अनियमितता आरोपमा नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

ट्राफिक कार्यालयमा रहँदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक इन्स्पेक्टरलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरूलाई गृहले निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

निलम्बन गरेर उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको छ । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीभित्र शुद्धीकरण अभियानअन्तर्गत सिनियर अफिसरमाथि कारबाही अघि बढेको प्रहरी स्रोत बताउँछ ।

त्यस्तै डिउटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालिन इन्चार्ज डिएसपी भरतबादुर चौधरीलाई पनि गृह मन्त्रालयले निलम्बन गरी कारबाही प्रक्रिया सुरु गरेको छ । गत १० मंसिरमा उनी सम्पर्कविहीन भएका थिए । पछि खोज्दा डिउटी छाडेर होटलमा भेटिएका थिए ।

सुझावित समाचार