हारे पनि ट्रम्पको प्रभाव कमजोर हुनेछैन

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

ट्रम्प पछिल्लो २८ वर्षमा पुनः निर्वाचित हुन नसक्ने पहिलो अमेरिकी राष्ट्रपति भएका छन् । तर, हारून् वा जितून् उनी चुपचाप बाहिरिनेछैनन् । मतपरिणाम चलिरहँदा ट्रम्पले विनाआधार चुनावको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास गरे । यसबाट पनि हारेको अवस्थामा उनी चुपचाप नपन्छिने देखिन्छ । ट्रम्पसँग सत्ता हस्तान्तरणका लागि ७० दिनभन्दा बढी छ । यस अवधिमा उनले विगतमा आफ्नो निर्देशन पालना गर्न आनाकानी गरेका वरिष्ठ अधिकारीलाई बर्खास्त गर्न सक्नेछन् । हारेको झोकमा उनले विगतमा आफूलाई नसघाउने कैयौँ वरिष्ठ अधिकारीलाई पाखा लगाउन सक्नेछन् । 

यदि ट्रम्पलाई ह्वाइट हाउसबाट हट्न बाध्य बनाइयो भने उनी अमेरिकी जीवनमा थप शक्तिशाली र विभाजनकारी शक्ति रहनेछन् । अहिलेको चुनावमा ट्रम्पले ६ करोड ८० लाखभन्दा बढी मत पाएका छन् । यो उनले सन् २०१६ मा पाएको मतभन्दा पचास लाख बढी हो । उनले कुल खसेको मतमध्ये झन्डै ४८ प्रतिशत मत पाएका छन् । चार वर्षको विवादित कार्यकाल, महाभियोग, कोरोना भाइरसविरुद्ध कमजोर प्रदर्शनका बाबजुद अमेरिकाको झन्डै आधा जनसंख्याले ट्रम्पलाई समर्थन गरे । ट्रम्पले एक कार्यकाल मात्र शासन गरेका जिम्मी कार्टर तथा जर्ज बुसको भन्दा खेल्ने ठूलो आधार पाउनेछन् । 

ट्रम्पले पहिलेदेखि फक्स न्युजसँग प्रतिस्पर्धा गर्न सक्ने टेलिभिजन सञ्जाल सुरु गर्ने सोचिरहेका थिए । पछिल्लो समय ट्रम्पले आफ्नो भित्री वृत्तमा सन् २०२४ मा पुनः चुनाव उठ्नेबारे सल्लाह गरेको बताइन्छ । त्यस समय उनी ७८ वर्षका हुनेछन् । तर, उनी आफैँ उमेदवार नभए पनि उनको ट्विटरमा रहेको झन्डै नौ करोड फलोअर्सका कारण रुढिवादी मतदातामाथि बलियो प्रभाव पार्न सक्नेछन् । यसबाट उनी भावी दिनमा रिपब्लिकन पार्टीको किंगमेकर बन्न सक्छन् । नयाँ पुस्ताको रिपब्लिकन नेता अगाडि नआएसम्म ट्रम्पले आफूलाई पार्टी वैधानिक नेताको रूपमा प्रस्तुत गर्न सक्छन् । 

रिपब्लिकन पार्टीभित्र ट्रम्पप्रति बलियो समर्थन छ । मतसर्वेक्षणअनुसार रिपब्लिकन मतदातामाझ ९३ प्रतिशतले उनलाई मन पराए । नश्लवादी टिप्पणीका बाबजुद अश्वेत तथा हिस्प्यानिक समुदायमाझ पनि उनको समर्थन बढेको यस निर्वाचनमा देखियो । यस कारण सन् २०२४ को निर्वाचनमा उनको ठूलो प्रभाव हुने निश्चित छ । तर, सबै रिपब्लिकन नेता ट्रम्पको प्रभाव कायम रहनेमा सहमत देखिँदैनन् ।

अमेरिकामा एक कार्यकाल राष्ट्रपति भएर पुनः निर्वाचित हुन नसकेका नेताको विगत सुनौलो छैन । उनीहरू कसैले पनि लामो समयसम्म राजनीतिक प्रभाव राख्न सकेको देखिएन । बिस्तारै ती राजनीतिक रूपमा छायामा परे । एक कार्यकाल शासन गरेर हारेपछि पनि राष्ट्रपतिमा उठ्ने व्यक्ति हर्बट हुवर थिए । उनले सन् १९३२ मा फ्राङ्लिन डी रुजबेल्टसँग हारेपछि पुनः आफूलाई शक्तिमा ल्याउने प्रयास गरेका थिए । राजनीतिक रूपमा उनको बलियो प्रभाव भए पनि उनी राष्ट्रपतीय प्रतिस्पर्धामा सफल हुन सकेनन् । 

