दोरम्बा गाउँपालिका–५ गुन्सालमा निर्माणाधीन एकीकृत नमुना बस्ती बजेट अभाव हुँदा अलपत्र परेको छ । स्थानीय सेतीदेवी जनजागृति युवा समाजले दोरम्बा–५ गुन्सालका ३० घरपरिवारको आवासका लागि एकीकृत नमुना बस्ती निर्माण थालेका थिए ।
कुल तीन करोड ३२ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो परियोजनाले अहिले आर्थिक अभाव झेलिरहेको छ । भवन निर्माणका लागि आवश्यक पर्ने बजेट संस्थासँग नहुँदा भवनहरू अलपत्र अवस्थामा छन् ।
एकीकृत बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९० लाख, एकीकृत बस्ती विकासको सेवा–सुविधाका लागि एक करोड २० लाख र स्थानीय गाउँपालिकाको कार्यालयमार्फत बस्तीको सुरक्षाका लागि १० लाख रुपैयाँ रकम उपलब्ध गराउने सम्झौता भएको थियो । सेतीदेवी जनजागृति युवा समाजका अध्यक्ष प्रज्वल श्रेष्ठले सम्झौताअनुसारको रकम पाउन नसक्दा निर्माण रोकिएको जानकारी दिए ।
अहिलेसम्म ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम अगाडि बढाउन बजेट अभाव भएको हो । ‘अहिलेसम्म भवन निर्माणको काम ८५ प्रतिशत पूरा गरेका छौँ । बाँकी काम गर्न आर्थिक अभाव भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सबै रकम पाउन सकेको भए हामीले समयमा नै काम सक्ने थियौँ ।’
निर्माणाधीन एकीकृत बस्तीको भवनसँगै निर्माण हुनुपर्ने शौचालय, आँगन र ढल व्यवस्थापनको काम अझै बाँकी रहेको छ । संस्थामा बजेट अभाव हुँदा ती काम पूरा हुन सकेको छैन । बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिनुपर्ने १२ लाख र एकीकृत बस्ती विकास सेवा–सुविधाअन्तर्गतको ४० लाख रकम पाउन बाँकी रहेको छ । यी दुवै रकम पाउन सके निर्माणाधीन भवनको काम सम्पन्न हुने र भूकम्प लाभग्राहीलाई हस्तान्तरण गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बागमती प्रदेशसँग सहकार्यको प्रयास
बजेट अभावमा अलपत्र रहेको एकीकृत बस्तीको बाँकी काम सम्पन्न गर्न स्थानीय गाउँपालिकाले बागमती प्रदेशसँग सहकार्य भइरहेकाले चाँडै रकमको व्यवस्थापन हुने र काम अघि बढ्ने दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । उनले भने, ‘रकम अभावले भवनको काम पूरा हुन सकेको छैन । त्यो काम चाँडै सक्ने गरी गाउँपालिकाले प्रदेश सरकारसँग रकम माग गरेका छौँ । रोकिएको काम चाँडै सकेर भूकम्पपीडितलाई हस्तान्तरण गर्ने गरी पालिकाले काम अघि बढाएको छ ।’