स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिँदै गएको छ । उमेर र लामो सत्याग्रहले डा. केसीको स्वास्थ्य बिग्रिँदै गएपछि श्वास–प्रश्वासमा सहजताका लागि चिकित्सकले अक्सिजनको सहायता दिएका छन् ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा १९औँ सत्याग्रह जारी राखेका डा. केसीको स्वास्थ्य अघिल्ला दिनहरूभन्दा आइतबार केही खराब भएको मेडिकल टिमले जनाएको छ । वेलावेला उनको मुटुको चाल गडबड भइरहेको छ ।
मेडिकल टिमका अनुसार डा. केसीको जिउ बाउँडिने, रिँगटा लाग्ने, छाती दुख्नेजस्ता समस्या देखिएका छन् । जुन केही दिनदेखि देखिँदै आएका छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएको र संक्रमणको जोखिम बढ्दै गएकाले आइतबारदेखि डा. केसीसँग हुने भेटघाट पनि रोकिएको उनका सहयोगी प्रितम सुवेदीले बताए ।
स्वास्थ्य सेवा सुधारका लागि डा. केसीले २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिका– ६ स्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए । सत्याग्रहको सातौँ दिन स्थानीय प्रशासनले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गरेको थियो । इच्छाविपरीत स्थानीय प्रशासनले प्रतिष्ठानमा लगेपछि उनी ६ असोजमा काठमाडौं आएका थिए । आइतबार सत्याग्रहको २१ दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि पहलसमेत गरेको छैन ।
डा. केसीको स्वास्थ्य बिग्रिँदै गएपछि जीवनरक्षाको माग गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आइतबार धर्ना दिएका छन् । उनीहरूले अस्पताल परिसरमा धर्ना दिँदै डा. केसीका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
त्यस्तै, नेपाल चिकित्सक संघले डा. केसीसँग वार्ता टोली गठन गरी माग सम्बोधन गर्न ७२ घन्टे अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्य गराउन आग्रह गरेको छ । ७२ घन्टाभित्र वार्ता टोली गठन गरी कुनै पहल नगरे कठोर कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ ।
यसैगरी डा. केसीको सत्याग्रहप्रति कांग्रेसले पनि ऐक्यबद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको मागमा समर्थन रहेको बताए । पछिल्लो समय पिसिआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा डा. केसीले जायज माग राखेको जनाउँदै कांग्रेस प्रवक्ता शर्माले सरकारले तत्काल वार्ता गरी माग सुनुवाइ गर्नुपर्ने बताए ।
डा. केसीसँग अविलम्ब वार्ता गर्न देउवाको आग्रह
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीको जटिल बनेको स्वास्थ्य स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् ।
केसीले राखेका माग पूरा गर्न र उनको जीवनरक्षा गर्न ढिलाइ नगर्न आग्रह गर्दै उनले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत दिएका छन् । ‘डा. केसीको जटिल बनेको स्वास्थ्य स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, माग पूरा गर्न र उहाँको जीवनरक्षा गर्न किञ्चित ढिलाइ नगर्न आग्रह गर्दै ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत दिन चाहन्छु,’ आइतबार विज्ञप्ति निकालेर देउवाले भनेका छन् ।
देउवाले सरकारले डा. केसीसँग गरेको व्यवहारले उसको अनुदार चरित्र देखाएको पनि आरोप लगाएका छन् । ‘सरकारले सुरुवातमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्काेतिर अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ,’ देउवाको विज्ञप्तिमा छ ।
डा. केसीको अनशन २१ दिन पुगिसक्दा उनको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको भन्दै देउवाले सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगर्नु दुःखद भएको बताए ।
‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका उहाँका माग केवल एक व्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग हुन् । जनभावनाअनुरूपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो ।’