बढ्दो महामारीले यात्रुको संख्या घट्दै गएपछि दसैँको अग्रिम टिकट खोल्ने–नखोल्ने अन्योल

सोमबार, १८ असोज, २०७७
डिजिटल संस्करण

सरकार दसैँ सुरु हुनु हप्ता दिनअघि मात्र अग्रिम टिकट खोल्ने तयारीमा, यातायात व्यवसायी भन्छन्, ‘यो वर्ष अग्रिम टिकट खोल्न आवश्यक नै छैन’

कोभिड संक्रमणको बढ्दो प्रकोपसँगै मध्यम र लामो दूरीका सवारीसाधनमा यात्रुको संख्या घट्दै गएको छ । सोही कारण हरेक वर्ष दसैँ सुरु हुनु एक महिनाअघि खुल्ने अग्रिम टिकट बुकिङ खुल्ने–नखुल्ने टुंगो लागेको छैन ।

दुई हप्ताअघि नयाँ बसपार्कबाट दैनिक न्यूनतम १५ सय यात्रु टिकट काट्न आउने गरेकोमा करिब ५० प्रतिशत घटेको नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रबन्धक सुनील कुँवरले बताए । उनले भने, ‘नियमित टिकट काउन्टर नै खाली–खाली छन् ।’

तर, यात्रु घटे पनि २५ असोजदेखि अग्रिम टिकट खोल्ने सम्भावना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘शुक्रबार सबै सरोकारवालासँग बस्दै छाैँ, त्यसपछि अग्रिम टिकट खोल्छौँ,’ उनले भने । 

परिस्थिति अझ भयावह भएर सरकारले नयाँ निर्णय गरे, त्यसैअनुसार हुने उनको भनाइ छ । आइतबार मात्रै स्वास्थ्य मन्त्रालयले जो जहाँ छ, त्यहीँ बसेर दसैँ मनाउन नागरिकहरूलाई आग्रह गरेको छ ।  

यता यातायात व्यवसायी भने यो वर्ष दसैँ, तिहार र छठका लागि अग्रिम टिकट आवश्यक नरहेको बताउँछन् । ‘यसपटक अग्रिम टिकट खोल्ने निर्णय अहिलेसम्मको परिस्थितिले होला, आवश्यक देखिएको छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने । काठमाडाैं उपत्यकामा कलकारखाना, विद्यालय, कलेज, रेस्टुरेन्ट नखोलिएको र ती क्षेत्रमा संलग्न धेरै मानिस घरमै रहेकाले यो वर्ष यात्रु धेरै नहुने व्यवसायीहरूको आकलन छ ।   

महासंघले देशभरका यातायात व्यवसायी संगठनका नेतृत्वलाई राजधानी बोलाएको छ । उनीहरूसँगको छलफलपछि मात्र आवश्यक देखिएमा सरकारलाई अग्रिम टिकट खोल्न सुझाब दिने व्यवसायी महासंघ छ । ‘अहिले हामी त्यसैको तयारी गरिरहेका छाैँ,’ अध्यक्ष कर्माचार्यले भने । ६ महिनादेखि बेरोजगार बनेका चालक–सहचालकलाई रोजगारीमा फर्कन अवसर मिलेको र थन्किएका सवारीसाधन सञ्चालनमा आउनु भनेकोे सकारात्मक रहेको अध्यक्ष कर्माचार्यले जानकारी दिए । 

नयाँ बसपार्कबाट दैनिक २२५ गाडी छुट्दै 

नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रबन्धक सुनील कुँवरका अनुसार दैनिक दुई सयदेखि दुई सय ५० सवारीसाधन गुड्ने गरेका छन् । अघिल्ला वर्षहरूमा यसवेला पाँच सय सवारीसाधन चल्ने गर्थे । गाडी थप गर्नुपर्ने वेलामा नियमित चल्ने गाडी पनि घटाउनुपर्ने अवस्था आएको महाप्रबन्धक कुँवरले जानकारी दिए ।  

यसअघि २९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सवारी सुचारु गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायी र मजदुर संगठनहरूले चालक–सहचालक, परिचालक र बुकिङ कर्मचारीले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजर (चालकबाहेक) लगायतका स्वास्थ्य उपकरण अनिवार्य प्रयोग गर्ने गर्नुपर्छ । त्यस्तै, सवारीसाधनमा चढ्दा, ओर्लंदा र लामो तथा मध्यम दूरीको हकमा खाना–खाजा खाने समयमा भौतिक दूरी कायम गर्नुपर्छ भने सवारीसाधनमा यात्रु चढ्नुअघि स्यानिटाइजरको व्यवस्था गरिएको हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ ।

सुझावित समाचार