डा. शर्मालाई रसायनशास्त्र पुरस्कार

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागको ५६औँ स्थापना दिवसको अवसरमा ‘प्रा.डा. छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’ डा. खगराज शर्मालाई प्रदान गरिएको छ । डा. शर्माले ०५४ देखि हालसम्म २३ वर्ष औषधिजन्य वनस्पतिको रसायनमा आधारित अनुसन्धानमा गरेको योगदानलाई पुरस्कार छनोटको आधार मानिएको थियो । 

पुरस्कार मूल्यांकन समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र बस्नेतले उक्त पुरस्कारको घोषणा गरेका थिए । त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले पुरस्कार वितरण गरेका थिए । 

डा. शर्माले हालसम्म २५ वटा स्नातकोत्तर तहको शोध निर्देशक भएर काम गरेका छन् । यस वर्ष पुरस्कारका लागि प्राप्त ६ वटा आवेदकहरूमध्ये डा. शर्मा ज्येष्ठतामा पनि अगाडि थिए । प्रा.डा. छविलाल गजुरेल स्वयं अर्ग्यानिक केमेस्ट्रीको प्राध्यापक भएकाले अक्षय कोषको भावनाअनुसार अन्य विधाको अनुसन्धानलाई भन्दा औषधिजन्य वनस्पतिको रसायनमा आधारित अर्ग्यानिक केमेस्ट्रीको अनुसन्धानलाई पुरस्कारका लागि छनोट गरिएको मूल्यांकन समितिका अध्यक्ष प्रा.डा. बस्नेतले बताए ।

प्रा.डा. छविलाल गजुरेल र त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागबीच पुरस्कार कोष सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा भएको सम्झौताअनुसार ०७६ मा यो पुरस्कार स्थापना गरिएको हो । प्रा.डा. गजुरेलले रू. सात लाखको अक्षय कोष खडा गरेको र सोबाट प्राप्त हुने ब्याजबाट नेपालमा रसायनशास्त्रको अनुसन्धानमा योगदान पुऱ्याउने व्यक्ति वा संस्थालाई प्रतिवर्ष ५० हजार राशिको पुरस्कार प्रदान गरिने बताइएको छ । 

कार्यक्रममा विद्यार्थीतर्फ स्नातकोत्तर कार्यक्रममा उकृष्ट अंक ल्याउने विवेकराज भट्टराई, सृष्टि श्रेष्ठ, रसना महर्जनलाई पनि अन्य विभिन्न नामका पुरस्कार प्रदान गरिएको थियो ।

सुझावित समाचार