पतिले आगो लगाइएकी वसन्ती आर्थिक संकटसँग जुध्दै

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

पतिले मट्टीतेल छर्केर आगो लगाइएकी दलित महिला वसन्ती सदाको जीवनको रफ्तार यतिवेला रोकिएको छ । भारतबाट फर्किएका पतिलाई क्वारेन्टिनमा बस्न आग्रह गर्दा तिनै पतिले उनलाई आगो लगाएका थिए । 

४४ दिनको उपचारपछि उनी घर फर्किएकी छिन्, तर जीवन पहिलेजस्तो सजिलो छैन । न शरीर स्वस्थ छ, न मन स्थिर । आधा शरीर ठानिएका पतिले नै हत्या गर्ने उद्देश्यसहित आगो लगाएपछि उनी विक्षिप्त छिन् । बिर्सन खोज्दा पनि नसकिने सो घटनाका कारण पिरोलिएकी छिन् । यो संकट एकातिर छँदैछ, आर्थिक संकट अर्कोतिर छ । आफू र ६ वर्षकी छोरीको जीवन कसरी अगाडि बढाउने भन्ने समस्यामा उनी छिन् । उनको यो समस्या समाधान गर्न शुक्रबार केही आर्थिक सहायता मिलेको छ । 

सहयोगकै भरमा उपचार
सप्तरीको पश्चिम–उत्तरी भेगमा पर्ने सुरुंगा नगरपालिका–३ लक्ष्मीपुर गाउँकी २५ वर्षीया वसन्ती सदालाई औषधि खरिद, पोषिलो खानेकुराका लागि २२ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । सुरुंगा नगरपालिकाकी उपप्रमुख विन्दादेवी पासवानले शुक्रबार दिउँसो सुरुंगा–१ चहकास्थित माइतीमा बस्दै आएकी वसन्तीलाई लहानस्थित समग्र जनउत्थान केन्द्रले उपलब्ध गराएको आर्थिक सहयोग हस्तान्तरण गरिन् । गत ५ साउनमा मट्टीतेल छर्किएर आगो लगाएपछि घाँटीमुनि र कम्मरमाथिको करिब ६० प्रतिशत भाग जलेर उनी गम्भीर घाइते भएकी थिइन् । 

काठमाडौंको कीर्तिपुर अस्पतालमा दिनको उपचारपछि उनी गत २६ असोजमा गाउँ फर्किएर माइतीघरमा बस्दै आएकी छिन् । ‘कीर्तिपुरको उपचार, औषधि खरिद, खानेकुराका लागि सबैले सहयोग गरे,’ वसन्तीकी आमा सोनावतीले भनिन्, ‘मजदुरी गर्न नपाएकाले छोरीलाई औषधि, दूध, फलफूल खुवाउन सकेका थिएनौँ, संस्थामार्फत पाएको आर्थिक सहयोगले घाइते छोरीका लागि ठूलो राहत भएको छ ।’

उपचारको क्रममा पनि उनलाई सहयोग प्राप्त भएको थियो । काठमाडौंसम्म पुर्याउन सुरुंगा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको थियो । समग्रका अध्यक्ष भैरवप्रसाद गेलालका अनुसार कीर्तिपुर अस्पतालमा वसन्तीको ४४ दिनको उपचारका क्रममा कुरुवा बसेका बाबु मनभरन सदा, आमा सोनावती र बिरामीको खाना खर्च सामाजिक अभियन्ता उज्ज्वल थापाले उपलब्ध गराएका थिए ।

‘अस्पतालको करिब तीन लाख रुपैयाँबराबरको उपचार खर्च राष्ट्रिय महिला आयोग र महिला पुनस्र्थापना केन्द्रको पहलमा निःशुल्क गरियो,’ भिएसओ नेपालका सुनीलकुमार साहले भने, ‘उपचारपछि घर फर्किने वेलामा अभियन्ता थापाले बाटो खर्चका लागि थप सात हजार रुपैयाँ पनि उपलब्ध गराए ।’ त्यसअघि १३ भदौमा काठमाडौं जाने वेलामा समग्र, मुक्ति नेपाल, हर्कोडेक, दलित जनकल्याण युवा क्लब, दलित महिला संघ, ओरेक नेपाल, अमेरिका बसिरहेकी सिरहाकी शर्मिला सिंहले तत्काल उपचारका लागि ६५ हजार रुपैयाँ संकलन गरेर घाइतेकी बाबुलाई दिएका थिए ।

यसरी भयो घटना
गत ४ साउनमा भारतको पन्जाबबाट आएका २९ वर्षीय पति दीपेन सदाले क्वारेन्टिन जान सुझाउँदा ५ साउनको बिहान ११ बजेतिर मट्टीतेल छर्किएर आगो लगाएका थिए । मट्टीतेल छर्किएको शरीरमा सलाई कोरेर आगो झोस्न खोजेपछि ज्यान जोगाउन चिच्याउँदै भागेकी वसन्तीलाई समातेर आगो झोसिएको आमा सोनावतीले बताइन् । पत्नी हत्याको प्रयास गर्ने दीपेन हाल कारागारमा छन् । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । 

See More On

सुझावित समाचार