आन्तरिक पर्यटकको आगमन बढेसँगै लयमा फर्कन खोज्दै फेवाताल

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरूको चहलपहल पनि बढेको छ । 

गत २ असोजबाट सञ्चालनको अनुमति पाए पनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरूको चहलपहल बढिरहेको हो । 

सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरू तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सयभन्दा बढी पर्यटकहरू रमाउने गरेका छन् । 

सामान्य अवस्थाको भन्दा अहिले फेवाताल आउने पर्यटकको संख्या कम भए पनि लकडाउनपछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक हुन थालेको डुंगा चालकहरू बताउँछन् । 

अहिले देशभरका मठमन्दिरजस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ । यद्यपि, डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरूको चहलपहल भने बढ्दो छ । 

विगत वर्षहरूमा दैनिक आठ सयभन्दा बढी आन्तरिक पर्यटकहरू घुम्न पुग्ने फेवातालमा अहिले दुई सय हाराहारीमा पर्यटन आउने गरेका छन् । 

अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा सञ्चालनमा छन् । विगतका वर्षहरू जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरू एकजुट भएका छन् । 

नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरूको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताए । 

फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगाचालकहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ । 

सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ । साथै तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ । 

प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानिटाइजर गरेर पुनः प्रयोगमा ल्याइने गरेको छ । 

डुंगामा भौतिक दूरी कायम पनि गर्ने गरिएको छ ।

सुझावित समाचार