नेपाल स्टक ब्रोकर्स एसोसिएसनले आफ्ना सबै सेयर कारोबार गर्ने सदस्यलाई भौतिक उपस्थितिविना अर्थात् अनलाइन प्रणालीबाट मात्र सेयर कारोबार गर्न भनेको छ ।
एसोसिएसनले कोरोनाको प्रकोप उच्च भएकाले स्टक ब्रोकर कार्यालयहरूमा लगानीकर्ताहरू भौतिक रूपमा जम्मा हुँदा संक्रमणको खतरा निकै बढ्ने भएकाले अनलाइनबाट मात्र कारोबारको व्यवस्था मिलाउन भनेको जनाएको छ ।
ब्रोकर कार्यालयमा लगानीकर्ताहरूको भिड बढ्दा कार्यालयका कर्मचारीमा पनि संक्रमण बढ्ने र लगानीकर्तामा पनि उच्च जोखिम हुने भएकाले यसरी भौतिक रूपमा उपस्थित भएर हुने सेयर कारोबार बन्द नै गर्नुपरेकाे एसोसिएसनको भनाइ छ ।
एसोसिएसनले केही ब्रोकर कार्यालयका कर्मचारीमा कोरोना देखिएकाले र आगामी दिनमा थप फैलिन नदिन यसो गर्नुपरेको स्पष्ट पारेको छ ।
एसोसिएसनले भनेको छ, ‘हाल भौतिक उपस्थितिविना नै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विद्युतीय माध्यमबाट मात्र गर्न–गराउनुहुन संघ हार्दिक आग्रह गर्दछ ।’