उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणको जोखिमका कारण झन्डै सात महिनापछि कक्षा १२ को परीक्षा सुरु भए पनि विद्यालयमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । 

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन सुरु भए पनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो। 

उपत्यकामा संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय सञ्चालन हुन केही समय लाग्न सक्ने उपत्यका मेयर फोरमको आकलन छ । 

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन भए पनि औपचारिक रूपमा पठनपाठनका लागि अझै समय लाग्ने काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोतीप्रसाद भट्टराईले बताए । 

महानगरपालिका र उपत्यका मेयर फोरमले संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने निर्णय गरेको उनले बताए । सरकारले स्थानीय तहले विद्यालयहरूसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने बताए पनि उपत्यकाको हकमा तत्काल मिति तोक्न सकिने अवस्था नभएको उनको भनाइ छ । 

कक्षाको १२ को परीक्षा सम्पन्न भएपछि विद्यालय सञ्चालनको आधार तय हुने उल्लेख गर्दै उनले पूर्वाधार तयार गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सक्ने विद्यार्थी भएको कक्षाहररूमा पढाइ सुरु गर्ने गरी अगाडि बढ्ने तयारी भएको उनकाे भनाइ छ ।

उनले भने, ‘समय दिन सक्ने अवस्था छैन । देशभित्र मात्रै नभएर बाहिरका मान्छेको जमघट पनि हुने भएकाले फुर्सदमा पछुताउनुभन्दा अलि ढिलै भए पनि व्यवस्थित ढंगले पठनपाठन सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने सोचमा महानगर छ । उपत्यका मेयर फोरम पनि संघीय सरकारसँग समन्वय गरेर अगाडि बढिरहेको छ ।’

चिसो मौसममा भाइरस बढी सक्रिय हुन सक्छ भन्ने आकलन भइरहेकाले पनि संक्रमण कम भएका स्थानीय तह वा वडाहरूबाट बिस्तारै विद्यालय खोल्ने गरी अगाडि बढ्नुपर्ने उनले बताए । 

गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा सुरु भएपछि विद्यार्थी र अभिभावकहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न र विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश गएको उनको बुझाइ छ । 

महामारीको समयमा आइपरेका ठूला चुनौतीबीच पनि परीक्षा सञ्चालन हुनु सकारात्मक पक्ष भएको भट्टराईको भनाइ छ ।

सुझावित समाचार