प्रदेश ५ को राजधानी राप्ती उपत्यकामा गैरकानुनी किनबेच तथा अतिक्रमणमा रोक

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गा किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् ।  

प्रदेशको राजधानी र नामकरणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले अब गुरुयोजनाको टुंगाे नलाग्दासम्म नयाँ घर किनबेच रोक्नुपर्ने बताएका छन् । 

सरकारले यसअघि दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । 

कानुनी रूपमा जग्गाको किनबेचमा रोक लगाइसकेको भए पनि गैरकानुनी रूपमा किनबेच हुन सक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन निर्देशन दिएका हुन् । 

राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले भ्रममा नपर्न उनले आग्रह गरेका छन् । 

उनले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरू क्रमशः बनाइँदै जाने बताए । साथै उनले नक्साको डिजाइन, गुरुयोजना र ल्यान्डपुलिङजस्ता काम क्रमशः अघि बढ्ने बताए । उनले भने, ‘अहिलेलाई हेरेर होइन, ५० वर्षपछिसम्म पनि व्यवस्थित सहर रहने गरी प्लानिङ गर्छौँ, योजनाका माध्यमबाट मान्छेको सोच बदल्छौँ ।’ 

मुख्यमन्त्री पोखरेलले राजधानी र नामको टुंगो सही ढंगले लगाएर संघीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश ५  सफल भएको दाबी गरे । 
 

सुझावित समाचार