यो वर्षको तिहारका लागि १५ लाख माला बनाउने तयारीमा पुष्प व्यवसायी छन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आचारसंहिता र विभिन्न निर्देशनका कारण यसपटक तिहारमा भाइटीका लगाउनेको संख्या घट्ने आकलन गरी विगतका वर्षभन्दा कम माला बनाउन लागेको पुष्प व्यवसायीको संगठनका फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गत वर्ष तिहारमा २० लाखभन्दा बढी संख्यामा माला बिक्री भएको थियो । ‘यसपटक स्थिति असामान्य छ । टाढा–टाढा घर भएका दिदीभाइ टीका लगाउनकै लागि जाने–आउने सम्भावना कम देखिन्छ । त्यसैले मालाको माग नै घट्ने अनुमानका आधारमा यो वर्ष १५ लाखको संख्यामा आपूर्ति गर्ने गरी अहिलेबाटै तयारी सुरु भएको छ’ अध्यक्ष श्रेष्ठले भने ।
तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको माला अत्यधिक प्रचलनमा छ । यसमध्ये सयपत्री सबैभन्दा बढी अर्थात् ८० प्रतिशतसम्म प्रयोग हुने गरेको छ । व्यवसायीका अनुसार यो वर्ष १२ लाख सयपत्री र ३ लाख मखमली फूलको माला बजार पठाउने तयारी भएको छ । गोदावरी भने सयपत्री र मखमलीलगायत अन्य फूलसँग मिसाएर माला बनाउन प्रयोग हुने गरेको छ । गोदावरी मिसिएको माला तुलनात्मक रूपमा महँगो हुने गर्छ ।
माग कम हुने भएकाले मूल्यमा धेरै उतारचढाव नआउने व्यवसायीको दाबी छ । सयपत्री र मखमली फूलको सामान्य माला ६०–७० रुपैयाँ प्रतिगोटामा उपलब्ध हुने व्यवसायी बताउँछन् । यो वर्ष अनलाइन अर्डरमार्फत घर–घरमा माला र फूलसमेत पुर्याउन सुरु गरिसकेका छन् । विभिन्न नर्सरीले सामाजिक सञ्जालमार्फत अनलाइन डेलिभरीलाई प्रवद्र्धन गरिरहेका छन् । विगतका वर्षमा तिहारअघि एसोसिएसनले फूलको मेला आयोजना गर्दै आएको थियो । यसपटक भिडभाड नगर्न सरकारले निर्देशन दिएका कारण मेलासमेत स्थगित भएको छ । मेलाले फूलको व्यापार बढाउन मद्दत गर्दै आएको एसोसिएसनको भनाइ छ ।
भारतबाट आयात गर्न नपर्ने
दशकअघि तिहारमा ८० प्रतिशतसम्म फूल र माला आयात हुने गरेको थियो । तर, व्यवसायी र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहकार्यमा ५ वर्ष सयपत्री फूलमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसबाट सयपत्री उत्पादनमा ठूलो सहयोग मिलेर मुलुक करिब आत्मनिर्भर अवस्थामा पुगेको अध्यक्ष श्रेष्ठले बताए । ‘यसपटक तिहारमा भारतबाट सयपत्री फूल र माला आयातमा प्रतिबन्ध नै लगाइदिए हुन्छ । यहाँको मागअनुसार आपूर्ति गर्न हामी सक्षम छौँ,’ उनले भने । विगतका वर्षमा भारतबाट २० प्रतिशतसम्म सयपत्री आयात हुने गरेको थियो ।
सहरी क्षेत्रमा भाइटीकाको दिन मखमली मालाको प्रयोग बढ्दै गर्दा सयपत्रीको माग केही घट्न थोलेको छ । जसकारण पनि सयपत्रीमा आत्मनिर्भर हुन मद्दत मिलेको व्यवसायीको भनाइ छ । मालाका लागि मात्र प्रयोग गर्न मिल्ने मखमलीको खेती भक्तपुर र ललितपुरमा अत्यधिक हुने गरेको छ । काठमाडौंको काँठ क्षेत्रमा सानो आकारमा हुने गर्छ । ‘ललितपुर र भक्तपुका किसानले पहिले मकै र कोदोबारीको डिलवरिपरि मखमली लगाउने गर्थे । त्यसैलाई टिपेर माला बनाई बजार पठाउँथे,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अहिले मखमलीको पनि व्यावसायीक खेती हुन थालेको छ । किसान तथा व्यवसायीले सयपत्री र मखमली सँगै रोप्ने गरेका छन् ।’
मखमली मालाको मुख्य बजार काठमाडौं नै हो । त्यसपछि विदेशमा यसको धेरै माग हुने गरेको छ । गत वर्ष २ लाख मखमलीको माला विदेश निर्यात भएको एसोसिएसनको तथ्यांक छ । यो वर्ष छिटफुट रूपमा मात्र मखमलीको माला निर्यात हुनेछ । पछिल्लो समय काठमाडौंबाहिर कैलाली, पाल्पा र इलाममा पनि मखमली मालाको उत्पादन सुरु भएको छ ।
पूजा र मालाका लािग प्रयोग हुने सयपत्रीमा मुलुक करिब ९० प्रतिशतसम्म आत्मनिर्भर भइसकेको छ । यसपटक ग्रामीण क्षेत्रका किसानले लगाएको सयपत्री कात्तिक पहिलो सातादेखि नै फुल्न थालेका कारण तिहारसम्म ओइलाइसक्ने चिन्ता थपिएको छ । यद्यपि, सयपत्रीको व्यावसायिक उत्पादन गर्ने किसानको संख्या धेरै रहेकाले तिहारलाई मागअनुसार आपूर्ति गर्न सक्ने एसोसिएसनको धारणा छ ।
‘सयपत्रीको बिरुवा रोपेपछि गर्मीमा ४५ दिनमा र जाडोमा ६० दिनमा फुल्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तिहारको क्यालेन्डर हेरेर व्यावसायिक रूपमा धेरै किसानले सयपत्री उत्पादन गरेका छन् । त्यसैले ग्रामीण क्षेत्रको उत्पादन बजार आएन भने पनि मागअनुसार आपूर्ति गर्न गाह्रो हुँदैन ।’ काठमाडौंको बजारका लागि काभ्रेबाट ठूलो मात्रामा सयपत्रीको फूल र माला आउने गर्छ ।
त्यस्तै सिन्धुली, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतमा पनि व्यावसायिक सयपत्रीको उत्पादन बढेको छ । अहिले तराईका अधिकांश जिल्लामा सानो ठूलो संख्यामा सयपत्रीको व्यावसायिक उत्पादन भइरहेको छ । प्रदेश ५ मा स्थानीय तहकै प्रत्यक्ष संलग्नतामा पाल्पामा सयपत्रीको व्यावसायिक खेती सुरु भएको छ ।