जाडो मौसमको सुरुवातसँगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ ।
कुलेखानी प्रथम आयोजनाबाट साबिक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिएको छ ।
कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौं, पोखरा, विराटनगर, नेपालगन्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले बताए ।
नेपाल विद्युत् प्राधिकरण काठमाडौंले विभिन्न सहरमा विद्युत्को आपूर्ति कम हुन गएमा कुलेखानी आयोजनाको उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको उनको भनाइ छ ।
यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित इन्द्रसरोवर जलाशयमा अहिले पानीको सतह भरिन करिब साढे पाँच मिटर उचाइ बाँकी रहेको कुलेखानी प्रथम आयोजनाका नियन्त्रण कक्षका प्रमुख रामकुमार चौधरीले जानकारी दिए ।