कावासोतीमा एक महिलाकाे कान काटेर लुटेराले गरगहना लुटे

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

पूर्वीनवलपरासीको कावासोतीमा आइतबार बिहान एकजना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ । 

कावासोती– १३ बुढौली कुनाबाट कावासोती थानाचोक आउने क्रममा बुढौली कुनाबाट पाँच सय मिटर उत्तरतर्फ जंगलको बीचबाटोमा कावासोती– १३ बुढौली कुनानिवासी ४६ वर्षीया महिला तुलसी पौडेललाई दुईजना लुटेराले गहना लुटेका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नवीन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको बताए । 

पीडित महिलाका श्रीमान् दण्दपानी पौडेलले लुटेराले कान काटेर कानका ठूला–ठूला दुईवटा रिङ लुटेर लगेको र साना–साना रिङ भने जोगिएको बताए । 

महिला लुटेरासँग लडेर घरतर्फ भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । उनको दुईवटै कान काटिएको छ भने टाउकोमा समेत चोट लागेको छ । 

पीडित महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।

सुझावित समाचार