सिएमसीमा २४ घन्टामै पिसिआरको फरकफरक रिपोर्ट

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले २४ घन्टामै पिसिआरको फरकफरक रिपोर्ट दिएको छ । सिएमसीको स्वाब परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा  ३४ वर्षीय एक पुरुषमा १७ असोजको नमुनामा कोरोना पोजेटिभ देखिएपछि उनले विश्वास नलागेर १८ गते पुनः नमुना दिए ।  

चार महिनाको नेपालको बसाइपछि पुनः वैदेशिक रोजगारीका लागि जान लाग्दा उनले कोरोना परीक्षण गराए । १७ गतेको नमुनामा  उनलाई कोरोना पोजेटिभ देखिएपछि १९ असोजको प्लेन टिकटसमेत  क्यान्सिल गरे । तर,  १८ गतेको नमुनामा कोरोना नदेखिएको उनलाई प्रयोगशालाले रिपोर्ट दियो । 

यसअघि वैदेशिक  रोजगारीमा युएई रहेका उनी कोभिड १९ को कारण काम रोकिएपछि स्वदेश फर्किएका थिए । युएईमा  गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी १२ असारमा नेपाल फर्किए । तर, नेपाल आएको १२औँ दिनपछि उनलाई कोरोना पोजेटिभ देखियो र आइसाेलेसनमा बसे ।

लक्षणविना कोरोना पोजेटिभ देखिएका उनको त्यतिवेला १० दिनपछि रिपोर्ट नेगेटिभ आएको थियो । तर, अहिले २४ घन्टामै फरकफरक रिपोर्ट आएपछि अस्पतालको प्रयोशालामाथि उनको विश्वास गुमेको छ । अस्पतालले आफूलाई मानसिक तनाव दिएकोसमेत उनले बताए । 

२४ घन्टामा फरकफरक रिपोर्ट आएको विषयमा भने अस्पतालका प्रयोगशालाका प्रमुख डा. सञ्जय यादव स्वाब संकलन गर्दा त्रुटि भएको हुन सक्ने बताउँछन् । ‘स्वाब संकलनको त्रुटिले रिपोर्ट फरक आएको हुन सक्छ, भाइरल लोड कम भयो भने पनि यस्तै समस्या हुन्छ,’ उनले भने । 

सरकारी रेटमा पिसिआर परीक्षण गर्ने घोषणा गरेको सिएमसीमा घोषणाभन्दा पाँच सय बढी शुल्क तिर्नुपर्छ । सरकारी  घोषणामा दुई हजार रुपैयाँ भनिएको भए पनि सिएमसीले दुई  हजार पाँच सय शुल्क लिने गरेको छ । 
 

सुझावित समाचार