक तथा मानसिक अवस्थाअनुसार भाइरसलाई कसरी रेस्पोन्ड गर्छ भन्ने कुरामा भर पर्ने रहेछ । त्यसैले यदि कोरोनाको लक्षण देखिन थाले अरूको भनाइको पछि लागेर यस्तो, उस्तो गर्नुभन्दा पनि आफ्नो शरीरमा कस्ता असर देखा परिरहेको छ भनेर मनन गर्नुपर्छ, अनि चिकित्सकसँग समयमा नै सल्लाह लिनुपर्छ । आवश्यक परामर्शका लागि चिकित्सकहरूको फोनमा रेस्पोन्स राम्रै छ ।
४.अन्तमा, यो रोग चिन्तामा नै जानुपर्ने भयानक पनि छैन, तर बेसारपानीले जाती पार्ने सजिलो रोग पनि होइन रहेछ । यसको पीडा उसैलाई थाहा हुन्छ, जसले यो संक्रमणसँग संघर्ष गरेको हुन्छ ।
कोभिड–१९ संक्रमणसम्बन्धी लेख तथा समाचार सामग्रीले पछिल्लो समय खासै प्राथमिकता पाउन छोडेको छ । जबकि यही समय बढ्दो चिसो र वायु प्रदूषण (उपत्यकामा)ले गम्भीर प्रकृतिका संक्रमित बढेका छन् । त्यसैले अब अझै बढी सचेतनाको खाँचो छ ।
(समाजशास्त्री सुब्बा केही समय पहिलेसम्म संयुक्त राष्ट्रसंघअन्तर्गत अफ्रिका र दक्षिण अमेरिकामा कार्यरत थिइन्)