जित, जित र जितमा मात्र ध्यान दिने ट्रम्पका लागि हरुवाको ट्याग असह्य हुनेछ । चुनावको दिन उनले पार्टी चुनाव कार्यालयमा गएर भनेका कुराले पनि यही संकेत गर्छ । ‘जित सहज हुन्छ । तर, हार कहिल्यै पनि सहज हुँदैन । मेरो लागि त झन् हुँदैन,’ ट्रम्पले भनेका थिए । बुधबार चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि उनले आफ्ना समर्थकलाई चुनावमा धाँधली भएको भन्न थाले । उनको यो भनाइमा कुनै आधार देखिँदैन । तर, उनलाई यसमा मतलब छैन । उनी आफूलाई मतदाताले चाहँदा–चाहँदै पनि अदृश्य शक्तिबाट सहिद भएको पात्रका रूपमा देखाउने प्रयास गर्दै छन् । 

ह्वाइट हाउसबाहिरबाट पनि ट्रम्पले अमेरिकी राजनीतिलाई प्रभावित बनाइरहनेछन् ।

व्यावसायिक तथा व्यक्तिगत जीवनमा ट्रम्पका धाँधलीका कैयौँ किस्सा सार्वजनिक भएका छन् । उनी निकटका व्यक्तिले लेखेर यी कुरा सार्वजनिक भए । यीलगायत विभिन्न औद्यौगिक असफलताको बाबजुद उनी अघि बढिरहे । घरबार कारोबारदेखि रियालिटी टिभी सोमार्फत ट्रम्पले निरन्तर तीस वर्षसम्म अमेरिकी पप कल्चरमा आफ्नो छाप पारे । 

उनी विभिन्न फिल्म, टिभी सोमा पाहुना कलाकारका रूपमा देखिएका छन् । त्यस्तै उनका पुस्तक पनि लोकप्रिय रहे । करोडौँ मानिसका सम्पन्नताका लागि प्रेरणा पनि हुन् । उनी चर्चित टेलिभिजन सो ‘द अप्रेन्टिस’मा १४ सिजनसम्म स्टार रहे । यही टिभी कार्यक्रमले उनको परिचय थप विस्तार ग¥यो र यसले राजनीतिक करिअरको बाटोसमेत बनाइदियो । जब उनले राजनीतिक कदम चाले, तब उनका वरिपरि झ्याम्मिएका समर्थकको भिडले उनी कति प्रभावशाली भइसकेका रहेछन् भन्ने देखायो । 

पुनः निर्वाचित हुने सम्भावना क्षीण हुँदै गएको देखिरहँदा पनि ट्रम्पले महिनौँदेखि आफ्ना सल्लाहकारलाई आफूले यसपटक हारे पुनः २०२४ मा उठ्ने बताएका थिए, कहिले ठट्यौली रूपमा, कहिले गम्भीर रूपमा । सन् २०१६ मा राष्ट्रपतीय चुनाव हार्ने सम्भावनाबीच ट्रम्प र उनका परिवारका केही सदस्यले एउटा मिडिया सुरु गर्नेबारे छलफल गरेका थिए । त्यसको सञ्जालको नाम पनि सोचिसकिएको थियो, ‘ट्रम्प टिभी’ भनेर ।

ट्रम्प परिवारसँग परिचित केही मानिसका अनुसार यसबारे अहिले पनि बहस चल्छ । ट्रम्पको चुनावी मतगणक टोनी फ्याब्रिजियो ट्रम्पबारे आफ्नो विश्लेषण सुनाउँछन्, ‘ट्रम्प आधुनिक अमेरिकी इतिहासको सबैभन्दा विभाजनकारी राजनीतिक व्यक्तित्व भएकोमा कुनै प्रश्न छैन । उनका समर्थक उनको प्रशंसा गर्छन् र आलोचक घृणा । डोनाल्ड ट्रम्पबारे बीचको विचार लिने भेटिँदैनन् ।’

पिटर बेकर तथा म्यागी हेबरम्यान न्युयोर्क टाइम्सका राजनीतिक रिपोर्टर हुन् । 
 

सुझावित समाचार