बजार पर्ख र हेरको अवस्थामा

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

प्राविधिक पक्षहरूले प्रतिरोध देखाइरहँदा बोनससहितको लाभांश र सकारात्मक वित्तीय विवरणको प्रभाव देखिँदै

यस साता दुई दिन खुलेको बजारमा नेप्से सातागत आधारमा ४० अंकले बढेको छ । साताको पहिलो कारोबार दिन (बुधबार) नै ४१ अंकले बढेको नेप्सेले तीन वर्षयताकै उच्च बिन्दु भेटेको हो । साताको अन्तिम दिन बजार बन्द हुँदा नेप्से १ हजार ६ सय ४५ मा आएको छ । दुई दिनमा बजारमा ५ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

धितोपत्रहरूको बजारभाउ बढ्दा लगानीकर्ताको २१ खर्ब ९८ अर्ब रुपैयाँबराबर सम्पत्तिको मूल्य पुगेको छ । वाणिज्य बैंकहरूले लाभांशमा बोनसको हिस्सा बढाइरहेकाले समेत बजारले नयाँ उचाइ भेटिरहेको छ । हालै स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि दुई वर्षपछि बोनससमेत दिने गरेर लाभांश घोषणा गरेको छ । यसअघिका दुई वर्ष बैंकले नगद लाभांश मात्रै दिँदै आएको थियो । बैंकले ७ प्रतिशत बोनस र ४ दशमलव ८४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । 

वाणिज्य बैंकमध्ये सिटिजन्स बैंकले चालू आवको पहिलो त्रैमासिकको उत्साहजनक वित्तीय विवरण प्रकाशित गरेपछि पनि लगानीकर्ता आशावादी बनेका छन् । सिटिजन्सको गत आवको यही अवधिको तुलनामा ५० प्रतिशतले नाफा बढेर ५२ लाख ५९ करोड रुपैयाँ पुगेको छ । 

बजार बढेपछि यसको लाभ सामूहिक लगानी कोषहरूले समेत पाएका छन् । शुक्रबारसम्म एनआइसी एसिया ब्यालेन्स फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड, सानिमा इक्विटी फन्ड, एनआइबिएल प्रगति फन्ड, सनराइज फस्ट म्युचुअल फन्ड, नबिल इक्विटी फन्ड र लक्ष्मी इक्विटी फन्डले प्रतिइकाइ खुद मूल्यसहितको विवरण प्रकाशित गरेका छन् । अधिकांशको प्रतिइकाइ खुद मूल्य सीमान्त दरमा बढेको छ भने केहीको स्थिर छ । 

नेप्सेलाई तत्काल १ हजार ६ सय ६५ को प्रतिरोध सामना गर्नुपर्ने देखिएको छ । यसअघि २५ साउन ०७४ मा नेप्सेले यही बिन्दुमा प्रतिरोध पाएर घटेको थियो । यो बिन्दु पार गरेमा भने १ हजार ७ सय ९ मा अर्को प्रतिरोध सामना गर्नेछ । ३० चैत ०७३ मा यो बिन्दुमा प्रतिरोधपछि नेप्से १ हजार ५ सय ५१ सम्म आइपुगेको थियो । बिहीबार पनि नेप्से यही तहमा प्रतिरोध पाएर सीमान्त दरमा घटेको थियो ।  

नेप्सेको मैनबत्ती चित्र विश्लेषणले आगामी पहिलो कारोबार दिनमा बजार घट्न सक्ने संकेत गरिरहेको छ । बुधबार बनेको लामो सेतो (हरियो) मैनबत्तीपछि बिहीबार कालो (रातो) मैनबत्ती बनेको छ । यसले बजार घट्ने संकेत गरिरहेको छ । 

केही समयदेखि नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा सँगसँगै गइरहेकामा हालै मात्र यी दुई रेखाबीच दूरी बढेको छ । अहिले पनि ७ दिने रेखा २१ दिने रेखाभन्दा सामान्य माथि छ । यसले बुलिस प्रवृत्ति बाँकी नै रहेको संकेत भने गरिरहेको छ । 

नेप्से आरएसआई सूचकको स्केल ६७ दशमलव ९८ मा आइपुगेको छ । यो स्केल ७० माथि लागेमा भने बजार अधिक खरिद क्षेत्रमा प्रवेश गरेको मान्न सकिनेछ । यो सूचक ३० देखि ७० बीचमा रहेमा खरिद–बिक्री चाप सन्तुलित रहेको र ३० मुनि पुगे अधिक बिक्री बढेको मानिन्छ । यो स्केलमा रहेको क्षेत्रमा पनि रेखा कसरी बढ्ने–घट्ने भइरहेको छ, ध्यान दिनुपर्छ । अहिले बजार अधिक खरिदको क्षेत्रमा प्रवेश गर्न लागेको जस्तो देखिन्छ ।
 

See More On

सुझावित समाचार