लामो समयदेखि नेप्सेले स्पष्ट दिशा समाउन सकेको छैन । पटक–पटक बढ्ने प्रयासमा रहे पनि नेप्से सफल हुन सकिरहेको छैन । नेप्से असोजको सुरुदेखि नै साइडवेज मुभमेन्टमा देखिएको छ । १ हजार ५ सयदेखि १ हजार ५ सय ९० को बीचमा रहेर तल–माथि गरिरहेको छ । यसरी निश्चित रेन्जमा रहनुको अर्थ लगानीकर्ता अनिश्चयको अवस्थामा रहेको भन्ने हुन्छ । यसमा बढ्दा रोकिए बजार थप बढ्ने र घट्दा रोकिएर बजार थप घट्ने विश्लेषण गरिन्छ ।
तर, यो अवस्थामा कुन बिन्दुमा पुगेर यो रोकिन्छ भन्ने पत्ता लगाउन सकिँदैन । सोमबार नै नेप्से १ हजार ५ सय ९४ बिन्दुसम्म पुगेको थियो । तर, केही समयमै वृद्धि टिकाउ हुन सकेन र १ हजार ५ सय ८० हाराहारीमा पुगेर फर्कियो । कारोबार बन्द हुने समयमा पनि यही बिन्दुसम्म एकपटक पुनः पुगेर नेप्से १ हजार ५ सय ८२ मा सीमित भयो ।
सोमबार होटेल, विकास बैंक, जलविद्युत्, ‘अन्य’ र समूहिक लगानी कोष समूहगत परिसूचक भने घटेका छन् । विकास बैंक र जलविद्युत् परिसूचक भने नेप्सेभन्दा अलग प्रवृत्तिमा रहे । बिहानी कारोबार खुलेको अवधिमा केही घटे पनि मध्यपछि उच्चदरमा बढ्न थाले ।
यस दिन बजारमा १ सय ९३ कम्पनीको सेयर कारोबार भएर २ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा आएकामध्ये ६४ कम्पनीको मूल्य बढ्यो, ९५ को घट्यो र १० कम्पनीको स्थिर रह्यो । सोमबार पनि रैराङ, रिडी, हिमाल दोलखा, युनियन हाइड्रो, अपि, अरुण काबेली, दिव्यश्वरी मूल्य बढ्ने प्रमुख १० को सूचीमा अटाए । यी कम्पनीमा करिब ६ प्रतिशतदेखि १० प्रतिशतसम्म वृद्धि भएको छ ।
जलविद्युत्मा किन आकर्षण ?
१५ दिनमा ८० प्रतिशतसम्म जलविद्युत् क्षेत्रमा कमाइ गरेका लगानीकर्ता यही क्षेत्रमा लगानी गर्ने र नाफा लिने योजनामा रहेका छन् । बैंक ब्याजदर कम हँुदा यो क्षेत्रले लाभ पाएको, निषेधाज्ञा र लकडाउनले पनि आयोजनाहरू सञ्चालन भइरहेको जस्ता आधारमा यो क्षेत्रमा लगानी भइरहेको छ ।
यी कम्पनीमा केहीको अंकित मूल्य १ सय रुपैयाँभन्दा कम भएर पनि त्यही रेन्जभित्र लगानीकर्ताले ५३ प्रतिशतसम्म कमाएका छन् । घलेम्दी, खानी खोला, जोशी, पञ्चकन्या, हिमाल दोलखामा केहीले गत आव अन्त्यको र केहीले त्योभन्दा अघिदेखिकै वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।
सान्जेन, रसुवागढी, अपर तामाकोसी, दिव्यश्वरी, खानी खोला (गत आवको तेस्रो त्रैमासमा), आँखु खोला, पञ्चकन्या नोक्सानमा छन् । पाँचथर, युनियन, माउन्टेन, खानी खोला नेसनल हाइड्रो नाफामा रहे पनि सञ्चित नोक्सान १७ करोडदेखि ३५ करोडसम्म छ । हिमालय ऊर्जा भने ८५ करोड नोक्सानमा छ । हिमालयन पावरले भने मंसिरबाट बल्ल विद्युत् बिक्री गर्न सक्ने सम्भावना रहेको छ ।
करिब दर्जन जलविद्युत् कम्पनीको मूल्य मध्यम खालका वाणिज्य बैंकहरूको बराबर पुगिसकेको छ । गत आवमा बुटवल पावर र चिलिमे जलविद्युत्ले मात्रै २० प्रतिशतमाथि लाभांश दिएका छन् । चार जलविद्युत् कम्पनीले ७ देखि १० प्रतिशतसम्म लाभांश दिएका छन् । अन्य ४ ले पाँच प्रतिशतसम्म लाभांश दिएका छन् । यिनै कारण लामो समयदेखि अधिकांश जलविद्युत् कम्पनीको मूल्य अंकित मूल्यभन्दा तल रहिरहेको थियो । अहिले बढ्न थालेको छ । वाणिज्य बैंकसरह जलविद्युत् कम्पनीको मूल्य हुनुहुँदैन भन्ने होइन । चिलिमे र बुटवलको मूल्य केही वर्षदेखि नै कतिपय राम्रा वाणिज्य बैंकको भन्दा धेरै रहेको छ । तर, लगानीकर्ताले अन्य जलविद्युत् कम्पनीको अवस्थालगायतलाई समेत ध्यान दिएर कम्पनीहरूमा लगानी गर्नु बुद्धिमानी हुन्छ ।