हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरू फर्काउन थालिएको छ ।
जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्टविना नाकामा पुगेका दर्जनौँ पर्यटकहरू फर्काइएको हो ।
नाकामा प्रहरीले कडाइ गरेपछि नाकामा पुगेका आन्तरिक पर्यटकहरू गन्तव्यमै पुग्न नपाएर घर फर्किने गरेका छन् ।
हालसम्म खदाङ नाकाबाट मात्रै २५ जना आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासनले जनाएको छ ।
जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि नाकामा पुगेका कतिपय पर्यटक कोरोना परीक्षण रिपोर्टविना नै आउने गरेकाले त्यस्तालाई पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाइएको इलाका प्रहरी चौकी करोपगाडले जानकारी दिएको छ ।
नेपालका प्रायः जिल्लामा कोराना संक्रमण भए पनि सबैको प्रयासले डोल्पालाई अझैसम्म पनि सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
‘जिल्लाका सीमावर्ती नाकामा कडाइ गरेका छौँ, कोरोना परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ, जिल्लाका नागरिकलाई कोरोना परीक्षण रिपोर्टसहित होम क्वारेन्टिनमा बस्ने सर्तमा मात्रै प्रवेश गर्न दिएका छौँ,’ प्रजिअ सुनारले भने ।
‘विभिन्न जिल्लाबाट डोल्पा घुम्नका लागि आएका पर्यटकका लागि ७२ घन्टाअघिको कोरोना परीक्षण रिपोर्टसहित आफ्नै खर्चमा क्वारेन्टिनमा बस्ने सर्तमा जिल्ला प्रवेश गर्न दिन सकिन्छ, सकभर कोरोना कहरमा आफू पनि सुरक्षित हुने र अरूलाई पनि सुरक्षित राख्नुपर्ने भएकाले डोल्पा नआउन आग्रह गर्दछौँ,’ सुनारले भने ।
सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ सुनारको भनाइ छ ।
गत असोज पहिले साता नै जिल्लामा सरोकारवालाहरूको उपस्थितिमा जिल्ला प्रवेशमा रोक लगाउने निर्णयसहित पटक–पटक सूचना प्रकाशन गरे पनि धमाधम पर्यटक भने आइरहेका छन् ।
नाकाबाट आफ्ना छोड्नका लागि भन्दै सांसद, मन्त्री तथा उच्चपदस्थ व्यक्तिहरूको समेत फोन आउने गरे तापनि प्रक्रिया नपुऱ्याएका सबैलाई फर्काउने गरिएको प्रजिअ सुनारले बताए ।
पछिल्लो समयमा नक्कली कोरोना परीक्षण रिपोर्ट ल्याएर डोल्पा पुगेका पाइएकाले ताजा रिपोर्ट माग्नुका साथै र स्वाब दिँदाखेरि काटेको रसिद हेर्ने र अस्पतालमा फोनसमेत गर्ने गरिएको प्रशासनले जनाएको छ ।
जिल्लाका फोक्सुन्डाे ताल, फोक्सुन्डाे झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पालगायतका ठाउँको अवलोकनका लागि काठमाडाैं, पोखरा, झापालगायतका ठाउँबाट पर्यटकहरू आउने गरेका छन् ।