फ्लु, रुघाखोकी, कानको संक्रमण भएका वेला घाँटी (ग्रन्थि) सुन्निनु सामान्य मानिन्छ । यस्तै कोभिड वा सार्स भाइरस संक्रमणले पनि ग्रन्थि सुन्निन सक्ने अनुमान गरिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले हालसम्म ज्वरो आउनु, रुघाखोकी, सास फेर्न कठिनाइ, थकान, मांसपेशी वा शरीरको दुखाइ, टाउको दुखाइ, स्वाद वा गन्ध थाहा नपाउनु, नाकबाट पानी बग्नु, बान्ता हुनु र पखाला लाग्नुलाई कोभिडको लक्षणको सूचीमा राखेको छ ।
सिडिसीका अनुसार कोभिड संक्रमितमा यी सबै लक्षण नदेखिन पनि सक्छन् । साथै कतिपयमा फरक किसिमका लक्षण पनि देखिन सक्छन् । सामान्यतया कोभिडको प्रकृतिबारे हालसम्म पूर्ण जानकारी नभएका कारण अन्य लक्षण व्यक्तिअनुसार फरक–फरक हुन सक्ने चिकित्सकको भनाइ छ ।
के हो ग्रन्थि सुन्निनु ?
लिम्फ नोडमा आउने समस्याबाट ग्रन्थि सुन्निन्छ । जसले शरीरको प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष भाग लिइरहेका हुन्छ । लिम्फ नोडहरू घाँटी, पाखुरा, छाती, पेट आदि अंगहरूमा हुने गर्छन् । शरीरमा भएका लिम्फ नोडहरू एक–अर्कासँग जोडिएका हुन्छन् । शरीरमा हुने एक किसिमको पदार्थ लिम्फेटिक फ्ल्युडको माध्यमबाट बग्ने गर्छ यसमा लिम्फोसाइट (जस्तै सेता रक्तकोषहरू) जस्ता तत्वहरू समावेश हुन्छन् । जसले शरीरलाई संक्रामक रोगहरूविरुद्ध लड्ने क्षमता वृद्धि गर्छ । शरीर कुनै पनि संक्रमणसँग लडिरहेको समयमा लिम्फ नोडहरू सुन्निनु सामान्य रहेको बुफेलो युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डा. थोमस रुसोले बताएका छन् । उनले भनेका छन्, ‘जस्तै श्वास–प्रश्वासको संक्रमण भएको समयमा टाउको वा घाँटीका ग्रन्थिहरू सुन्निन सक्छन् ।’
पछिल्लो समय गरिएका केही अध्ययनले कोभिडका कारण लिम्फ नोड सुन्निने समस्या देखाएको छ । हलुका वा सामान्य लक्षणहरूमा घाँटी सुन्निने समस्या नभए पनि जटिल स्वास्थ्य अवस्था भएका र श्वास–प्रश्वासको समस्या देखिएका व्यक्तिमा ग्रन्थि सुन्निने समस्या हुने गरेको अध्ययनले जनाएको छ ।
जर्नल द ल्यासेन्टमा प्रकाशित दुई अनुसन्धानका अनुसार सामान्यतया ग्रन्थि सुन्निने समस्या श्वास–प्रश्वासका बिरामीमा देखिए पनि अन्य बिरामीमा कति असर गर्छ भन्ने पुष्टि भइसकेको छैन । अध्ययनअनुसार फोक्सोको बीचमा रहने मिडियस्टाइनल नामक लिम्फ नोड बढी प्रभावित भएको पाइएको छ । मिडियस्टाइनलमा आउने समस्या थाहा पाउनका लागि सिटिस्क्यान गर्नुपर्ने हुन्छ । अर्थात्, कोभिडका कारण ग्रन्थिहरू सुन्निने समस्या यसको मुख्य लक्षण हुन सक्छ । तर, सबै व्यक्तिमा ग्रन्थि सुन्निने लक्षण फरक हुने अनुसन्धानले जनाएको छ ।
ग्रन्थि सुन्निएको महसुस भए के गर्ने ?
सामान्यतया सिटिस्क्यान गरेका कोभिडका बिरामीमा मात्र लिम्फ नोड सुन्निएको पत्ता लगाउन सकिन्छ । अस्पतालहरूमा जुन गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरूमा मात्र गरिन्छ । यदि ग्रन्थि सुन्निएको महसुस भएमा चिकित्सकले स्वास्थ्य परीक्षण गराउन सल्लाह दिन्छन् । ग्रन्थि सुन्निने समस्या कोभिडको कारणले मात्र नभई चिसो वा फ्लुको संक्रमण, मोनोन्युक्लियोसिस, यौनजन्य रोग, छालासम्बन्धी संक्रमण, गठिया र विभिन्न क्यान्सरका कारणले समेत हुने हँुदा समयमै चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।