बंगलादेशबाट ५० हजार टन युरिया खरिद गरेर ल्याउने मन्त्रिपरिषद्को निर्णयपछि दुवै देशका सरकारी अधिकारी मल खरिद–बिक्री प्रक्रिया अघि बढाउन क्रियाशील भएका छन् । सम्पूर्ण कागजी प्रक्रिया पूरा गरी ढुवानी गर्दा बंगलादेशबाट महिना दिनभित्र युरिया नेपाल भित्रिन सुरु गर्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार बुधबार परराष्ट्र मन्त्रालय हुँदै बंगलादेशलाई ५० हजार टन युरिया खरिदका लागि औपचारिक पत्राचार पठाइनेछ । ‘हामीले जिटुजी माध्यमबाट ५० हजार टन युरिया खरिद गर्न चाहेको विषय औपचारिक रूपमा पठाएपछि बंगलादेशको मन्त्रिपरिषद्ले पनि निर्णय गर्नुपर्छ,’ भण्डारीले भने, ‘त्यसपछि दुवै देशका सरकारी कर्मचारीलाई प्रक्रिया अघि बढाउन सहज हुन्छ ।’
बंगलादेशी अधिकारीसँग मल खरिदका लागि प्रक्रिया अघि बढाउन त्यहाँस्थित नेपाली राजदूत वंशीधर मिश्रलाई जिम्मेवारी दिइएको छ । उनले मल खरिदको प्रक्रिया चाँडो अगाडि बढाउन दूतावासमा एक विशेष टोली नै बनाइसकेको जानकारी दिएका छन् । बंगलादेशी मन्त्रिपरिषद्बाट नेपाललाई मल बिक्री निर्णय भएपछि त्यहाँको मल आपूर्ति तथा वितरण हेर्ने निकाय बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसन (सिसिआइसी) सक्रिय हुनेछ । उसले नेपाललाई बिक्री गर्ने मलको बिक्रीदर उत्पादक कम्पनी कर्नाफुली फर्टिलाइजर कम्पनी लिमिटेड (काफ्को)सँग माग्नेछ । सोही मूल्य नेपाल पठाउनेछ ।
काफ्कोले नेपाललाई बिक्री गर्ने मलको मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा सस्तो हुनेछ । बंगलादेशस्थित नेपाली राजदूत मिश्रका अनुसार बंगलादेशले वार्षिक १५ लाख टन युरिया आफैँ उत्पादन गर्छ । अपुग १० लाख टन कतार, चीन, साउदी अरब र ओमानबाट जिटुजी माध्यमबाट खरिद गर्ने गरेको छ । यी चार देशबाट खरिद गरेको मूल्यको औसत दर निकालेर नेपालका लागि बिक्री मूल्य तय गर्नेछ । यस्तो मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा प्रतिटन ७ देखि १० डलरसम्म सस्तो हुने आकलन गरिएको छ ।
बंगलादेशबाट युरिया खरिदको दररेट आएपछि दुवै देशका मल आपूर्तिकर्ता कम्पनी (नेपालको तर्फबाट कृषि सामग्री कम्पनी र बंगलादेशको तर्फबाट बिसिआइसी)बीच सम्झौता हुनेछ । सो सम्झौतालगत्तै नेपालले मल ढुवानी प्रक्रिया सुरु गर्नेछ । मल ढुवानीका लागि कृषि सामग्री कम्पनीले बोलपत्रमार्फत जेनट्रेड कम्पनी छनोट गरेको छ । युरिया आयातको सम्झौता भएपछि कृषि सामग्रीले जेनटे«डलाई प्रतीतपत्र खोल्न अनुमति दिनेछ ।
ढुवानीकर्ता जेनट्रेडले प्रतीतपत्र खोलेर बंगलादेशको चिटगाउँ पोर्टबाट मल ल्याउन सुरु गर्ने कृषि सामग्री कम्पनीले जनाएको छ । यो सबै प्रक्रिया आउँदो एक सातादेखि १० दिनभित्र सकाउने लक्ष्य राखिएको कृषि सामग्रीका प्रबन्ध सञ्चालक भण्डारीले बताए । ‘कागजी प्रक्रिया सकेसम्म हप्ता दिनभित्रै सकाएर ढुवानी सुरु गरिहाल्ने मनस्थितिमा छौँ,’ उनले भने ।
बंगलादेशको चिटगाउँ पोर्टसम्म बंगलादेशले नै ढुवानी गरिदिने सर्त छ । त्यहाँबाट नेपाली ढुवानीकर्ताले ल्याउनेछन् । प्रतिटन ८२.२४ डलरका दरले बंगलादेशबाट मल ढुवानी गर्ने गरी जेनट्रेड छनोट भइसकेको छ ।
गहुँ बालीलाई दिन युरिया आइपुग्ने
अहिले बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन युरिया धान बालीमा लगाउन किसानले असार–साउनमा चर्को अभाव खेपेपछि प्रक्रिया थालिएको थियो । सुरुमा पैँचोमा ल्याउन खोजिएको मल पछि किनेरै ल्याउने निर्णय गर्दा दुई महिना अलमल भएको हो । सोमबार र मंगलबार साँझको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयपछि आउन लागेको युरिया गहुँ बालीका लागि उपलब्ध हुने कृषि सामग्रीको दाबी छ ।
‘गहुँ लगाउने किसानलाई पर्याप्त युरिया दिने गरी आपूर्ति गर्नेछौँ,’ भण्डारीले भने । यद्यपि, पश्चिम तराईका किसानले गहुँ लगाउन सुरु गरिसकेका छन् । गहुँ लगाउनुअघि माटोमा थोरै युरिया र धेरै डिएपी मिसाएर छर्ने प्रचलन छ । अहिले गहुँका लागि प्रयोग गर्ने युरियाको किसानले चरम अभाव खेपिरहेका छन् । पूर्वी तराईमा भने धान कटान सुरु भएको र गहुँ रोप्ने समय आउन लागेकाले बंगलादेशबाट महिना दिनभित्र युरिया आए सो क्षेत्रका किसान लाभान्वित हुनेछन् ।