भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक)को ५६औँ वार्षिकोत्सवका अवसरमा शनिबार कोभिड– १९ ले निम्त्याएको चुनौतीबारे नेपाल र भारतका कूटनीतिज्ञ एवं विज्ञ, पूर्वविद्यार्थीबीच वेविनारमा अनुभव आदान–प्रदान भएको छ । कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले आइटेकअन्तर्गतका कार्यक्रमले नेपालका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिको क्षमता अभिवृद्धि भएको बताए ।
राजदूत क्वात्राले दुई देशबीच महामारी नियन्त्रणका लागि भएको सहकार्यबारे चर्चा गरे । भारतले गत अप्रिलयता रेम्डेसिभिरलगायतका अत्यावश्यक औषधि, पिसिआर टेस्ट कीट तथा आइसियू भेन्टिलेटरजस्ता सामग्रीको वितरणमार्फत नेपाललाई सहयोग गर्दै आएको उनको भनाइ थियो ।
कार्यक्रममा ऊर्जासचिव दिनेशकुमार घिमिरे, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र नायव महान्यायाधिवक्त्ता पद्मप्रसाद पाण्डेय सहभागी थिए । भारतबाट भारत सरकारका बायोटेक्नोलोजी विभागकी सल्लाहकार डा. अल्का शर्मा र हैदराबादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेडकी सहप्रबन्ध निर्देशक एवं सहसंस्थापक सुचित्रा एला कार्यक्रममा सहभागी थिए ।
भारतीय दूतावासका अनुसार गत वर्षदेखि नेपालको विभिन्न संस्थाहरूमा कार्यरत अधिकारीहरूका लागि सर्वोच्च अदालतका लागि न्यायिक सेवा, अर्थ मन्त्रालयका लागि सार्वजनिक वित्त व्यवस्थापनमा भारतका प्रमुख संस्थाहरूमा कैयौँ आइटेक कार्यक्रम आयोजना गरिएको छ । यीबाहेक राजस्वका अधिकारीहरूका लागि प्रशिक्षण, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा प्रशिक्षण, जलस्रोत तथा विकासमा गहन प्रशिक्षण र कोभिड–१९ महामारी व्यवस्थापनका लागि भनेर ई–आइटेक कार्यक्रम पनि सम्पन्न भएको दूतावासले जनाएको छ ।
भारत सरकारको प्रायोजनमा गत अप्रिलयता भारतका प्रमुख शैक्षिक संस्थाहरूमा कोभिड–१९ महामारी संकट र यसको व्यवस्थापनसम्बन्धी ई–आइटेक कोर्ष अध्ययनमा भाग लिएका झन्डै १०० जना ई–आइटेकका पूर्वछात्रछात्रा वेविनारमा सहभागी थिए । भारतको सम्पूर्ण सहयोगमा सञ्चालित आइटेक कार्यक्रमले नेपाललगायत विभिन्न एक सय ६० विकासशील देशसँग भारतको विकास अनुभव तथा विशेषज्ञता आदान–प्रदान गर्न सघाउ पुऱ्याएको र नियमित ई–आइटेक तथा विशेष आइटेक कोषमार्फत नेपाल सरकारअन्तर्गतका धेरै संस्था लाभान्वित भएको भारतीय दूतावासले जनाएको छ ।