कोरोना संक्रमितको उपचार गर्दै पाल्पाका स्थानीय सरकार

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

पाल्पामा हालसम्म शुक्रबारसम्ममा एक हजार तीन सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ जनाको मृत्यु भएको छ । संक्रमित हुनेमा गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष एक, वडाध्यक्ष तीन, वडा सदस्य पाँच र कार्यपालिका सदस्य एकजना पनि छन् । जोखिमका बाबजुद जिल्लाका जनप्रतिनिधिहरू नागरिकको उपचारमा निरन्तर खटेका छन् ।

कतिपय स्थानीय तहले त नागरिकको उपचारका लागि अस्पतालसँग सम्झौता नै गरेका छन् । तिनैमध्येको हो, रैनादेवी छहरा गाउँपालिका । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजसँग भएको सम्झौताअनुसार उक्त गाउँपालिकाले ४२ जना संक्रमितको उपचारमा १० लाख रुपैयाँ खर्च गरेको छ । तीमध्ये एकजनाको उपचारमा एक लाख २२ हजार रुपैयाँसम्म खर्च भएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्की बताउँछन् ।

‘नागरिकको स्वास्थ्यप्रति हामी संवेदनशील छौँ, अहिले पनि कोही कोरोना पजिटिभ भएर उपचार गर्न सकेको छैन भने हामी तयार छौँ,’ कार्की भन्छन् । सामान्य ज्वरो र झाडापखालाको समस्या देखिएका एक बिरामीलाई गाउँपालिकाले ७० हजार रुपैयाँ खर्चेर उपचार गरायो । उनको कोभिड–१९ रिपोर्ट नेगेटिभ आयो, तर गाउँपालिकाले सबै उपचार खर्च बेहोर्यो ।

रम्भा गाउँपालिकाले पनि लुम्बिनी मेडिकल कलेजमा २७ जनाको उपचारका लागि नौ लाख रुपैयाँ खर्च गर्यो । संक्रमित नागरिकको उपचारमा कुनै कसर नछाडिने गाउँपालिका अध्यक्ष विष्णु भण्डारी बताउँछन् । बगनासकाली गाउँपालिकाले ६ जना संक्रमितको उपचारका लागि लुम्बिनी मेडिकल कलेजमै दुई लाख ९० हजार रुपैयाँ खर्चेको छ । गाउँपालिका अध्यक्ष कृष्ण बस्यालका अनुसार युनाइटेड मिसन अस्पतालमा चारजनाको उपचारमा एक लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । यो गाउँपालिकाले कार्यपालिका सदस्यको सुविधाबाट कटाएर पालिका कोभिड कोषमा ५३ हजार रुपैयाँ जम्मा गरेको छ ।

यस्तै, तानसेन नगरपालिकाले दुई जनप्रतिनिधिको उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा ७७ हजार रुपैयाँ बुझाएको छ । यस्तै, १० नगरवासीको उपचारमा लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा दुई लाख ७४ हजार रुपैयाँ खर्च गरेको छ । नागरिकमध्ये अलि जटिल अवस्थामा पुगेका एकजनाको उपचारमा ७० हजार रुपैयाँ नगरपालिकाले खर्च गरेको सूचना अधिकारी दुर्गाबहादुर थापा बताउँछन् ।

पूर्वखोला गाउँपालिकाले आफ्ना १० जना नागरिकको उपचार गराएको छ । तीमध्ये सातजनाको उपचारमा खर्च भएको तीन लाख ३६ हजार रुपैयाँ लुम्बिनी मेडिकल कलेजमा भुक्तानी दिएको छ भने अन्य तीनजनाको बिल प्राप्त हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापा बताउँछन् । भन्छन्, ‘नागरिकको स्वास्थ्यप्रति हामी बफादार छौँ ।’

यस्तै, माथागढी गाउँपालिकाले पाँचजना संक्रमितको उपचारमा एक लाख ६२ हजार रुपैयाँ खर्च गरेको छ । जनताप्रतिको दायित्व पूरा गर्दै पालिकाले कोरोना नियन्त्रणमा काम गरिरहेको अध्यक्ष सन्तोष थापामगर बताउँछन् ।

तिनाउ गाउँपालिकाले तानसेन स्कुल अफ हेल्थ साइन्स र युनाइटेड मिसन अस्पतालमा गरी एक लाख ४७ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकमबाट १२ जनाले उपचार पाएका छन् । जनताले स्वास्थ्य सेवा प्राप्त गरेको अनुभूति हुने गरी काम गरिरहेको अध्यक्ष ओमबहादुर घर्तीको दाबी छ ।

रिब्दिकोट गाउँपालिकाले पनि १३ जनाको उपचारका लागि एक लाख ३० हजार रुपैयाँ खर्चेको छ । स्थानीयस्तरमा निर्मित आइसोलेसनमा सुविधा कम र जटिल स्वास्थ्य समस्या देखिएमा चुनौतीपूर्ण हुने भएकाले सबै शुल्क तिर्ने गरी संक्रमितहरूलाई अस्पतालमै पठाउने गरिएको गाउँपालिका अध्यक्ष नारायण जिसी बताउँछन् । स्थानीयस्तरमा कोरोना नियन्त्रणमा गरेको खर्चबाहेक नागरिकको उपचारमा जिल्लाका स्थानीय तहले अस्पतालमा ३३ लाख ९६ हजार ६ सय ७२ रुपैयाँ भुक्तानी दिइसकेका छन् । यस्तै, जनप्रतिनिधिले आफ्नो उपचारमा ७७ हजार रुपैयाँ खर्चेका छन् ।

See More On

सुझावित समाचार