निर्धक्क दशगजामा फालिन्छ भारतको फोहोर

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

नेपाल-भारत सिमानाको दशगजा क्षेत्रमा भारतले वर्षौँदेखि नेपालतर्फ फोहोर फाल्दै आएको छ । 

मोरङको विराटनगर महानगरपालिका- १६ र भारतको अररिया जिल्लाको जोगबनी नगर सिमानामा रहेको दशगजा क्षेत्रमा भारतले वर्षौँदेखि नेपालतर्फ फोहोर फाल्दै आएको हो । 

जोगबनी बजार र आवतजावत गर्ने रेलमा उत्पादन भएकाे दैनिक सयौँ टन फोहोर भारतले निर्धक्क कसैलाई नसोधी आधा किलोमिटर दशगजा क्षेत्रमा वर्षौँदेखि निर्धक्क दैनिक फोहोर फ्याँकिरहेको छ । 

दैनिक फालिने सयौँ टन फोहोरले नेपालतर्फको बस्ती प्रभावित भएको छ । फोहोरले गर्मीमा हैजा फैलने समस्या हुने गरेको छ ।  

सीमा क्षेत्रमा भारतले दशगजा मिचेर आफ्नोतर्फ सडकको बहानामा अग्लो बाँध बनाएको छ । त्यही बाँध मुन्तिर दशगजा क्षेत्रमा ठेला, रिक्सा र ट्याक्टरमा फोहोर फालिदिन्छन् । मरेका सिनोसमेत त्यही क्षेत्रमा फाल्ने हुनाले दुर्गन्ध सहन नसकेर नेपालीले नै पैसा तिरेर सिनो अन्यत्रै फ्याँक्ने लगाउने गरेका छन् ।  

विराटनगर– १६ जुटमिल दक्षिण गेटमा बसोवास गर्दै आएका मोहम्मद मुक्तार हुसैनले भने,  ‘हामीले पटक–पटक दशगजा क्षेत्रमा यसरी फोहोर नफाल्न भारतको जोगबनी नगरपञ्चायतलाई आग्रह गऱ्याैँ, तर उनीहरूले हामीलाई हेपेर वास्तै गरेका छैनन् ।’ 

उनका अनुसार सुरक्षाकर्मीले पनि दशगजामा फोहोर नफाल्न पटक–पटक आग्रह गरेको छ । तर, उनीहरूले निरन्तर फोहोर फालिरहेका छन् । 

फोहोर फयाँक्ने दशगजा क्षेत्रमा नेपालतर्फ विराटनगर जुटमिल एरियामा बसोवास गर्ने बाक्लो बस्ती छ । तर, भारतको जोगबनीतर्फ भने नजिकै बस्ती छैन । यसैले भारतीयहरूले ‘मरे पनि नेपालीहरू मरुन्’ भनेर हदैसम्म हेपेर फोहोर फालिरहेको स्थानीय बताउँछन । 

स्थानीयका अनुसार हाल लकडाउनले गर्दा भारतीय बजारमा चहलपहल कम भएकोले फोहोर कम भएको छ । तर, नाका खुला भएपछि फोहोरको रास पहाडजस्तै बन्छ।

मोरङका सिडिओ कोषहरि निरौलाले दशगजा क्षेत्रमा फोहोर फ्याँक्ने गरेको आफूलाई जानकारी नभएको बताए । अब जानकारीमा आएकोले भारतीय प्रशासनसँग समन्वय गर्ने जानकारी दिए । उनले भने, ‘दशगजामा नेपाल–भारत कसैले पनि फोहोर फ्याँक्ने मात्र हाेइन कुनै गतिविधि गर्न र संरचना बनाउन पाइँदैन । यसबारे हामी उताको प्रशासनलाई  ध्यानआकर्षण गराउँछौँ ।’
 

See More On

सुझावित समाचार