राष्ट्रिय वाणिज्य बैंकद्वारा कम्प्युटर हस्तान्तरण

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखा कार्यालयले संखुवासभा र भोजपुरका सामुदायिक विद्यालयलाई २० थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले सामुदायिक विद्यालयहरूलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । जिसस प्रमुख शाक्यले कम्प्युटर प्राप्त गरेपछि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने उल्लेख गर्दै सही ढंगले सदुपयोग गर्न आग्रह गरे । 

राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्सेनि विभिन्न शीर्षकमा सहयोग गर्ने गर्छ । यसैअनुसार यो वर्ष संखुवासभा र भोजपुरका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकको खाँदबारी शाखाका प्रबन्धक अनिश रायमाझीले बताए ।

उनका अनुसार दुर्गम भेगका साधन र स्रोत कम भएका सामुदायिक विद्यालयहरूले पेस गरेको प्रस्तावका आधारमा छनोट गरी कम्प्युटर उपलब्ध गराइएको हो । बैंकले खाँदबारी नगरपालिका–६ को १ र भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ को १ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालय गरी ५ वटा विद्यालयले कम्प्युटर प्राप्त गरेको जनाएको छ । एउटा विद्यालयले कम्तीमा २ देखि बढीमा ४ वटा कम्प्युटर प्राप्त गरेको बैंकका शाखा प्रबन्धक रायमाझीको भनाइ छ ।

सुझावित समाचार